जनकपुरधाम । काठमाडौंस्थित विभिन्न सञ्चारमाध्यमका कार्यालयमा प्रवेश गरी प्रहरीले सञ्चारकर्मीलाई नियन्त्रणमा लिएको घटनाको विरोधमा नेपाल पत्रकार महासंघ धनुषा शाखाले मौन प्रदर्शन गरेको छ।
शुक्रबार भएको उक्त घटनाको विरोधमा महासंघ धनुषा शाखाको कार्यालय अगाडि प्लेकार्डसहित पत्रकारहरूले सरकारविरुद्ध मौन प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सहभागी पत्रकारहरूले ‘प्रेस स्वतन्त्रता कुण्ठित गर्ने सरकारी रवैया बन्द गर’, ‘समाचार कक्षमा राज्य आतंक र पत्रकारमाथिको धरपकड बन्द गर’, ‘मिडियामाथिको धरपकड बन्द गर’, ‘पत्रकारलाई थुनेर के पाउँछौ सरकार ? सत्यको आवाज झन् हुन्छ हजार’ र ‘राज्य आतंक मुर्दावाद’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
महासंघ धनुषाका अध्यक्ष पुरण गुप्ताले सञ्चारमाध्यमका कार्यालयमै प्रवेश गरी पत्रकारमाथि गरिएको धरपकडको घोर भर्त्सना गर्नुभएको छ। उहाँले उक्त घटनालाई राज्य आतंकको संज्ञा दिँदै सरकारको व्यवहारप्रति आपत्ति जनाउनुभयो।
सरकारको प्रस्तुति र जारी विज्ञप्तिमा फरकफरक विवरण आउनुले नियोजित षड्यन्त्रमार्फत बौद्धिक पेसाकर्मीमाथि नियन्त्रण गर्न खोजिएको त होइन भन्ने प्रश्नसमेत उहाँले उठाउनुभयो।
लोकतन्त्रलाई संस्थागत गर्न पत्रकारमाथिको धरपकड र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप तत्काल बन्द हुनुपर्ने अध्यक्ष गुप्ताको भनाइ थियो। उहाँले पत्रकार तथा अन्य पेसाकर्मीलाई एकजुट भएर प्रेस स्वतन्त्रताको पक्षमा आवाज उठाउन आग्रह गर्नुभयो।
अध्यक्ष गुप्ताले शनिबार मौन प्रदर्शन गरिएको र आइतबारदेखि महासंघको केन्द्रीय निर्देशनअनुसार थप विरोधका कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो।







दुई दिन महाअष्टमी, आज पनि
दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका
दुर्गा पूजाकाे भागदौडमा परी मृत्यु