काठमाडौं । समाचार कक्षमै प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको र त्यसपछि पत्रकारहरूलाई प्रहरी कार्यालयमा बोलाइएको घटनाप्रति मिडिया एलायन्स नेपालले गम्भीर आपत्ति जनाएको छ।
एलायन्सले शनिबार विज्ञप्ति जारी गर्दै सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारलाई त्रसित पार्ने तथा प्रेस स्वतन्त्रतालाई संकुचित गर्ने कार्य अस्वीकार्य रहेको जनाएको हो।
प्रधानमन्त्री कार्यालयको चासोका आधारमा साइबर ब्युरोले पत्रकारहरूलाई बोलाएको भन्ने प्रहरी प्रवक्ताको स्पष्टीकरण र घटनामा आफ्नो कुनै संलग्नता नरहेको प्रधानमन्त्री कार्यालयको दाबीबीच विरोधाभास देखिएको एलायन्सको भनाइ छ। यस्तो विरोधाभासले सरकारको जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै, सरकारका अलोकतान्त्रिक तथा असान्दर्भिक गतिविधिबाट सार्वजनिक बहसलाई अन्यत्र मोड्न प्रधानमन्त्रीले भोलिपल्टै सामाजिक सञ्जालमार्फत अर्को विषय अघि सार्ने प्रवृत्तिले लोकतान्त्रिक शासनको मर्यादा कायम हुन नसक्ने एलायन्सले जनाएको छ।
स्वतन्त्र प्रेस लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै एलायन्सले सरकार आलोचनाबाट भाग्नुभन्दा आलोचना सुन्ने र उठेका प्रश्नको जवाफ दिने जिम्मेवारीबाट निर्देशित हुनुपर्नेमा जोड दिएको छ।
मिडिया एलायन्स नेपालले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको सूचनाको हक कुण्ठित गर्ने गतिविधिको कडा विरोध गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ।
साथै, आगामी दिनमा सञ्चारगृह र पत्रकारमाथि यस्ता हस्तक्षेपका घटना नदोहोरिने सुनिश्चितता गर्न पनि एलायन्सले सरकारको ध्यानाकर्षण गराएको छ।




कस्तो छ आजको राशिफल ?
दुर्भाग्यपूर्ण अराजक प्रवृत्ति
शान्तामा औपन्यासिकता खोजी गर्ने प्रसंग
सन्तानको भविष्यमा समयको लगानी गरौं
डा.उपाध्यायलाई भारतमा ‘अन्तर्राष्ट्रिय उत्कर्षश्री’ अवार्ड
भाष्यको राजनीति र सत्यको संकट