स्याङ्जा । स्याङ्जाको आधीखोला गाउँपालिका–५, रंगेठाँटीस्थित श्री प्रद्युम्न पनेरू माध्यमिक विद्यालयका विद्यार्थीहरू पढाइसँगै व्यावसायिक कृषि कर्ममा पनि सक्रिय हुन थालेका छन् । विद्यालयमा सञ्चालित ‘कमाउँदै पढ्दै’ कार्यक्रमअन्तर्गत विद्यार्थीहरूले तरकारीका बेर्ना उत्पादन गरी बिक्री वितरण सुरु गरेका छन् ।
विद्यालयको जे.टी.ए. बाली विज्ञान समूहमा अध्ययनरत विद्यार्थीहरूले हाइब्रिड जातका काउली, बन्दा र ब्रोकाउलीका बेर्ना उत्पादन गरेका हुन् । बेर्ना रोप्नयोग्य भइसकेकाले आवश्यक पर्ने कृषक तथा सर्वसाधारणलाई विद्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।
विद्यार्थीलाई किताबी ज्ञानसँगै व्यावहारिक कृषि सीप प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रमले उनीहरूलाई आत्मनिर्भर बन्नसमेत प्रेरित गर्ने विद्यालयको अपेक्षा छ। बेर्ना बिक्रीबाट प्राप्त आम्दानी विद्यार्थीहरूको शैक्षिक भ्रमणलगायतका गतिविधिमा लगानी गर्ने गरिएको छ ।
विद्यालयमा २०७५ सालदेखि प्रि-डिप्लोमा तहको बाली विज्ञान विषयको नियमित पठनपाठन हुँदै आएको छ । चालु शैक्षिक सत्रमा यस समूहमा २१ जना विद्यार्थी भर्ना भएका छन्। उनीहरूलाई नियमित कक्षासँगै विभिन्न प्रयोगात्मक तथा परियोजनामूलक अभ्यासमा सहभागी गराइँदै आएको छ ।
पाठ्यक्रमअनुसार विद्यार्थीहरूले आलंकारिक नर्सरी, तरकारी उत्पादन, बन्दा तथा काउली खेती र मौसमअनुसार च्याउ खेतीलगायतका अभ्यास गर्दै आएका छन् । विद्यालयमा रहेका पाँचवटा टनेलमा यसअघि टमाटर, काँक्रो तथा लहरे बालीका बेर्ना उत्पादन गरी स्थानीय क्षेत्रमा बिक्री वितरणसमेत हुँदै आएको थियो ।
यसपटक बाली विज्ञान समूहलाई इको हिमाल संस्थाले बीउ तथा प्राविधिक सहयोग उपलब्ध गराएको छ। सोही सहयोगमा उत्पादन गरिएका बन्दा, काउली र ब्रोकाउलीका बेर्ना अहिले बिक्रीका लागि तयार भएका हुन् ।
विद्यार्थीहरूले सुरुमा नर्सरीमा बीउ उमार्ने र त्यसपछि छुट्टै ब्याडमा सारेर हुर्काउने गर्छन् । बिरुवा रोप्नयोग्य भएपछि बिक्री वितरण गरिन्छ। यस प्रक्रियामा विद्यार्थीहरू आफैँ संलग्न हुने भएकाले उनीहरूले उत्पादनदेखि बजारीकरणसम्मको व्यावहारिक ज्ञान हासिल गरिरहेका छन् ।
विद्यालयले आगामी दिनमा कक्षा ८ र ९ सहित अन्य कक्षाका विद्यार्थीलाई पनि टनेलमा छुट्टाछुट्टै प्लट उपलब्ध गराउने योजना बनाएको छ। विद्यार्थीले आफ्नो जिम्मामा रहेको प्लटमा तरकारी तथा बेर्ना उत्पादन, व्यवस्थापन र बिक्री वितरण गर्नेछन्। त्यसबाट प्राप्त आम्दानी सम्बन्धित कक्षाकै व्यवस्थापन तथा शैक्षिक गतिविधिमा खर्च गर्ने योजना रहेको प्रधानाध्यापक दिप्तीनारायण शर्माले बताउनुभयाे ।
उनका अनुसार विगतको तुलनामा विद्यार्थीहरू कृषि उत्पादनका काममा थप सक्रिय भएका छन्। हाल यस कार्यक्रममा कक्षा ९ का विद्यार्थीलाई बढी सक्रिय बनाइएको छ। विद्यालय परिसरमा फूलबारी व्यवस्थापन गर्ने काममा भने सबै कक्षाका विद्यार्थीको सहभागिता रहने गरेको शिक्षक स्थानेश्वर पौडेलले बताउनुभयाे ।
विद्यालयले स्थानीय विषयअन्तर्गत प्रत्येक शुक्रबार कक्षा ६ देखि ९ सम्मका विद्यार्थीलाई व्यवहारकुशल सीप तथा जीवनोपयोगी शिक्षासँग जोडेर कृषि अभ्याससमेत गराउँदै आएको छ। तरकारीमा लाग्ने रोग तथा कीराको पहिचान र नियन्त्रणका उपायबारे छुट्टै पाठ्यक्रम तयार गरी कक्षा सञ्चालन भइरहेको शिक्षक पुर्खराज पौडेलले जानकारी दिनुभयाे ।
विद्यार्थीलाई कम्तीमा पाँचवटा तरकारीका बेर्ना उत्पादन गर्न प्रोत्साहन गरिएको छ। यसका साथै ‘एक विद्यार्थी, एक बिरुवा’ कार्यक्रमलाई पनि प्राथमिकता दिइएको विद्यालयले जनाएको छ।
बाली विज्ञान विषयको सञ्चालन तथा परियोजनाका लागि आधीखोला गाउँपालिका र वडा नम्बर ५ को कार्यालयले पनि समयसमयमा सहयोग गर्दै आउनुभएकाे छ। गाउँपालिकाको मातहतमा रहेको इको हिमाल संस्थाले बीउ उपलब्ध गराउनुका साथै अनुगमन, निरीक्षण र प्राविधिक पृष्ठपोषण प्रदान गर्दै आएको छ।
त्यसैगरी आक्स नेपालले गड्यौला मल निर्माण तथा कृषि कार्यका लागि आवश्यक सामान्य औजारसमेत उपलब्ध गराएको छ।
यस कार्यक्रमले विद्यार्थीलाई कृषि उत्पादनको सीप सिकाउनुका साथै श्रमको महत्त्व, उद्यमशीलता र आम्दानी व्यवस्थापनबारे विद्यालयमै सिक्ने अवसर प्रदान गरेको छ।




कस्तो छ आजको राशिफल ?
दुर्भाग्यपूर्ण अराजक प्रवृत्ति
शान्तामा औपन्यासिकता खोजी गर्ने प्रसंग
सन्तानको भविष्यमा समयको लगानी गरौं
डा.उपाध्यायलाई भारतमा ‘अन्तर्राष्ट्रिय उत्कर्षश्री’ अवार्ड
भाष्यको राजनीति र सत्यको संकट