काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले महाधिवेशनको तयारीलाई तीव्र पारेको छ । पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको समानान्तर महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । महाधिवेशनका लागि काठमाडौं महानगरपालिकासँग राष्ट्रियसभा गृह र भृकुटीमण्डप पनि मागेर पत्राचार गरिएको महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिनुभयो । समूहले आगामी मंसिर २१ देखि २३ मंसिरसम्मका लागि महाधिवेशनको मिति तय गरेको छ । अहिले समूहले प्रतिनिधिसभा क्षेत्र र जिल्ला अधिवेशन गरिरहेको छ । महाधिवेशनमा ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने बताइएको छ ।
यसअघि कांग्रेस संस्थापनले पनि १५औँ महाधिवेशन खुलामञ्चमा गरेको थियो । नयाँ कार्यसमिति छान्ने निर्वाचन राष्ट्रिय सभागृहमा गरिएको थियो भने खानाका लागि भृकुटीमण्डप प्रयोग गरिएको थियो । तिवारीका अनुसार महाधिवेशनको स्थान माग गर्दै लेखिएको पत्र लगेर सम्पर्क कार्यालय चुनदेवीका कर्मचारी अमृत कार्की महानगरपालिकाको कार्यालयमा बिहीबार पुग्नुभएको थियो । महानगरले महाधिवेशनका लागि अनुमति दिएको समूहको निर्वाचन समितिका संयोजक अधिवक्ता एगराज पोखरेलले जानकारी दिनुभयो ।
समूहले महाधिवेशनका लागि खुलामञ्च, राष्ट्रियसभा गृह र भृकुटीमण्डपको बगैँचा महाधिवेशनका लागि बुक गरेको हो । उहाँका अनुसार महाधिवेशन उद्घाटन र बन्दसत्र खुलामञ्चमा हुनेछ । मतदानको लागि सभागृह र खानाको लागि भृकुटीमण्डपको बगैँचा प्रयोग गर्नका लागि बुक गरिएको नेता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।
यता, १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू र केन्द्रीय सदस्यहरूको विवरण अद्यावधिक गर्न नेपाली कांग्रेस निर्वाचन आयोग गएको छ । महाधिवेशनबाट आएका पदाधिकारी र सदस्यको शपथ बिहीबार भएको थियो । लगत्तै बसेको केन्द्रीय समिति बैठकले पदाधिकारीहरू र सदस्यहरूको विवरण अद्यावधिक गर्ने जिम्मेवारी कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाललाई दिने निर्णय गरेको थियो । असोज १८ देखि २३ गतेसम्म चलेको महाधिवेशनबाट सभापतिमा गगन थापासहित पदाधिकारी र सदस्य गरी २३१ जना निर्वाचित भएका थिए । उनीहरूको फोटोसहितको विवरण र आवश्यक कागजात निर्वाचन आयोगमा अद्यावधिक गराउन लागिएको हो ।
कांग्रेसमा चार सहमहामन्त्री, एक कोषाध्यक्ष, प्रवक्ता र आवश्यक परे सहप्रवक्ता तथा ६६ जना केन्द्रीय सदस्य मनोनीत गर्नै बाँकी छ । राजनीतिक दलसम्बन्धी कानुनले महाधिवेशनपछि पदाधिकारी तथा सदस्यहरूको विवरण निर्वाचन आयोगमा अद्यावधिक गराउनुपर्ने व्यवस्था गरेकाले कांग्रेसले अद्यावधिक गराउन लागेको जनाएको छ ।
यसरी एउटै पार्टीभित्र दुईवटा समानान्तर महाधिवेशनका अभ्यासहरू हुनु र दुवै पक्षले खुलामञ्चलाई नै मुख्य स्थलका रूपमा छनोट गर्नुले नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा देखिएको आन्तरिक कलहलाई थप प्रष्ट पारेको छ ।
निर्वाचन आयोग तथा अदालतको कानुनी प्रक्रियासँगै तल्लो तहका कार्यकर्ताहरूको गोलबन्दलाई दुवै पक्षले आ-आफ्नो हिसाबले निरन्तरता दिइरहेका छन् । देउवा पक्षले भने आफ्नो पूर्वघोषित कार्यतालिका अनुसार कुनै पनि अवरोधबिना महाधिवेशन सम्पन्न गर्ने अठोट लिएको छ । उनीहरूले पार्टीको विधान र विधिसम्मत तरिकाले नै महाधिवेशन प्रक्रिया अघि बढिरहेको दाबी गर्दै आएका छन् ।







आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका
दुर्गा पूजाकाे भागदौडमा परी मृत्यु
बडादशैँको रौनक गाउँघरतर्फ सोझिएसँगै काठमाडौं
शहरले खोस्न नसकेको खुशी :