काठमाडौं । सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादन झण्डै चार खर्ब अर्थात् ६३ अर्ब ८९ करोड र राष्ट्रिय अर्थतन्त्रमा उक्त प्रदेशको हिस्सा ७.०३ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को ‘सुदूरपश्चिम प्रदेशको आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन’ अनुसार उक्त प्रदेशको राष्ट्रियस्तरमा उपभोक्ता मूल्यमा आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहनेछ ।
त्यस्तै आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा ३.२८ प्रतिशत र आधारभूत मूल्यमा २.७१ प्रतिशत रहनेछ । कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक क्षेत्र अर्थात् कृषि, वन तथा मत्स्यको योगदान ३३.६५, द्वितीय क्षेत्र अर्थात् उद्योगको योगदान १३.६९ र तृतीय सेवा क्षेत्रको योगदान ५२.६६ प्रतिशत रहने प्रक्षेपण गरिएको छ ।
अध्ययनका लागि नमुना छनोटमा परेका १४ उद्योगहरूको औसत क्षमता उपयोग ५१.२९ प्रतिशत रहेको छ । जसमध्ये जिआई तार, इँटा र खानेतेल उद्योगको क्षमता उपयोग ६० देखि ७० प्रतिशत रहेको छ भने साबुन २६.५२ र रोजिन ३६.०४ प्रतिशत क्षमता उपयोग देखिएको छ ।
गत आर्थिक वर्ष सुदूरपश्चिम प्रदेशबाट कुल ६२ हजार सात सय ३६ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्, जुन समग्र देशभरिबाट श्रम स्वीकृति लिने संख्याको झण्डै ५.२३ प्रतिशत हुन आँउछ । यस्तो श्रमिक संख्या अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ५३.७९ प्रतिशतले बढेको हो ।
समीक्षा वर्षसम्म प्रदेशमा औद्योगिक कर्जा ३.७२ प्रतिशतले बढेर २७ अर्ब ७१ करोड ५१ लाख पुगेको छ, जसको ७८.८७ प्रतिशत हिस्सा कैलाली जिल्लामा प्रवाह भएको छ । आर्थिक वर्ष २०८२/८३ को चैतसम्म प्रदेशमा एक हजार पाँच सय ९९ उद्योग दर्ता भई पाँच हजार चार सय ५२ जनाले रोजगारी पाएका छन् । चुरे गाउँपालिकामा सञ्चालित ‘द अर्गानिक भ्याली प्रालि’ ले स्थानीय अदुवा प्रशोधन गरी वार्षिक करिब पाँच करोड बराबरको सुकेको अदुवा जर्मनी निर्यात गरेको प्रतिवेदनमा उल्लेख छ ।
नमुना छनोट गरिएका ११ पर्यटकीय होटलहरूको औसत अकुपेन्सी ३४.६९ प्रतिशत रहेको छ । सो अवधिमा १८ हजार आठ सय २२ जना बाह्य पर्यटक भित्रिएकामा भारतीय पर्यटक १७ प्रतिशतले बढेका छन् । त्यस्तै समीक्षा अवधिमा घरजग्गा रजिस्ट्रेसन संख्या ११.४१ प्रतिशतले बढेको छ भने रजिस्ट्रेसन राजस्व १७.२९ प्रतिशतले बढेर एक अर्ब ४४ करोड पुगेको छ ।
प्रतिवेदनअनुसार समीक्षा वर्षमा प्रदेशभित्र मुख्य कृषि बालीले ढाकेको भू–क्षेत्र २.११ प्रतिशतले घटेर कुल चार लाख १८ हजार पाँच सय ७९ हेक्टरमा झरेको छ भने उत्पादन ०.८२ प्रतिशतको वृद्धि रहेको छ । खाद्य तथा अन्य बालीतर्फ दलहन ११.८६, तेलहन ९.५२, भटमास ९.५२, आलु ७.०१ प्रतिशत रहेको छ । पशुजन्य उत्पादनतर्फ दूध ११.३०, मासु ६.९१, ऊन ५.८०, अण्डा २.२४, छाला ०.८० र माछा उत्पादन ०.७६ प्रतिशतले बढेको छ ।
सिँचाइतर्फ खेती गरिएको कुल भू-भागमध्ये ४१.३७ प्रतिशत क्षेत्रफलमा मात्र सिँचाइ सुविधा पुगेको छ । २०८३ असारसम्म उक्त प्रदेशमा प्रवाह भएको कुल कर्जाको ९.५६ प्रतिशत हिस्सा अर्थात् १५ अर्ब ६२ करोड ४४ लाख कृषि क्षेत्रमा गएको छ, जुन अघिल्लो वर्षको तुलनामा २.१३ प्रतिशतले कम हो । कृषि कर्जाको सबैभन्दा बढी ६७.७५ प्रतिशत हिस्सा कैलाली जिल्लामा रहेको छ ।
२०८३ असारसम्म प्रदेशमा वाणिज्य बैंकका तीन सय ३३, विकास बैंकका ५१, वित्त कम्पनी छ र लघुवित्तका चार सय ५४ गरी कुल आठ सय ४४ बैंक तथा वित्तीय संस्थाका शाखाहरू सञ्चालनमा रहेका छन् । कुल निक्षेप संकलन १८.५६ प्रतिशतले बढेर दुर्ई खर्ब छ अर्ब नौ करोड ९५ लाख र कर्जा प्रवाह ३.८२ प्रतिशतले बढेर एक खर्ब ६३ अर्ब ४१ करोड २८ लाख पुगेको छ । उक्त प्रदेशमा ८७.३ प्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुगेको छ र विभिन्न जलविद्युत्् आयोजनाबाट कुल एक सय ६९ मेगावाट विद्युत् उत्पादन भएको छ ।
आर्थिक वर्ष २०८२/८३ मा उक्त प्रदेशबाट ५६ हजार नौ सय ६१ जना पुरुष तथा पाँच हजार सात सय ७५ जना महिला गरी कुल ६२ हजार सात सय ३६ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको देखिन्छ, जुन समग्र देशभरिबाट श्रम स्वीकृति लिने संख्याको झण्डै ५.२३ प्रतिशत हुन आँउछ । समीक्षा वर्षमा उक्त प्रदेशबाट वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ५३.७९ प्रतिशतले बढेको छ ।
नेपाल श्रमशक्ति सर्वेक्षण २०७५/७६ को प्रतिवेदनअनुसार सुदूरपश्चिम प्रदेशमा औसत बेरोजगारी दर समग्र नेपालभन्दा ०.१ प्रतिशतले बढी रहेको छ । सबैभन्दा बढी बेरोजगारी दर मधेस प्रदेशमा २०.१ प्रतिशत र सबैभन्दा कम सात प्रतिशत बागमती प्रदेशमा रहेको छ । सुदूरपश्चिम प्रदेशको बेरोजगारी दर ११.५ प्रतिशत रहेको छ । प्रादेशिक तुलनामा प्रतिजनसंख्या रोजगारी दर सुदूरपश्चिम प्रदेशको सबैभन्दा कम २४.१ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८२/८३ का लागि सुदूरपश्चिम प्रदेश सरकारले कुल ३३ अर्ब ४७ करोड बजेट विनियोजन गरेकोमा ६१.९४ प्रतिशत अर्थात्् २० अर्ब ७३ करोडमात्र खर्च भएको छ । पुँजीगततर्फ विनियोजित बजेटको ५८.४० प्रतिशत खर्च भएको छ ।







दुर्गा पक्षको दोस्रो दिन :
कति छ आज विदेशी मुद्राको
प्राचार्य कुटपिटमा सङ्लग्न पक्राउ
आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती
सहरको स्वादका लागि छुट्छ हिमालको
कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता