हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकाले सहरलाई स्वच्छ, सुन्दर र व्यवस्थित बनाउने लक्ष्यसहित ‘शून्य फोहोर’ महाअभियान सञ्चालन गरिरहेको छ। तर, सहरको मुख्य बजार, उपमहानगरपालिका क्षेत्र र प्रमुख चोकमै सार्वजनिक डस्टबिन नहुँदा अभियानको प्रभावकारी कार्यान्वयनमाथि प्रश्न उठेको छ।
हेटौँडा उपमहानगरपालिकाले साउन २२ गते औपचारिक रूपमा ‘शून्य फोहोर’ महाअभियान घोषणा गरेको थियो। उपमहानगरपालिकाको १९औँ नगरसभाबाट स्वीकृत ‘जाऔँ हेटौँडा, रमाऔँ हेटौँडा’ नारासहित पर्यटन वर्ष–२०८३ मनाउने निर्णयको पहिलो चरणका रूपमा अभियान अघि बढाइएको हो।
हेटौँडालाई स्वच्छ, हरियाली र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। अभियानअन्तर्गत बजार क्षेत्रको सरसफाइ, घर तथा भवनको सौन्दर्यीकरण, झाडी व्यवस्थापन र सार्वजनिक स्थानको सफाइका काम भइरहेका छन्। तर, प्रदेश राजधानीको मुख्य बजार क्षेत्रमै सर्वसाधारणले प्रयोग गर्ने सार्वजनिक डस्टबिन नहुँदा अभियानको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ।
बजारमा किनमेल गर्न आउने नागरिक, पैदलयात्री तथा यात्रुले आफूसँग भएको चकलेटको खोल, पानीको बोतल, कागज र प्लास्टिकजन्य फोहोर कहाँ फाल्ने भन्ने समस्या भोगिरहेका छन्। मुख्य चोक र सडकमा फोहोर संकलन गर्ने व्यवस्था नहुँदा सामान्य फोहोरसमेत सडक तथा सार्वजनिक स्थानमा छरपस्ट देखिने गरेको छ।
उपमहानगरपालिका बनेपछि हेटौँडाका मुख्य बजार क्षेत्रमा डस्टबिन राखिएका थिए। तर, अहिले ती डस्टबिन देखिँदैनन्। सार्वजनिक डस्टबिनको अभावमा नागरिकलाई फोहोर व्यवस्थापन गर्न समस्या परेको छ भने जथाभावी फोहोर फाल्ने प्रवृत्तिले सहरको सरसफाइमा थप चुनौती सिर्जना गरेको छ।
शून्य फोहोर अभियान सञ्चालन भइरहँदा प्रदेश राजधानीको मुख्य बजारमै सार्वजनिक डस्टबिन नहुनु विरोधाभासपूर्ण भएको स्थानीयवासीको भनाइ छ। सहरलाई सफा बनाउने अभियानमा बजेट खर्च गर्नु र विभिन्न कार्यक्रम सञ्चालन गर्नु सकारात्मक भए पनि त्यसका लागि आवश्यक आधारभूत पूर्वाधारको व्यवस्था पनि उत्तिकै महत्त्वपूर्ण रहेको उनीहरूको तर्क छ।
सार्वजनिक चोक, बजार र सडकमा डस्टबिन राखेर नियमित रूपमा फोहोर संकलन गर्ने व्यवस्था मिलाउन स्थानीयवासीले माग गरेका छन्। सहरमा अव्यवस्थित संरचना, जीर्ण घर तथा सार्वजनिक क्षेत्रको व्यवस्थापन पनि चुनौतीका रूपमा रहेको उनीहरूको भनाइ छ। यस्ता समस्या समाधान नगरी शून्य फोहोरको लक्ष्य हासिल गर्न कठिन हुने स्थानीयको तर्क छ।
डस्टबिन राख्ने विषयमा छलफल भइरहेको छ : प्रमुख प्रशासकीय अधिकृत वली
हेटौँडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर वलीले बजार क्षेत्रमा डस्टबिन राख्नुपर्ने विषयमा उपमहानगरपालिका सकारात्मक रहेको बताउनुभएको छ।
उहाँका अनुसार डस्टबिन राख्ने विषयमा विभिन्न समस्या र सुझाव प्राप्त भएकाले सम्बन्धित पक्षसँग छलफल तथा समन्वय भइरहेको छ। स्थानीयस्तरबाट डस्टबिन राख्दा हुन सक्ने समस्याबारे पनि जानकारी प्राप्त भएपछि उपयुक्त विकल्प खोज्ने काम भइरहेको उहाँले बताउनुभयो।
सम्बन्धित पक्षसँग छलफल गरेर कहाँ र कसरी डस्टबिन राख्दा उपयुक्त हुन्छ भन्ने निष्कर्षमा पुगेपछि आवश्यक प्रक्रिया अघि बढाइने वलीको भनाइ छ।







विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा
डोको बुन्दै, सीप सिकाउँदै
कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक
‘लमजुङ दरबार’सँगै बाँचेको माया
बाढीले पुलमा क्षति पुर्याएपछि यातायात
कति छ आज विदेशी मुद्राको