बारा । भाग्य लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बाराका अध्यक्ष रामानन्द प्रसाद यादवले पछिल्लो समय सहकारी संस्थाहरू गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको बताउनुभएको छ। उहाँले सहकारी क्षेत्रको अवस्था दिनप्रतिदिन कमजोर बन्दै गएको उल्लेख गर्दै यसको संरक्षण र प्रवर्द्धनका लागि राज्यले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ।
बाराको सदरमुकाम कलैयास्थित बारा उद्योग वाणिज्य संघको सभाहलमा शनिबार आयोजित संस्थाको २६औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो बताउनुभएको हो।
‘भाग्य लक्ष्मीको चाहना, बारा समृद्धिको कामना’ भन्ने मूल नाराका साथ आयोजित सभामा उहाँले सहकारी संस्थाहरू अहिले विभिन्न आर्थिक तथा व्यवस्थापकीय समस्याबाट प्रभावित भइरहेको बताउनुभयो। सहकारी क्षेत्रले अपेक्षाअनुसार काम गर्न सक्ने वातावरण नरहेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो।
अध्यक्ष यादवले वर्तमान सरकार पनि सहकारी क्षेत्रप्रति सकारात्मक नरहेको आरोप लगाउनुभयो। सहकारी संस्थाहरूलाई प्रोत्साहन गर्नुको सट्टा सरकारको व्यवहार प्रतिकूल देखिएको उहाँको भनाइ थियो।
सहकारी क्षेत्रलाई कमजोर बनाउनेभन्दा पनि विद्यमान समस्या पहिचान गरी समाधानका लागि सरकारले आवश्यक नीति, योजना र सहयोगको व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो।
सहकारी संस्थाहरू आर्थिक कारोबारमा मात्र सीमित नभई सदस्यहरूको बचत परिचालन, आर्थिक आत्मनिर्भरता अभिवृद्धि र स्थानीयस्तरमा आर्थिक गतिविधि विस्तार गर्ने महत्वपूर्ण माध्यम भएको अध्यक्ष यादवले उल्लेख गर्नुभयो। त्यसैले सहकारी क्षेत्रको संरक्षण गर्नु सबैको साझा दायित्व भएको उहाँको धारणा थियो।
संस्थाको आर्थिक अवस्था सुधार गर्न सञ्चालक समिति, कर्मचारी, सेयर सदस्य तथा सम्बन्धित निकायबीच आपसी सहकार्य र विश्वास आवश्यक रहेको उहाँले बताउनुभयो। साथै सदस्यहरूको बचत सुरक्षा, पारदर्शिता र संस्थागत सुशासनलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
लामो समयदेखि वित्तीय क्षेत्रमा क्रियाशील सहकारी संस्थाहरूले पछिल्लो समय विभिन्न चुनौती सामना गरिरहेको अवस्थामा वार्षिक साधारणसभामा सहकारी क्षेत्रका समस्या, सम्भावना र आगामी कार्यदिशाबारे समेत छलफल गरिएको थियो।
कार्यक्रममा संस्थाका पदाधिकारी, सञ्चालक समिति, सेयर सदस्य तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन चुमनबाबु केवटले गर्नुभएको थियो।







अनुगमन र भुक्तानीमा कर्मचारीको चासो
एआई, युवा उद्यमशीलता र रोजगारीमा
कांग्रेसको १५औँ महाधिवेशनमा मतदान जारी
दुई महिनाका लागि ७० अर्ब
दशैँमा घर फर्किने यात्रुको गोंगबु
चौध वर्षीया बालिकालाई जबरजस्ती करणी