हेटौँडा । साथीलाई आर्थिक संकट परेको भन्दै सहयोग गर्दा आफ्नै नामबाट काटिएको चेकका कारण रेशमबहादुर धिताल दुई वर्षदेखि आर्थिक र कानुनी समस्यामा पर्नुभएको छ। साथीलाई विश्वास गरेर दिएको ६ लाख ३६ हजार रुपैयाँको चेक बाउन्स भएपछि उहाँले मुद्दा, धरौटी र रोजगारी गुमाउनेसम्मको अवस्था भोग्नुपरेको गुनासो गर्नुभएको छ।
आफूलाई द्वन्द्वपीडितका रूपमा चिनाउनुहुने धितालले विगतमा अपहरणलगायतका कठिन परिस्थिति भोग्नुका साथै सम्पत्तिसमेत गुमाउनुपरेको बताउनुभयो। पछिल्लो समय साथीलाई आर्थिक सहयोग गर्ने क्रममा भएको कारोबारले आफ्नो जीवन थप संकटमा परेको उहाँको भनाइ छ।
धितालका अनुसार सिन्धुलीको ध्यामलेख वडा नम्बर ३ स्थायी घर भई हाल काठमाडौंको सीतापाइला वडा नम्बर ५ मा बस्दै आउनुभएका ६६ वर्षीय निर्मलकुमार तामाङ र उहाँका छोरा सुवर्णकुमार तामाङले आर्थिक समस्या परेको भन्दै सहयोग माग्नुभएको थियो। लामो समयदेखिको चिनजान र मित्रताका कारण आफूले विश्वास गरेर सहयोग गरेको धितालले बताउनुभयो।
‘साथीले समस्या पर्यो, व्यवहार मिलाउन सहयोग गरिदिनुपर्यो भन्नुभयो। विश्वास गरेर आफ्नो नामबाट चेक काटेर दिएँ। तीन महिनाभित्र रकम मिलाउने सहमति भएको थियो,’ धितालले भन्नुभयो, ‘तर दुई वर्ष बितिसक्दा पनि पैसा फिर्ता भएको छैन।’
उहाँका अनुसार उक्त चेक तेस्रो पक्षलाई भुक्तानी गर्नुपर्ने रकमसँग सम्बन्धित थियो। चेकको रकम भुक्तानी नभएपछि चेक बाउन्ससम्बन्धी कानुनी प्रक्रिया अघि बढेको थियो। त्यसपछि आफूले प्रहरी कार्यालय र अदालत धाउनुपर्ने अवस्था आएको उहाँको भनाइ छ।
धितालले मुद्दाका कारण धरौटी राख्नुपरेको र दुई वर्षको अवधिमा पाँच लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको बताउनुभयो। कानुनी झन्झटका कारण रोजगारीसमेत गुमाउनुपरेको उहाँको गुनासो छ।
‘साथीलाई सहयोग गरेको थिएँ, तर आज आफैँ कानुनी समस्यामा परेको छु। मुद्दाकै कारण कामसमेत गुमाएँ। अब कसरी जीवन चलाउने भन्ने चिन्ता छ,’ उहाँले दुःखेसो पोख्नुभयो।
धितालले मकवानपुरको चुच्चेखोलास्थित माछा फार्ममा काम गर्दै आउनुभएको थियो। विवादका कारण रोजगारी गुमेपछि दैनिक जीवनयापनमा समेत समस्या भएको उहाँले बताउनुभयो। आर्थिक संकटका कारण सुनचाँदी तथा अन्य सम्पत्तिसमेत गुमाउनुपरेको उहाँको भनाइ छ।
आफूसँग भएको जग्गाको लालपुर्जा दिइएको भए पनि पछि आफूलाई झुक्याएर जग्गा बिक्री गरिएको उहाँले आरोप लगाउनुभएको छ। यद्यपि, जग्गा कारोबारसम्बन्धी यस आरोपको स्वतन्त्र पुष्टि हुन बाँकी छ।
धितालका अनुसार निर्मलकुमार र सुवर्णकुमारले रकम फिर्ता गर्ने आश्वासन पटक-पटक दिँदै आउनुभएको छ। तीन दिनअघि पनि कुराकानी हुँदा रकम दिने र आफू आउने बताउनुभएको उहाँले सुनाउनुभयो।
‘दुई वर्ष भयो, आज दिन्छु, भोलि दिन्छु भन्दै झुलाइरहनुभएको छ,’ उहाँले भन्नुभयो, ‘प्रहरीले खोज्दा सम्पर्कमा आउनुको सट्टा मोबाइल नम्बर परिवर्तन गर्ने र अरूको सिम प्रयोग गर्ने गरेको भन्ने जानकारी पाएको छु।’
धितालले बाबुछोराविरुद्ध एक वर्षअघि नै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दिएको बताउनुभयो। तर, आफूले अपेक्षा गरेअनुसार न्याय पाउन नसकेको उहाँको गुनासो छ। उहाँले घटनाको निष्पक्ष छानबिन गरी रकम फिर्ता गराउन र आफूले भोगेको आर्थिक तथा कानुनी क्षतिका विषयमा न्याय दिलाउन सम्बन्धित निकायसँग माग गर्नुभएको छ।
आर्थिक समस्यासँगै धितालले स्वास्थ्यमा समेत समस्या भोगिरहेको बताउनुभयो। उहाँका अनुसार उच्च रक्तचाप, मधुमेह र चिन्तासम्बन्धी समस्याका लागि औषधि सेवन गरिरहनुभएको छ। मुद्दाको तनाव, रोजगारी गुमाउनुको पीडा र आर्थिक असुरक्षाले जीवनयापन थप कठिन बनेको उहाँको भनाइ छ।
‘मसँग अब बाँच्ने आधार नै छैन जस्तो लाग्छ। श्रीमती पनि बिरामी हुनुहुन्छ। कहिलेकाहीँ जीवन कसरी अगाडि बढाउने भन्ने चिन्ताले निकै सताउँछ,’ उहाँले भावुक हुँदै भन्नुभयो।
यस विषयमा निर्मलकुमार तामाङ र सुवर्णकुमार तामाङको पक्षबाट प्रतिक्रिया प्राप्त हुन सकेको छैन। चेकको वास्तविक कारोबार, रकम फिर्ता गर्ने सहमति तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दर्ता भएको जाहेरीको पछिल्लो अवस्थाबारे पनि स्वतन्त्र पुष्टि हुन बाँकी छ।
साथीलाई गरेको विश्वासले आफू आर्थिक, सामाजिक र मानसिक रूपमा कमजोर बनेको बताउने धिताल अहिले न्यायको प्रतीक्षामा हुनुहुन्छ। उहाँले सम्बन्धित निकायलाई घटनाको निष्पक्ष छानबिन गरी आफूले भोग्नुपरेको समस्याको समाधान गरिदिन आग्रह गर्नुभएको छ।







सभापतिमा निर्वाचित गगन थापा सानेपा
एमालेको केन्द्रीय कमिटीमा १३ जना
गेरुवा नदीमा माछा मार्न गएकी
सरकार उल्टो बाटोमा हिँडिरहेको छ
कांग्रेसमा उपसभापति र महामन्त्रीको मतगणना
महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः