काठमाडौं । लगातारको वर्षाका कारण ललितपुरको महालक्ष्मी नगरपालिका–१ स्थित इमाडोल क्षेत्र जलमग्न भएको छ। उचित ढल निकासको व्यवस्था नहुँदा वर्षाको पानी बस्तीमा पस्दा सडक, घर तथा पसलहरू डुबानमा परेका छन्।
बस्तीमा पानी पसेपछि स्थानीय बासिन्दा तथा व्यवसायी प्रभावित भएका छन्। सडकमा पानी जम्दा आवतजावतमा समेत कठिनाइ भएको छ भने घर तथा पसलमा पानी पस्दा स्थानीयले सास्ती बेहोर्नुपरेको छ।
स्थानीयका अनुसार इमाडोल क्षेत्रमा हरेक वर्ष भारी वर्षा हुँदा डुबानको समस्या दोहोरिने गरेको छ। ढल निकासको उचित व्यवस्था नहुँदा सामान्यभन्दा बढी वर्षा हुनासाथ बस्तीमा पानी पस्ने गरेको उनीहरूको भनाइ छ।
वर्षेनि समस्या दोहोरिँदा पनि वडा कार्यालयले ढल व्यवस्थापनमा पर्याप्त चासो नदिएको स्थानीयले गुनासो गरेका छन्। तत्कालीन समस्या समाधानका लागि मात्र नभई डुबानको दीर्घकालीन समाधानका लागि प्रभावकारी योजना आवश्यक रहेको उनीहरूको माग छ।
बङ्गालको खाडीमा विकसित अर्नव चक्रवातको प्रभावका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। वर्षाका कारण उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातसमेत भएको छ।
स्थानीयले डुबानको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सम्बन्धित निकायसँग व्यवस्थित ढल निकास र पानीको सहज बहाव सुनिश्चित गर्न माग गरेका छन्।







दुर्गा पक्षको दोस्रो दिन :
कति छ आज विदेशी मुद्राको
प्राचार्य कुटपिटमा सङ्लग्न पक्राउ
आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती
सहरको स्वादका लागि छुट्छ हिमालको
कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता