काठमाडौं । भुटानको उत्तरी गासा जिल्लास्थित सिन्ताफु हिमताल विस्फोट (ग्लेसियर लेक आउटबर्स्ट फ्लड–ग्लोफ) भएपछि आएको भीषण बाढीले प्रसिद्ध पर्यटकीय स्थल गासा छाचु तातोपानी कुण्डका पूर्वाधार बगाएको छ । बाढीले पुनाखा-गासा सेकेण्डरी नेसनल हाइवे अन्तर्गतको सडक खण्डसमेत पूर्णरूपमा क्षतिग्रस्त बनाएपछि यातायात सेवा अवरुद्ध भएको छ । डेली भुटानका अनुसार गत बिहीबार (अक्टोबर २९) साँझ लुंगो, लाया गेओगस्थित वाकिला पहाडनजिक रहेको सिन्ताफु हिमतालबाट एक्कासि पानी बाहिरिएपछि बाढी आएको हो । तालमा जम्मा भएको पानी प्राकृतिक बाँध (मोरेन) कमजोर भई बाहिर निस्कँदा मोछु नदीमा पानीको बहाव तीव्र बनेको थियो ।
बाढीको पानी बिहीबार राति करिब ८ः१५ बजे ताकत्सेमाखाङ पुगेको थियो । त्यसपछि नदी किनारमा रहेको गासा छाचु तातोपानी कुण्डको परिसर पूर्णरूपमा बगाएको बताइएको छ । बाढीले पुनाखा–गासा राजमार्गको करिब ३१.८५ किलोमिटर खण्डमा ठूलो क्षति पुर्याएको छ । लायाको दुर्गम बस्ती जोड्ने सडकमा समेत क्षति पुगेपछि अर्को सूचना जारी नभएसम्मका लागि यातायात आवागमन बन्द गरिएको अधिकारीहरूले जनाएका छन् ।
यात्रुहरूलाई अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा यात्रा गर्नैपर्ने अवस्थामा वैकल्पिक मार्ग सुनिश्चित गर्न आग्रह गरिएको छ । बाढीका कारण दुईवटा बेलिब्रिजसमेत बगाएको आशंका गरिएको छ । यद्यपि, भौतिक क्षतिको पूर्ण विवरण संकलन भइरहेको छ ।
सम्भावित जोखिमयुक्त क्षेत्रका बासिन्दालाई बाढी पुग्नुअघि नै चेतावनी साइरन बजाएर सुरक्षित स्थानमा सारिएको थियो । भुटानी सञ्चार माध्यमका अनुसार शुक्रबार बिहानसम्म घटनामा कुनै मानवीय क्षति वा घाइते भएको विवरण प्राप्त भएको छैन । सिन्ताफु हिमताल मोछु नदीको मुहान क्षेत्रमा अवस्थित उच्च हिमाली ताल हो । यसबाट निस्कने पानी मोछु नदी हुँदै बगेर पुनाखामा फोछु नदीसँग मिसिन्छ र पुनात्साङछु नदी बन्छ । यही नदी भारत प्रवेश गरेपछि संकोश नदीका रूपमा चिनिन्छ ।
सिन्ताफु भुटानका सम्भावित जोखिमयुक्त १७ हिमतालमध्ये एक हो । सन् २०२३ को मेदेखि जुनसम्म भुटानी विज्ञहरूले यस तालको विशेष अध्ययन गरेका थिए । अध्ययनका क्रममा तालको आकार, प्राकृतिक बाँधको अवस्था, आसपासको भौगोलिक संरचना तथा पानी आपूर्ति गर्ने हिमनदीको निरीक्षण गरिएको थियो । सम्भावित जोखिमको निगरानीका लागि उपकरणसमेत जडान गरिएको थियो ।
यसअघि सन् २०२१ मा पनि मोछु नदीले आफ्नो बहाव परिवर्तन गर्दा गासा छाचु क्षेत्रमा बाढी पसेर क्षति पुर्याएको थियो । पछिल्लो घटनाले हिमाली क्षेत्रमा रहेका हिमतालको जोखिम, पूर्वसूचना प्रणाली र तटीय बस्तीको सुरक्षामा थप ध्यान दिनुपर्ने आवश्यकता देखाएको छ । नेपालमा पनि गत भदौ १० मा हिमाताल फुटेर भोटेकोशीमा आएको बाढीले हजारौँ व्यक्ति निधन र बेपता भएका थिए भने अर्बौको भौतिक सम्पत्ति नोक्सान भएको थियो । एजेन्सीको सहयोगमा







दुर्गा पक्षको दोस्रो दिन :
कति छ आज विदेशी मुद्राको
प्राचार्य कुटपिटमा सङ्लग्न पक्राउ
आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती
सहरको स्वादका लागि छुट्छ हिमालको
कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता