काठमाडौं । प्रकाशित समाचारको विषयलाई लिएर सोधपुछ गर्ने भन्दै नेपाल प्रहरीले शुक्रबार राजधानीका विभिन्न सञ्चार माध्यमका कार्यालयमा प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिनुका साथै पक्राउ गर्ने प्रयास गरेको छ । सादा पोसाकमा खटिएका प्रहरीले नेपाल प्रेस, नयाँ पत्रिका दैनिक, दियोपोस्ट र मोटिभेट न्युज लगायतका कार्यालयमा पुगेर पत्रकारको खोजी गर्नुका साथै दुई पत्रकारलाई नियन्त्रणमा लिएको थियो ।
प्रहरीको यस गतिविधिले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ । समाचारको स्रोत र प्रकाशनसँग सम्बन्धित विषयमा अनुसन्धान गर्ने भन्दै समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिन खोजिएको घटनाप्रति सञ्चार क्षेत्रका विभिन्न संस्थाले आपत्ति जनाएका छन् ।
शुक्रबार नयाँ बानेश्वरस्थित नेपाल प्रेसको कार्यालयबाट पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । नेपाल प्रेसका प्रधानसम्पादक मात्रिका पौडेलका अनुसार समाचार कक्षमा काम गरिरहेका बेला सादा पोसाकमा आएका दुई प्रहरीले सुवेदीलाई छलफलका लागि जानुपर्ने भन्दै कार्यालयबाट लिएर गएका थिए ।
त्यस्तै, बानेश्वरस्थित मोटिभेट न्युज डटकमको कार्यालयबाट सम्पादक शोभराज बराललाई पनि प्रहरीले पक्राउ गरेको थियो । उता, पुतलीसडकस्थित नयाँ पत्रिका दैनिकको कार्यालयमा पनि सादा पोसाकका प्रहरी पत्रकार नवराज मैनालीको खोजी गर्दै पुगेका थिए । नयाँ पत्रिकाका समाचार सम्पादक खगेन्द्र पन्तका अनुसार महानगरीय अपराध महाशाखाबाट आएको बताउने चारदेखि पाँच जनाको प्रहरी टोली कार्यालयमा पुगेको थियो । उनीहरूले मैनालीलाई साइबर ब्युरोमा लैजान आएको बताएका थिए ।
अनामनगरस्थित दियोपोस्ट अनलाइनको कार्यालयमा पनि प्रहरी पुगेको थियो । त्यहाँ पुगेका प्रहरीले प्रधानसम्पादक सुदीप विश्वकर्मा र समाचार संयोजक मदन ढुंगानाको खोजी गरेका थिए । कार्यालयमा दुवै जना फेला नपरेपछि उपत्यका अपराध महाशाखाबाट खटिएको प्रहरी टोली फर्किएको दियो पोस्टका एक पत्रकारले बताएका छन् ।
आइजिपी र इनम सापकोटासम्बन्धी समाचारपछि प्रहरी सक्रिय
पत्रकारमाथि प्रहरीको पछिल्लो सक्रियताको पृष्ठभूमिमा विभिन्न सञ्चार माध्यमले प्रकाशित गरेका प्रहरी महानिरीक्षक दानबहादुर कार्की, इनम सापकोटा तथा न्यायिक क्षेत्रसँग सम्बन्धित समाचार र सामग्री रहेको देखिन्छ ।
नेपाल प्रेस डटकमले गत ११ कात्तिकमा प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले प्रहरी महानिरीक्षक कार्कीलाई राजीनामा दिन दबाब दिएको आशयको समाचार प्रकाशित गरेको थियो । समाचारमा राजीनामा नदिए पदबाट हटाउनुपर्ने अवस्था आउनसक्ने भन्दै दबाब बढाइएको उल्लेख थियो । सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानको दायरामा रहेका इनम सापकोटासँग कार्कीको सम्पर्कलाई समेत राजीनामाको दबाबसँग जोडेर समाचार प्रकाशित गरिएको थियो ।
त्यस्तै, नयाँ पत्रिका दैनिकले इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरि फुँयालबीच भएको भनिएको ह्वाट्सएप संवाद सार्वजनिक गरेको थियो । सार्वजनिक विवरणअनुसार सापकोटाले न्यायाधीश फुँयाललाई एउटा मुद्दा खारेज गरिदिन आग्रह गर्दै सन्देश पठाएका थिए ।
बैंकिङ कसुरका आरोपित रोहित गुप्ताको तर्फबाट दायर बन्दी प्रत्यक्षीकरणको निवेदनमा सुनुवाइका लागि पेसी चढिसकेको अवस्थामा सापकोटाले बिहान १०ः२३ बजे न्यायाधीश फुँयाललाई सन्देश पठाउँदै निवेदन खारेज गरिदिन आग्रह गरेको विवरण समाचारमा उल्लेख थियो । त्यसपछि साँझ न्यायाधीश फुँयालले भेट्ने भन्दै जवाफ पठाएको ह्वाट्सएप संवाद सार्वजनिक गरिएको थियो ।
दियोपोस्ट डटकमले पनि प्रधानन्यायाधीश मनोज शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलको नाम उल्लेख भएको भनिएको कागजात सार्वजनिक गरेको थियो । उक्त कागजात इनम सापकोटाको मोबाइलबाट बरामद भएको दाबी गरिएको थियो । कागजातमा प्रहरी प्रधान कार्यालयको डिजिटल फरेन्सिक ल्याबको छापसमेत रहेको विवरण सार्वजनिक भएको थियो । उक्त सामग्री सार्वजनिक भएपछि प्रधानन्यायाधीश शर्मा र सांसद पोखरेल दुवैले सापकोटासँग कुनै किसिमको सम्बन्ध नरहेको भन्दै विज्ञप्ति जारी गर्नुभएको थियो ।
मोटिभेट न्युजले पनि प्रहरी महानिरीक्षक कार्की र इनम सापकोटासँग सम्बन्धित भिडियो सामग्री सार्वजनिक गरेको थियो । यी सामग्री सार्वजनिक भएपछि सम्बन्धित सञ्चारमाध्यमका पत्रकारलाई सोधपुछका लागि बोलाउने तथा कार्यालयमै पुगेर खोजी गर्ने प्रहरी गतिविधि तीव्र भएको हो ।
प्रेस काउन्सिलको गम्भीर आपत्ति
पत्रकारलाई समाचार कक्षबाटै नियन्त्रणमा लिने प्रहरी गतिविधिप्रति प्रेस काउन्सिल नेपालले गम्भीर आपत्ति जनाएको छ । काउन्सिलले पत्रकार पक्राउ गर्नुको स्पष्ट कानुनी आधार सार्वजनिक गर्न र कानुनी आधारबिना नियन्त्रणमा राखिएका पत्रकारलाई तत्काल रिहा गर्न माग गरेको छ । शुक्रबार कार्यालय समय सकिएपछि विभिन्न सञ्चार माध्यमका समाचार कक्षमा सादा पोसाकका प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति काउन्सिलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
काउन्सिलका अनुसार पक्राउको स्पष्ट कारण नखुलाइएको, पक्राउ पुर्जी नदेखाइएको, अदालतको अनुमति लिइएको नदेखिएको तथा अपराधसम्बन्धी जाहेरी परेको विषयसमेत स्पष्ट नभएको अवस्थामा लगातार दुई दिन सार्वजनिक बिदा पर्नुअघि पत्रकारलाई नियन्त्रणमा लिनु गम्भीर आपत्तिको विषय हो ।
प्रहरी प्रधान कार्यालयबाट जारी विज्ञप्तिको पृष्ठभूमिमा भएको यस घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको काउन्सिलको भनाइ छ । सञ्चार माध्यममा प्रकाशित समाचार सामग्रीप्रति असहमति वा आचारसंहितासम्बन्धी उजुरी भए त्यसको छानविन, अनुगमन र निरूपण गर्ने कानुनी जिम्मेवारी प्रेस काउन्सिलको रहेको पनि काउन्सिलले स्मरण गराएको छ ।
समाचारकै विषयमा सिधै प्रहरी परिचालन गर्नुको सट्टा काउन्सिलको स्थापित विधि र प्रक्रियाबाट समाधान खोज्न नेपाल सरकार, प्रहरी प्रशासन तथा सम्बन्धित सबै पक्षलाई काउन्सिलले आग्रह गरेको छ ।
प्रहरी गतिविधिको भर्त्सना
समाचार कक्षमा प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने प्रयास गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ, नयाँ पत्रिका दैनिक प्रतिष्ठान शाखाले पनि आपत्ति जनाएको छ । शाखाले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रहरीको कार्यलाई प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै घोर भर्त्सना गरेको हो । शाखाका अनुसार शुक्रबार साँझ करिब साढे ५ बजे सादा पोसाकमा आएका सातजना प्रहरी नयाँ पत्रिकाको समाचार कक्षमा जबरजस्ती प्रवेश गरेका थिए । उनीहरूले प्रतिष्ठानका पूर्वअध्यक्ष तथा खोज तथा अनुसन्धान ब्युरो संयोजक नवराज मैनालीलाई कार्यालयबाट जबरजस्ती लैजान खोजेका थिए । आफूहरू अपराध अनुसन्धान कार्यालयबाट आएको बताउने प्रहरी टोलीले मैनालीलाई साइबर ब्युरोमा उपस्थित गराउनुपर्ने भन्दै नियन्त्रणमा लिन खोजेको शाखाको विज्ञप्तिमा उल्लेख छ । तर, प्रहरीले पक्राउ पुर्जी नदेखाएको र मैनालीलाई लैजान खोज्नुको स्पष्ट कारणसमेत नखुलाएको अवस्थामा उनलाई कार्यालयबाट लैजान जिद्दी गरेको शाखाको आरोप छ । समाचारप्रति कुनै असहमति वा गुनासो भए प्रचलित कानुनअनुसार सम्बन्धित निकायमा उजुरी गर्न सकिने तथा प्रेस काउन्सिल नेपालमार्फत समाधान खोज्न सकिने व्यवस्था हुँदाहुँदै प्रहरी समाचार कक्षमै प्रवेश गरेर धरपकडको प्रयास गर्नु खेदजनक रहेको शाखाले जनाएको छ । शाखाले प्रेस स्वतन्त्रतामाथि आघात पुग्ने यस्ता गतिविधि तत्काल रोक्न र पत्रकारको व्यावसायिक सुरक्षाको प्रत्याभूति गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।
रास्वपा प्रवक्ताको प्रश्न : प्रहरीले जवाफ दिनुपर्छ
पत्रकार पक्राउ र सञ्चारगृहमा प्रहरी प्रवेश गरेको विषयमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले नेपाल प्रहरीले जवाफ दिनुपर्ने बताउनुभएको छ । उहाँले पार्टी सैद्धान्तिक रूपमा स्वतन्त्र पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताको सम्मान तथा रक्षाको पक्षमा स्पष्ट रहेको बताउनुभयो । घटनाबारे पार्टीले कसरी धारणा बनाउने भन्ने विषयमा छलफल गरिने उहाँको भनाइ छ ।
खरेलले सञ्चारगृहमा प्रहरी प्रवेश गरेको र पत्रकार नियन्त्रणमा लिएको विषय सामाजिक सञ्जाल तथा सञ्चार माध्यमबाट थाहा पाएको उल्लेख गर्दै यसको कारण प्रहरीले सार्वजनिक गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सञ्चार गृहमा प्रहरी प्रवेश गरेको र पत्रकार नियन्त्रणमा लिएको बारे सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट थाहा पाएका छौँ । स्वतन्त्र पत्रकारिताको सम्मान गर्नैपर्छ, हाम्रो पार्टी स्वतन्त्र पत्रकारिताको पक्षमा छ । किन भयो ? के भयो ? भनेर नेपाल प्रहरीले जवाफ दिनुपर्छ ।’
संविधानले ग्यारेण्टी गरेको स्वतन्त्र पत्रकारिता र वाक् स्वतन्त्रताको पक्षमा रास्वपा रहेको उल्लेख गर्दै खरेलले पत्रकारिताको सम्मान सबै पक्षले गर्नुपर्ने धारणा राख्नुभएको छ ।
प्रेस स्वतन्त्रता र प्रहरी अनुसन्धानको सीमाबारे बहस
प्रकाशित समाचारको विषयमा अनुसन्धान गर्ने नाममा सञ्चार माध्यमको समाचार कक्षमै प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने प्रयास भएपछि प्रेस स्वतन्त्रताको सीमासँगै प्रहरी अनुसन्धानको कार्यविधिबारे पनि बहस सुरु भएको छ ।
पत्रकारले प्रकाशित गरेको समाचारप्रति कुनै निकाय वा व्यक्तिको असहमति भए त्यसको कानुनी निरूपणका लागि स्थापित प्रक्रिया र सम्बन्धित निकायको भूमिका महत्त्वपूर्ण हुन्छ । समाचारको स्रोत खुलाउन दबाब दिने वा समाचार प्रकाशित गरेकै आधारमा पत्रकारलाई आतंकित पार्ने गतिविधिले स्वतन्त्र पत्रकारिताको वातावरण कमजोर बनाउन सक्ने सरोकारवालाहरूको चिन्ता छ ।
अर्कोतर्फ, कुनै आपराधिक कसुरको अनुसन्धान आवश्यक भए त्यसका लागि प्रचलित कानुनअनुसार प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । पक्राउको कारण, कानुनी आधार र अनुसन्धानको औचित्य स्पष्ट हुनुपर्ने विषय पनि उत्तिकै महत्त्वपूर्ण छ ।
शुक्रबारको घटनाले समाचार कक्षको सुरक्षा, पत्रकारको पेसागत स्वतन्त्रता र राज्यका अनुसन्धानकारी निकायको जवाफदेहितामाथि गम्भीर प्रश्न खडा गरेको छ । पक्राउ परेका पत्रकारमाथि लगाइएको आरोप, नियन्त्रणमा लिन प्रयोग गरिएको कानुनी आधार तथा प्रहरी अनुसन्धानको वास्तविक उद्देश्य सार्वजनिक हुनुपर्ने मागसमेत उठेको छ ।
स्वतन्त्र पत्रकारिता लोकतान्त्रिक व्यवस्थाको महत्त्वपूर्ण आधार भएकाले समाचारप्रति असहमति व्यक्त गर्ने र त्यसको कानुनी उपचार खोज्ने प्रक्रियाले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्न नहुने सरोकारवालाहरूको जोड छ । अब यस घटनामा नेपाल प्रहरीको आधिकारिक धारणा, पत्रकारमाथि लगाइएको आरोप र अनुसन्धानको कानुनी आधार सार्वजनिक हुने प्रतीक्षामा सञ्चार क्षेत्र रहेको छ ।






दशैँका दिव्य पक्ष
गोरखामा बुढीगण्डकीको बाढीले सल्लेरी बजार
नवरात्रको पहिलो दिन आज घटस्थापना,
देशका हिमाली र पहाडी भूभागमा
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर
कति छ आज विदेशी मुद्राको