काठमाडौं । ‘काठमाडौं हरर फिल्म फेष्ट’को दोस्रो संस्करण आरम्भ भएको छ । शुक्रबार दिउँसो रसियन हाउस काठमाडौंमा महोत्सव सुरु भएको हो । नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा सुरु भएको महोत्सवले नेपालमा हररसहित विधागत चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ ।
उद्घाटन समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष मनिष पण्डित, जापानी दूतावासका उपनियोग प्रमुख यासुहारु सिन्तो, रसियन हाउसकी निर्देशक अनास्तासिया खोख्लोभा, पाकिस्तानी दूतावासका प्रथम सचिव वकास अहमदलगायतको उपस्थिति थियो । अतिथिहरूले संयुक्त रूपमा दीप प्रज्वलन गरी महोत्सव उद्घाटन गर्नुभएको थियो ।
समारोहमा अध्यक्ष पण्डितले नेपालमा विधागत चलचित्रको प्रवर्द्धन र विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । निर्देशक खोख्लोभाले नेपाल-रुस सांस्कृतिक आदानप्रदानका लागि सहकार्यलाई थप सुदृढ बनाउने बताउनुभयो । महोत्सवमा दर्शकले प्रत्यक्ष मतदानमार्फत दर्शक रोजाइको उत्कृष्ट फिल्म छनोट गर्न सक्ने नयाँ व्यवस्था पनि गरिएको छ ।
उद्घाटनपछि लेबनानी निर्देशक नादिम ताबेत निर्देशित ८५ मिनेट लामो अरबी भाषाको अलौकिक थ्रिलर फिल्म ‘इन दिस डार्कनेस आई सी यू’ प्रदर्शन गरिएको थियो । फ्रान्स, लेबनान, कतार र साउदी अरबको संयुक्त निर्माण रहेको फिल्मले अलौकिक त्रास र राजनीतिक विषयवस्तुलाई समेटेको छ ।
कात्तिक १५ गते (नोभेम्बर १) सम्म सञ्चालन हुने महोत्सवमा नेपालसहित विभिन्न देशका हरर तथा अन्य विधागत चलचित्र प्रदर्शन गरिने महोत्सवका निर्देशक रशिक पाठकले बताउनुभयो । महोत्सवले अन्तर्राष्ट्रिय फिल्म प्रदर्शन, दर्शक सहभागिता र सांस्कृतिक आदानप्रदानमार्फत नेपाली चलचित्र क्षेत्रमा विधागत फिल्मको विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।







प्रहरी अस्पताललाई मेडिकल कलेज बनाउने
ऋणको बोझ होइन, न्यायपूर्ण वित्त
पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि
एक दिनमा ५० पटकसम्म वालेटमा
कांग्रेसको १५औँ महाधिवेशनको मतगणना सकियो
अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्यो