संसार परिवर्तनशील छ । कालचक्रमा समयसँगै जीवन र जगत्का अनुभव र अनुभूति पनि भिन्न हुँदै जान्छन् । जे हिजो थियो त्यो आज छैन र जे आज छ त्यो भोलि रहँदैन । हिजो जुन कुरा सुन्दर लाथ्यो त्यो आज नराम्रो पनि लाग्नसक्छ । समयचक्रसँगै सोच विचार र धारणमा पनि परिवर्तन हुन्छ । संसारी चक्रलाई हेदा वस्तुमात्र परिवर्तन हुँदैनन् ती वस्तुलाई हेर्ने हाम्रो दृष्टि र त्यसबाट प्राप्त हुने अनुभूति पनि समयसँगै बदलिँदै जान्छ । समयले नै परिवर्तन पनि साथमै ल्याउने गर्दछ तर त्यो परिवर्तन हरेक क्षण स्पष्ट देखिँदैन । प्रकृतिमा हुने यो सूक्ष्म परिवर्तन जस्तै मानिसको जीवन र जगत्मा पनि निरन्तर परिवर्तन भइरहेको हुन्छ ।
बाल्यकालमा सामान्य खेलौना अमूल्य लाग्छ । सानो खेलौना पाउँदा बालकको अनुहारमा देखिने खुशी कुनै ठूलो सम्पत्ति प्राप्त गर्ने वयस्कको खुसीभन्दा कम नहुन सक्छ। त्यतिबेला खेलौनाको आर्थिक मूल्य होइन, त्यसले प्रदान गरेको महत्त्व विशेष हुन्छ । उमेर बढ्दै जाँदा त्यही खेलौनाको आकर्षण हराउँछ । त्यसको स्थानमा नयाँ रुचि, नयाँ इच्छा र नयाँ आवश्यकताहरू जन्मिन्छन् । यसको अर्थ खेलौना खराब भएका होइनन् । त्यसबाट आनन्द लिने व्यक्तिको अवस्था बदलिएको हो । व्यक्तिगत समयका काँचुली फेरिएका हुन् । सामान्यतः समयले वस्तुमा परिवर्तन ल्याउँछ नै । विस्तारै अनुभूतिमा पनि परिवर्तन आउने गर्दछ । पुरानो गीत पहिलेझैँ बजिरहेको हुनसक्छ, पुरानो घर उही ठाउँमा उभिएको हुन सक्छ र पुरानो साथीको बोली पनि उस्तै हुनसक्छ । तर तिनलाई अनुभव गर्ने मन पहिलेको जस्तो नहुन सक्छ । जसले गर्दा समयसँगै अनुभूतिमा पनि वदलाब आएको जान्न सकिन्छ ।
बितिसकेको हुन्छ तर त्यसको प्रभाव वर्तमानमा रहिरहन्छ । हामी विगतलाई सम्झन्छौं, त्यसबाट अर्थ निकाल्छौं र वर्तमानसँग तुलना गर्छौं तर स्मृति कुनै घटनाको हुबहु प्रतिलिपि होइन । समयसँगै हामीले त्यसलाई सम्झने तरिका पनि बदलिनसक्छ । बाल्यकालमा घरमा अभिभावकले लगाएका प्रतिबन्धहरू अन्यायजस्ता लाग्न सक्छन् ।
उमेर अनुभूति परिवर्तन गराउने प्रमुख तत्वमध्ये एक हो । मानिसको शारीरिक विकाससँगै मानसिक विकास, सोच्ने क्षमता, प्राथमिकता र जीवनप्रतिको दृष्टिकोण पनि बदलिन्छ । उमेर बढ्दै जाँदा मानिसले कुनै कुराको तत्काल प्राप्त हुने सुखभन्दा पनि त्यसको दीर्घकालीन महत्त्व बुझ्न थाल्छ । पहिले महँगो वस्तु प्राप्त गर्नु सफलताको प्रतीक लाग्न सक्छ । पछि स्वस्थ शरीर, चिन्तारहित निद्रा र परिवारसँग बिताएको समय नै ठूलो प्राप्ति लाग्न सक्छ।एउटै वस्तु वा घटना मानिसको फरक अवस्थामा फरक अनुभूतिको कारण बन्नसक्छ । कुनै वस्तुको महत्त्व त्यसको आफ्नै गुणमा मात्र होइन, त्यस समयमा हामीलाई कति आवश्यकता छ भन्ने कुरामा पनि निर्भर हुन्छ । भोक लागेको बेला साधारण भोजन पनि स्वादिष्ट लाग्छ । पेट भरिएको बेला त्यही भोजनप्रति रुचि नहुनसक्छ । थकित मानिसलाई विश्राम अत्यन्त प्रिय लाग्छ, तर लामो समय निष्क्रिय बसेको मानिसलाई त्यही विश्राम बोझिलो लाग्नसक्छ । यसैले समयसँगै अनुभूति पनि परिवर्तित हुन्छन् ।
