काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिनुभएको छ।
अदालतको पक्राउ पुर्जीबिनै सरकारले नाटकीय ढंगले सञ्चारमाध्यममाथि हस्तक्षेप गरेको उहाँको आरोप छ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै थापाले राणा शासन, पञ्चायतकाल र निरंकुश राजतन्त्रका समयमा समेत सञ्चारमाध्यममाथि यस्तो व्यवहार नभएको दाबी गर्नुभयो।
‘यस्तो ज्यादती जहानियाँ राणा शासन, पञ्चायतकाल र निरंकुश राजतन्त्रको कालमा पनि भएको थिएन। राणा कालमा पनि प्रक्रिया पूरा गरेर गर्थे,’ उहाँले भन्नुभयो।
निरंकुश शासन व्यवस्थामा समेत प्रक्रिया पूरा गर्ने गरिएको उल्लेख गर्दै उहाँले जनमत प्राप्त लोकतान्त्रिक सरकारबाट सञ्चारमाध्यममाथि यस्तो व्यवहार हुनु विडम्बनापूर्ण भएको टिप्पणी गर्नुभयो।
थापाले प्रहरी हिरासतमा रहेका इनम सापकोटा प्रधानमन्त्री बालेन्द्र शाहको निर्वाचन क्षेत्र झापा–५ मा सर्वेक्षणका लागि परिचालित व्यक्ति रहेको दाबी गर्नुभयो। सापकोटा प्रधानमन्त्री शाहसँग सम्बन्धित व्यक्ति भएको संकेत गर्दै उहाँले भन्नुभयो, ‘इनम सापकोटा झापामा प्रधानमन्त्री बालेन शाहको निर्वाचन क्षेत्रमा सर्वेका लागि परिचालित भएको व्यक्ति भन्ने जानकारी तपाईंहरूको जानकारीमा छ कि छैन ?’
सापकोटाले न्यायाधीशलाई प्रभावमा पार्न सक्ने विषयमा प्रश्न उठाउँदै थापाले उहाँलाई प्रधानमन्त्री शाहसँग सम्बन्धित बिचौलियाको संज्ञासमेत दिनुभयो। ‘प्रधानमन्त्रीसँग सम्बन्ध नभएको व्यक्तिले न्यायाधीशलाई हप्काउन सक्छ ? सापकोटा बिचौलिया हुन् भने बालेनकै हुन्,’ उहाँले भन्नुभयो।
पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसहितको संलग्नता रहेको आरोप पनि थापाले लगाउनुभयो। पत्रकारले समाचार स्रोतको संरक्षण गर्न पाउने व्यवस्था संविधानमै स्पष्ट रहेको उल्लेख गर्दै उहाँले सञ्चारमाध्यम र पत्रकारमाथि भएको व्यवहारप्रति आपत्ति जनाउनुभयो।
थापाले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले वर्तमान संसद्लाई पाँच वर्षसम्म टिकाउन सक्नेमा समेत आशंका व्यक्त गर्नुभयो। ‘यो पार्लियामेन्ट पनि पाँच वर्ष टिक्ने देखिएन। त्यसैले आफ्नो छटपटी उहाँहरूले कहिले मिडियातिर, कहिले कता देखाउनुहुन्छ,’ उहाँले भन्नुभयो।
सरकार गठन भएको सात महिना बितिसक्दा पनि सरकारी सञ्चारमाध्यमलाई बेवास्ता गरिएको आरोप लगाउँदै थापाले प्रधानमन्त्री शाहको सञ्चारमाध्यमप्रतिको बुझाइप्रति प्रश्न उठाउनुभयो।
‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ उहाँले भन्नुभयो।
सञ्चारमाध्यममाथि गरिएको दुर्व्यवहारप्रति प्रधानमन्त्री शाहले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग पनि थापाले गर्नुभएको छ। सरकारको गतिविधिले लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि असर पर्ने उहाँको भनाइ छ।







दुर्गा पक्षको दोस्रो दिन :
कति छ आज विदेशी मुद्राको
प्राचार्य कुटपिटमा सङ्लग्न पक्राउ
आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती
सहरको स्वादका लागि छुट्छ हिमालको
कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता