सिरहा । पुस्तौँदेखि माटाका भाँडाकुँडा बनाएर जीविकोपार्जन गर्दै आउनुभएका सिरहाका कुम्हाल समुदाय पछिल्लो समय आफ्नो परम्परागत पेसा संकटमा पर्न थालेको भन्दै चिन्तित बन्नुभएको छ । बजारमा रेडिमेड सामग्रीको प्रयोग बढ्दै जानु र माटाका भाँडाले उचित मूल्य नपाउँदा परिवारको खर्च धान्नसमेत कठिन हुन थालेको उहाँहरूको गुनासो छ ।
धनगढीमाई नगरपालिका–७, कसहाका ५५ वर्षीय राजेन्द्र पण्डितले बुवा–बाजेले गर्दै आउनुभएको माटाका सामग्री बनाउने पेसालाई निरन्तरता दिँदै आउनुभएको छ । उहाँका छोराछोरीले पनि यही सीप सिक्नुभएको छ । तर पछिल्लो समय बजारमा आधुनिक तथा रेडिमेड सामग्रीको प्रयोग बढ्दै जाँदा पुर्ख्यौली पेसाको भविष्यप्रति उहाँ चिन्तित हुनुहुन्छ ।
दसैँ सकिएसँगै दीपावली र छठ पर्व नजिकिँदा कुम्हाल समुदायलाई माटाका भाँडा तथा पूजासामग्री बनाउन भ्याइनभ्याइ छ । परिवारका सबै सदस्य बिहानदेखि बेलुकासम्म उत्पादनमा खटिनुभएको छ । परिवारका कसैले माटो खन्ने र तयार पार्ने काम गर्नुहुन्छ भने कसैले मेसिन तथा हातको सहायताले भाँडा बनाउने काम गर्नुहुन्छ ।

चाडपर्वमा माग बढ्ने भए पनि मेहनतअनुसार आम्दानी हुन नसकेको राजेन्द्रले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय माटो र दैनिक उपभोग्य वस्तुको मूल्य बढे पनि माटाका सामग्रीको बिक्री मूल्य भने बढ्न सकेको छैन ।
‘सबै सामग्री मिलाएर एक सेटको १ सयदेखि १५० रुपैयाँसम्ममा बिक्री हुन्छ। त्यसमा लागत नै ६० देखि ७० रुपैयाँ लाग्छ । यही पेसाबाट परिवारको जीविकोपार्जन गर्दै आएका छौँ। तर रेडिमेड सामग्रीको प्रयोग बढ्दै जाँदा हाम्रो पेसा संकटमा परेको छ,’ उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

सोही वडाका उपेन्द्र पण्डित पनि पुस्तौँदेखि माटाका भाँडा बनाउने पेसामा संलग्न हुनुहुन्छ। मेहनतअनुसार आम्दानी नहुँदा परिवार पाल्न र आर्थिक अवस्था सुधार गर्न कठिन भइरहेको उहाँले बताउनुभयो । अर्को पेसामा जाने सीप र अवसर नहुँदा पुर्खाले गर्दै आउनुभएको कामलाई नै निरन्तरता दिनुपरेको उहाँको भनाइ छ ।
‘पहिला बुवा–बाजेले माटाका भाँडा बनाएर पहिलो सिजनमै खेत किन्न सक्नुहुन्थ्यो । अहिले हामी वर्षभरि मेहनत गर्दा पनि एक कठ्ठा जग्गा किन्न सक्ने अवस्था छैन। वर्षभरि कमाएको पैसा परिवारको जीविकोपार्जन र छोराछोरीको पढाइलेखाइमै सकिन्छ,’ उपेन्द्रले बताउनुभयो ।
माटाका सामग्रीको मूल्य समयअनुसार वृद्धि हुन नसक्नु आफूहरूका लागि ठूलो समस्या भएको उहाँले बताउनुभयो । पेसाको संरक्षण र जीविकोपार्जन सहज बनाउन सरकारले आवश्यक वातावरण तयार पार्नुपर्ने उहाँको माग छ ।

कुम्हाल समुदायको पेसा चाडपर्व र पारिवारिक संस्कारसँग पनि जोडिएको छ। विद्यालय बिदा भएका बेला कतिपय बालबालिकाले आफ्ना अभिभावकलाई माटाका सामग्री बनाउन सघाउने गरेका छन्। कक्षा ३ मा अध्ययनरत अनिषकुमार पण्डित पनि बिदाको समयमा अभिभावकलाई काममा सहयोग गरिरहनुभएको छ ।
‘विद्यालय बिदा भएकाले बुवा–आमालाई काममा सघाइरहेको छु। उहाँहरूले वर्षौँदेखि यही पेसा गरेर हामीलाई पढाउँदै आउनुभएको छ। त्यसैले हामी पनि काममा सहयोग गर्छौँ,’ अनिषले बताउनुभयो ।
स्थानीय अर्जुन पण्डितले माटाका सामग्रीको उचित मूल्य निर्धारण हुनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । उत्पादकबीच एकता र बजार व्यवस्थापनको अभावले पनि पेसा संकटमा परेको उहाँले बताउनुभयो । उत्पादकबीच एकता कमजोर हुनु र बजारमा रेडिमेड सामग्रीको कारोबार बढ्दै जानुले परम्परागत पेसालाई निरन्तरता दिन कठिन भएको उहाँको भनाइ छ ।

आधुनिक सामग्रीको प्रयोग बढे पनि धार्मिक तथा सांस्कृतिक परम्परामा माटाका भाँडाको महत्त्व अझै कायम छ । विशेषगरी दीपावली र छठ पर्वमा पूजापाठका लागि माटाका सामग्री प्रयोग गर्ने चलनले कुम्हाल समुदायको पेसालाई केही हदसम्म निरन्तरता दिएको छ ।
सिरहा नगरपालिका–११ का ब्रहमदेव पण्डितका अनुसार दीपावली र छठजस्ता पर्वमा माटाका सामग्रीको विशेष महत्त्व हुन्छ। पूजामा प्रयोग गरिने सामग्री छनोट गर्दा भक्तजनले परम्परागत माटाका भाँडालाई प्राथमिकता दिने गरेको उहाँले बताउनुभयो ।
कुम्हाल समुदायका लागि माटो केवल भाँडा बनाउने कच्चा पदार्थ मात्र होइन, पुस्तौँदेखि चल्दै आएको जीविकोपार्जन, संस्कृति र पहिचानको आधार पनि हो। तर बढ्दो उत्पादन लागत, उचित मूल्यको अभाव र रेडिमेड सामग्रीसँगको प्रतिस्पर्धाले यो परम्परागत पेसा संकटमा पर्दै गएको उहाँहरूको गुनासो छ ।
स्थानीय कुम्हाल समुदायले माटाका सामग्रीको उचित मूल्य निर्धारण, उत्पादन तथा बजारीकरणमा सहयोग, आवश्यक तालिम र परम्परागत सीप संरक्षणका कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गर्नुभएको छ ।











भारतीय महिला क्रिकेट टोलीकी नयाँ
सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो कात्तिकमा
नेपालमा चेस जेन टुको आधिकारिक
आजदेखि अन्तरवडा फुटसल
कर्णाली याक्स ट्यालेन्ट हन्टबाट तीन
पारा एसियाली खेलकुद : आठ