काठमाडौं । नेपाली कांग्रेसले जनता र पार्टीलाई जोड्नका लागि मंसिर महिनाभरि देशव्यापी अभियान सञ्चालन गर्ने भएको छ । नयाँ कार्यसमिति सदस्यहरूको शपथ ग्रहणपछि पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा सभापति थापाले ‘हामी तयार छौँ’ भन्ने सन्देशसहित मंसिर महिनाभरि देशव्यापी अभियान सञ्चालन गरिने बताउनुभएको हो । उहाँले छिटै पार्टीको पूर्ण बैठक बसेर रीतपूर्वक सबैको धारणा सुन्ने र त्यसका आधारमा चार वर्षको क्यालेन्डर बनाएर अनुशासित रूपमा काम अगाडि बढाइने उल्लेख गर्नुभयो ।
प्रतिपक्षको मुख्य जिम्मेवारी सरकारमाथिको निगरानी गर्नु भएकाले कानुनको शासन उल्लंघनविरुद्ध कांग्रेसले सशक्त रूपमा उभिएर यो भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ । त्यस्तै, थापाले तिहार र छठलगत्तै लिडरसिप एकेडेमी, इलेक्सन ब्युरो र गभर्नेन्स इन्स्टिच्युटले काम सुरु गर्ने जानकारी दिनुभयो । नेतारकार्यकर्ताको रुचिअनुसार कार्यविभाजन गरिने र सहमहामन्त्रीहरूलाई स्पष्ट कार्ययोजनाका साथ आवश्यक जिम्मेवारी तोकिने उहाँको भनाइ छ ।
सभापति थापाले हलभित्र सोफामा बसेर ताली बजाउने परम्परागत शुभकामना आदानप्रदान कार्यक्रमहरू अब नगर्ने घोषणा गर्नुभएको छ । सरसफाइ, विपन्नलाई सहयोग वा अन्य समुदायसँग प्रत्यक्ष जोडिने रचनात्मक कार्यक्रमहरू आयोजना गरिएमा मात्र सहभागी हुन उहाँले निर्देशन दिनुभएको छ ।
शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीभन्दा देशलाई सधैँ माथि राख्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञानलाई आफ्नो राजनीतिक जीवनको केन्द्रबिन्दुमा राखेर अघि बढ्न सबै नेता तथा कार्यकर्ताहरूलाई गम्भीरतापूर्वक आग्रह गर्नुभएको छ । आजको युगमा आधुनिक, बदलिएको र बलियो कांग्रेस निर्माण गरेर मात्र समुन्नत नेपालको परिकल्पनालाई साकार पार्न सकिने र यसका लागि सबैको समान दायित्व रहेको उहाँले औँल्याउनुभएको छ । संस्थागत मूल्यमान्यतालाई आत्मसात् गर्दै, स्वाभिमानपूर्वक र सभापतिले तय गर्ने ठोस कार्ययोजना बमोजिम निर्दिष्ट भूगोल तथा जिम्मेवारीमा रहेर इमानदारीपूर्वक काम गर्न र निर्धारित समयभित्रै केन्दीय कार्यालयमा प्रगति प्रतिवेदन बुझाउन उहाँले निर्देशन दिनुभएको छ ।
आफ्नो नेतृत्व र कार्यशैलीमाथि उठ्ने रचनात्मक आलोचना तथा प्रश्नहरूलाई सधैँ सकारात्मक रूपमा ग्रहण गर्नुपर्ने बताउँदै वरिष्ठ उपसभापति शर्माले कुनै पनि गलत कुराको खण्डन गर्दा स्वस्थ, विधिसम्मत र कानुनी प्रक्रियाबाट गर्नुपर्नेमा जोड दिनुभएको छ ।
पदाधिकारीको वरियता निर्धारण
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीको वरीयता तोकिएको छ । बिहीबार महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यको शपथपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले पदाधिकारीहरूको वरीयता तोकेको छ । पहिलो वरीयतामा सभापति गगन थापा हुनुहुन्छ । दोस्रो वरीयतामा वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा, तेस्रो वरीयतामा महिला उपसभापति पुष्पा भुसाल रहनुभएको छ । चौथो र पाँचौँ वरीयतामा खुलातर्फ उपसभापति जितेका डा. चन्द्रकान्त भण्डारी र मधु आचार्य हुनुहुन्छ । यस्तै छैटौँ वरीयतामा समावेशीतर्फ उपसभापति जितेका विनोद चौधरी, सातौँ वरीयतामा महामन्त्री प्रदीप पौडेल, आठौँ वरीयतामा महामन्त्री डा. डिला संग्रौला पन्त र नवौँ वरीयतामा महामन्त्री उदय शमशेर राणालाई राखिएको छ ।
११ सहमहामन्त्रीमध्ये पहिलो वरीयतामा बहादुर सिंह लामालाई तोकिएको छ । उहाँको वरीयाता १० औँ नम्बर हो भने जनजातितर्फ सहमहामन्त्रीमा निर्वाचित हुनुभएको थियो । ११ औँ वरीयतामा सहमहामन्त्री योगेन्द्र चौधरी, १२ औँ वरीयतामा सहमहामन्त्री प्रकाश स्नेही रसाइली १३ औँ वरीयतामा जीवन शाही, १४ औँ वरीयतामा अजय चौरासिया,१५ औँ वरीयतामा आंग्लु शेपा, १६ औँ वरीयतामा रामहरि खतिवडा, १७ औँ वरीयतामा प्रतिमा गौतम, १८औँ वरीयतामा अजयबाबु सिवाकोटी, १९औँ वरीयतामा सहमहामन्त्री मनोज आचार्य र २०औँ वरीयतामा डा. फिरदोश आलमलाई तोकिएको छ ।
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक विशेष समारोहबीच नवनिर्वाचित नेतृत्वलाई पदबहालीसहित प्रमाणपत्र वितरण गरिएको छ । पार्टी सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय कार्यसमिति सदस्यहरूलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको हो । सभापति थापाले भने गत असोज ३१ गते नै पद तथा गोपनीयताको शपथग्रहण गरिसक्नु भएको थियो । सानेपामा आयोजित भव्य समारोहमा शपथग्रहणलगत्तै केन्द्रीय निर्वाचन समितिका तर्फबाट नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचित भएको औपचारिक प्रमाणपत्र प्रदान गरिएको छ । नवनिर्वाचित नेताहरूलाई प्रमाणपत्र वितरण र शपथग्रहण गराएसँगै सानेपामै पदबहालीको औपचारिक व्यवस्था मिलाइएको थियो ।
चारजना केन्द्रीय सदस्यको शपथ रोकियो
नेपाली कांग्रेसले चारजना केन्द्रीय सदस्यहरूको शपथ भने तत्कालका लागि रोकेको छ । अदालतमा मुद्दा विचाराधीन रहेका कारण उनीहरूको शपथ रोकिएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिबाट प्राप्त जानकारीअनुसार अदालतमा विचाराधीन मुद्दाका कारण नवनिर्वाचित केन्द्रीय सदस्यहरू सन्तोष चालिसे, विनिता खड्का, मोहन बस्नेत र उमेशचन्द्र यादवले शपथ लिन पाउनुभएन । कानुनी स्पष्टता नआएसम्म उहाँहरूलाई शपथ गराउने वा नगराउने विषयमा अन्तिम टुंगो लाग्न बाँकी रहेको बताइएको छ ।
गत असोज १८ देखि २३ गतेसम्म काठमाडौंको खुलामञ्चमा सम्पन्न १५औँ महाधिवेशनअन्तर्गत भएको मतदानको अन्तिम नतिजा असोज ३० गते औपचारिक रूपमा सार्वजनिक गरिएको थियो । महाधिवेशनको उद्घाटन र बन्दसत्र खुलामञ्चमा सञ्चालन गरिएको थियो भने मतदान प्रक्रिया खुलामञ्च र राष्ट्रिय सभागृहमा सम्पन्न भएको थियो ।
महाधिवेशनको मतदान असोज २३ गते सम्पन्न भएको थियो भने सोही दिन राति सभापतिको मतगणना राष्ट्रिय सभागृहमा गरिएको थियो । सभापतिको मतगणनाको परिणाम असोज २४ गते बिहानै सार्वजनिक भएको थियो । अन्य पदहरूको मतगणना भने २४ गते रातिदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा गरिएको थियो ।
निर्वाचन समितिले यसपटकको मतगणना विगतभन्दा निकै छिटो र व्यवस्थित ढंगले सम्पन्न भएको जनाएको छ । १४औँ महाधिवेशनमा चार हजार ७०० मतदाताको मतगणना गर्न १२ दिन लागेकोमा यसपटक सात हजार ३९२ मतदाताको मत गणना एक हप्तामै अर्थात् असोज ३० गतेसम्ममा सकिएको सदस्य सचिव कटुवालले उल्लेख गर्नुभएको छ । उहाँका अनुसार यसपटक झण्डै एक लाख ६२ हजार मतपत्र गणना गर्नुपरेको थियो । कुल २२९ पदका लागि भएको निर्वाचनमा ७७ प्रकारका पद रहेका थिए भने प्रत्येक मतदाताले २३ वटा मतपत्रमा मतदान गर्नुपर्ने जटिल व्यवस्था रहेको थियो ।
महाधिवेशनको चुनावी नतिजाअनुसार सभापतिमा गगनकुमार थापा सर्वाधिक ९४ प्रतिशत मतसहित निर्वाचित हुनुभएको थियो । त्यसैगरी, वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल तथा समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित हुनुभएको छ । यसैगरी महामन्त्रीत्रयमा प्रदीप पौडेल, उदयशमशेर जबरा र डा. डिला संग्रौला (पन्त) सहितको केन्द्रीय कार्यसमिति चयन भएको छ । पहिलो बैठकमा पार्टीका जिल्ला तथा प्रदेश अधिवेशनहरू समेतका समसामयिक सांगठनिक विषयमा विस्तृत छलफल हुने नेताहरूले बताएका छन् ।
संस्थापनइतरको क्षेत्रीय अधिवेशन हुँदै
अर्कातर्फ, संस्थापनइतर समूहले आफ्ना सांगठनिक गतिविधिहरूलाई तीव्रता दिँदै १५औँ महाधिवेशनअन्तर्गत करिब ९० प्रतिनिधिसभा क्षेत्रको क्षेत्रीय अधिवेशन सम्पन्न गरेको दाबी गरेको छ । उक्त समूहका नेता किरणराज शर्मा पौड्यालका अनुसार हालसम्म ९० क्षेत्रको क्षेत्रीय अधिवेशन र नौ वटा जिल्लाको जिल्ला अधिवेशन पनि सम्पन्न भइसकेको छ । उहाँले भन्नुभयो, ‘कात्तिक १५ गते जिल्ला अधिवेशन तोकिएको छ, तर त्यसअघि नै एक मात्र निर्वाचन क्षेत्र रहेका नौ जिल्लाका अधिवेशन सकिएर नयाँ नेतृत्व आइसकेको छ । १५ गतेसम्ममा लगभग सबै जिल्लाको अधिवेशन सकिनेछ र मंसिर ४ गते सातै प्रदेशको अधिवेशन पनि हुनेछ ।’
इतर समूहले १५औँ महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म गर्ने प्रस्ताव गरेर सोही कार्यतालिकाअनुसार काम गरिरहेको नेता पौड्यालले जानकारी दिनुभएको छ । जसअनुसार वडा अधिवेशन असोज १५ गते, पालिका अधिवेशन असोज २० गते, प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज २३ गते गर्ने प्रस्ताव गरिएको थियो । युवा नेता भरत खड्काले देशभर उत्साहका साथ अधिवेशन भइरहेको बताउँदै भन्नुभयो, ‘अधिवेशनमा धेरैजसो युवा पुस्ताका साथीहरू नेतृत्वमा आउनुभएको छ । अग्रजहरूलाई सम्मानजनक स्थान दिँदै कांग्रेसमा युवाहरूको आकर्षण देखिएको छ, तल्लो तहदेखिका अधिवेशनमा नवयुवाहरूको सहभागिता उत्साहजनक देखिनुले पार्टीमा नयाँ ऊर्जा सञ्चार भएको भान हुन्छ ।’
गगनकुमार थापा नेतृत्वको संस्थापन पक्षले १५औँ महाधिवेशन सम्पन्न गरी शपथ र पदबहाली गरिसक्दा इतर पक्षले भने छुट्टै महाधिवेशनको तयारीलाई निरन्तरता दिइरहेको छ । गत पुसमा सम्पन्न विशेष महाधिवेशनपछि दुई भागमा विभाजित नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद अझै सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको छ । विशेष महाधिवेशनबाट निर्वाचित भई आएको गगन थापा नेतृत्वको कार्यसमितिले निर्वाचन आयोगबाट पाएको वैधतामाथि परीक्षण हुने भन्दै सर्वोच्च अदालतको पूर्ण इजलासले कांग्रेसको आधिकारिकता विवादमा पुनः सुनुवाइ गर्न निस्सा दिएपछि इतर समूह थप उत्साहित बनेर नियमित महाधिवेशनको प्रक्रियामा होमिएको हो ।
केन्द्रीय निर्वाचन समिति गठन गरेर महाधिवेशनको तयारी गरिरहेको उक्त समूहले छिट्टै विभिन्न सहायक समितिहरू पनि गठन गर्ने तयारी गरेको छ । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले काठमाडौंको चुनदेवीमा छुट्टै सम्पर्क कार्यालय स्थापना गरी समानान्तर गतिविधिलाई निरन्तरता दिइरहेको छ । यसरी एकातिर आधिकारिक रूपमा निर्वाचित नयाँ नेतृत्वले पदबहाली र सांगठनिक बैठक सुरु गरेको छ भने अर्कातर्फ इतर समूहको समानान्तर गतिविधिले पार्टीभित्रको सांगठनिक संकटलाई थप जटिल बनाएको छ ।




जापानका लागि प्रस्तावित राजदूत थापाबारे
बैंकमा साढे १२ खर्ब तरलता,
जुवातास खेलिरहेको अवस्थामा १६ जना
जलवायु परिवर्तनले नेपालमा पारेको क्षति
लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना
खाद्य व्यवस्था कम्पनीको सीईओका लागि