मानिस प्रकृतिकै अंश हो र यसैले उसको शारीरिक तथा मानसिक अवस्थामाथि वातावरणको प्रभाव पर्छ । वर्षायाममा हरियालीले भरिएको पहाड, बगिरहेको खोला र आकाशबाट झर्ने पानीले मनमा एक प्रकारको आनन्द उत्पन्न गर्नसक्छ । तर लगातारको झरी, बाढीपहिरोले दुःख पनि निम्त्याउनसक्छ । वसन्त ऋतुमा फुलेका फूल, नयाँ पालुवा र चराचुरुंगीको चिरबिरले प्रकृतिमा नवीनताको अनुभूति गराउँछन् । शरद् ऋतुको स्वच्छ आकाश र शीतल वातावरणले मनमा प्रसन्नता जगाउनसक्छ । जाडोमा घाम ताप्नु आनन्ददायी हुन्छ, जबकि गर्मीमा त्यही घाम असह्य लाग्न सक्छ ।
विगत बितिसकेको हुन्छ तर त्यसको प्रभाव वर्तमानमा रहिरहन्छ । हामी विगतलाई सम्झन्छौं, त्यसबाट अर्थ निकाल्छौं र वर्तमानसँग तुलना गर्छौं तर स्मृति कुनै घटनाको हुबहु प्रतिलिपि होइन । समयसँगै हामीले त्यसलाई सम्झने तरिका पनि बदलिन सक्छ । बाल्यकालमा घरमा अभिभावकले लगाएका प्रतिबन्धहरू अन्यायजस्ता लाग्न सक्छन् । आफूले चाहेको समयमा बाहिर जान नपाउनु, मनपर्ने काम गर्न नपाउनु वा अनुशासनमा बस्नुपर्ने बाध्यता असहज लाग्नसक्छ तर वयस्क भएपछि जिम्मेवारीको अर्थ बुझ्दा तीमध्ये केही प्रतिबन्धमा सुरक्षा, माया र भविष्यप्रतिको चिन्ता लुकेको रहेछ भन्ने अनुभूति हुनसक्छ । यसको अर्थ विगतका सबै प्रतिबन्ध उचित थिए भन्ने होइन । बरू अनुभव बढेपछि एउटै घटनाका अनेक पक्ष बुझ्ने क्षमता विकसित हुनसक्छ भन्ने हो ।
नयाँ वस्तु प्राप्त गर्दा हुने उत्साह समयसँगै कम हुनसक्छ । कुनै व्यक्तिले नयाँ घर बनाउँदा अत्यन्त खुशी अनुभव गर्नसक्छ । घर तयार भएपछि केही समयसम्म उसलाई ठूलो उपलब्धिको अनुभूति हुन्छ तर बिस्तारै त्यही घर दैनिक जीवनको सामान्य हिस्सा बन्छ । अब उसको ध्यान अर्को लक्ष्यतिर जानसक्छ । नयाँ मोबाइल, नयाँ गाडी, नयाँ पद, नयाँ सम्बन्ध वा नयाँ उपलब्धिमा पनि यस्तै प्रक्रिया देखिनसक्छ । कुनै वस्तु प्राप्त गर्दा आनन्द मिल्नु स्वाभाविक हो तर त्यो आनन्द सधैँ उस्तै रहन्छ भन्ने अपेक्षा गर्नु यथार्थपरक हुँदैन । नयाँपन हराउँदै जाँदा मानिसले त्यस वस्तुको उपयोगिता, सीमितता र वास्तविक महत्त्वलाई फरक ढंगले हेर्न थाल्छ ।
समयसँगै मानवीय सम्बन्धको अनुभूति पनि बदलिन्छ । सम्बन्धको सुरुवातमा मानिसले अर्को व्यक्तिका गुणहरू बढी देख्नसक्छ । समय बित्दै जाँदा व्यक्तिको वास्तविक स्वभाव, कमजोरी, बानी र व्यवहार स्पष्ट हुँदै जान्छन् । त्यसपछि पहिले मन परेको कुनै बानी सामान्य लाग्नसक्छ । कहिलेकाहिँ त्यही बानी असहजसमेत बन्नसक्छ । पहिले रमाइलो लागेको कुराकानी पछि दोहोरिएको जस्तो लाग्नसक्छ । यसको विपरीत, समयले सम्बन्धलाई अझ गहिरो र आत्मीय पनि बनाउन सक्छ । समयले सम्बन्धको आकर्षण घटाउन सक्छ र त्यसको वास्तविक गहिराइ प्रकट गर्न सक्छ ।
मानिस सुखलाई समातेर राख्न र दुःखलाई चाँडै हटाउन चाहन्छ तर जीवनको प्रकृति नै परिवर्तनशील छ । सुखद् परिस्थिति सधैं रहँदैनन् र दुःखद् परिस्थिति पनि अनिवार्य रूपमा स्थायी हुँदैनन् । आज अत्यन्त ठूलो समस्या लागेको घटना केही वर्षपछि जीवनको एउटा अनुभवमात्र बन्नसक्छ । आजको असफलताले संसार समाप्त भएको जस्तो लाग्न सक्छ, तर समयसँगै नयाँ अवसर, नयाँ सम्बन्ध र नयाँ सम्भावना देखिन सक्छन् । स्थायी सुख खोज्ने क्रममा परिवर्तनशील वस्तुहरूलाई स्थायी ठान्दा निराशा अनुभव गर्नसक्छ । यही प्रसङ्ग गीतामा उल्लेख पाइन्छ :
‘मात्रास्पर्शास्तु कौन्तेय शीतोष्णसुखदुःखदाः ।
आगमापायिनोऽनित्यास्तांस्तितिक्षस्व भारत ।।
(गीता, २।१४) अर्थात् हे कुन्तीपुत्र अर्जुन इन्द्रिय र विषयको सम्पर्कबाट जाडो-गर्मी तथा सुख-दुःखजस्ता अनुभूति उत्पन्न हुन्छन् । ती आउने र जाने स्वभावका तथा अनित्य छन् । यसैले तिनलाई धैर्यपूर्वक सहन गर्न सिक भन्ने वचनबाट सुख र दुःखका अनुभूतिलाई स्थायी ठान्नु हुँदैन । सयमसँगै अघि बढ्दै जानुपर्दछ परिस्थितिलाई पर्घेल्दै जानुपर्दछ । बौद्ध दर्शनमा अनित्यको सिद्धान्त महत्त्वपूर्ण छ । अनुभव, भावना र परिस्थितिहरू परिवर्तनशील छन् र यसलाई बुझ्दा मानिसमा आफ्ना इच्छा र अनुभूतिप्रति सजग हुने क्षमता बढ्नसक्छ ।
समयलाई रोक्ने शक्ति हामीमा छैन । बितेको समय फर्काउन सकिँदैन, बितेका अवसरहरू सधैं पुनः प्राप्त गर्न सकिँदैनन् र जीवनका सबै सम्बन्धहरूलाई उस्तै अवस्थामा राख्न पनि सकिँदैन तर समयसँगै बदलिने आफ्ना अनुभूतिहरूलाई बुझ्ने क्षमता भने विकास गर्न सकिन्छ । जीवनमा सुख प्राप्त गर्नु महत्त्वपूर्ण छ तर सुखलाई सधैँ एउटै रूपमा कायम राख्ने अपेक्षा गर्नु उचित हुँदैन । परिवर्तनलाई स्वीकार गर्नु, वर्तमानलाई सचेत भएर अनुभव गर्नु र विगतलाई विवेकपूर्वक सम्झनु जीवनलाई सन्तुलित बनाउने आधार हुन् । समय निरन्तर बगिरहेको छ ।
हामी पनि प्रवाहित भइरहेका छौं र संसारलाई अनुभव गर्ने हाम्रो तरिका पनि बदलिइरहेको छ । यही परिवर्तनलाई बुझ्न सक्नु नै समय र अनुभूतिको सम्बन्ध बुझ्नु हो किनकि जीवन केवल समय बित्नुको नाम होइन बितिरहेको समयलाई हामीले कसरी अनुभव गछौं, त्यसको अर्थ कसरी बुझ्छौं र त्यसबाट के सिक्छौं भन्ने कुराको नाम पनि जीवन हो ।






न्यायाधीश बम हत्याका दोषी बाबु
बाढी प्रभावित बालबालिकाको संरक्षणका लागि
आजको राशिफल : कुन राशिलाई
बडादशैँको छैटौं दिन आज कात्यायनी
मूल्य वृद्धिले ग्राहकको बजेटमा दबाब
बजारमा रौनक, व्यापारमा मन्दी