काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो संस्करणमा सहभागी आठ टोलीले आफ्नो पहिलो खेल खेलिसक्दा केही विदेशी खेलाडी भने अझै नेपाल आइपुगेका छैनन् । त्यसमध्ये सबैभन्दा बढी प्रतीक्षा गरिएका दुई खेलाडी हुन्- अस्ट्रेलियाका डेभिड वार्नर र दक्षिण अफ्रिकाका डेभिड मिलर । आक्रामक ब्याटिङका लागि चर्चित यी दुवै खेलाडी एनपिएलका फरक टोलीमा अनुबन्ध हुनुभएको छ । वार्नर काठमान्डु गोर्खाज र मिलर कर्णाली याक्समा आबद्ध हुनुहुन्छ । दुवै टोलीले आफ्नो ब्याटिङलाई बलियो बनाउन यी अनुभवी खेलाडीलाई अनुबन्ध गरेका हुन् । तर, प्रतियोगिता सुरु भइसक्दा पनि उहाँहरू नेपाल आइपुग्नुभएको छैन ।
काठमान्डु गोर्खाजले सामाजिक सञ्जालमार्फत वार्नरले सोमबार कर्णाली याक्ससँग दोस्रो खेलबाट डेब्यु गर्ने जनाएको छ । पहिलो खेलमा काठमान्डुले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन । जनकपुर बोल्ट्सविरुद्धको खेलमा टोली ११५ रनमै समेटिएको थियो । यस्तो अवस्थामा वार्नरको आगमनले काठमान्डुको ब्याटिङमा ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ । अन्तर्राष्ट्रिय क्रिकेटमा लामो अनुभव बटुलेका वार्नर आक्रामक सुरुवात दिलाउन सक्ने ब्याटर हो । त्यसैले उहाँको आगमनलाई काठमान्डुले मात्र नभई एनपिएलका दर्शकले पनि प्रतीक्षा गरिरहेका छन् ।
यता, लगातार दुई खेल जितेर उत्कृष्ट सुरुवात गरेको कर्णाली याक्स पनि आफ्ना स्टार खेलाडी मिलरको प्रतीक्षामा छ । कर्णालीका निर्देशक गृहेन्द्र घिमिरेका अनुसार मिलर केही दिनभित्र नेपाल आइपुग्नु हुनेछ । उहाँका लागि टिकटसमेत काटिसकिएको उहाँले बताउनुभयो । उहाँका अनुसार मिलर कर्णालीका बाँकी सबै खेलमा उपलब्ध हुनुहुने छ । सुरुवाती दुई खेलमा जित निकालेर आत्मविश्वास बढाएको कर्णालीले मिलरको आगमनपछि ब्याटिङ थप बलियो हुने विश्वास लिएको छ । दक्षिण अफ्रिकाका अनुभवी ब्याटर मिलर विशेषगरी मध्यक्रममा आक्रामक ब्याटिङका लागि परिचित हुनुहुन्छ । दबाबपूर्ण अवस्थामा पनि ठूलो सट खेल्न सक्ने क्षमता भएका उहाँले कर्णालीको ब्याटिङमा नयाँ शक्ति थप्नेछन् ।
वार्नर र मिलर मात्र होइन, एनपिएलमा अनुबन्ध भएका अन्य केही विदेशी खेलाडी पनि अझै नेपाल आइपुगेका छैनन् । सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका वेस्ट इन्डिजका अलराउण्डर फेबियन एलेन, नामिबियाका रुबेन ट्रम्पलम्यान, जिम्बाब्वेका विल बोसिस्टो, क्यानडाका कलिम सना र श्रीलंकाका कमिल मिशारा पनि आउन बाँकी छ ।
त्यस्तै, चितवन राइनोजमा अनुबन्ध हुनुभएका जिम्बाब्वेका कप्तान सिकन्दर राजा र श्रीलंकाका कमिल मिशारा पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा व्यस्त हुनुहुन्छ । नामिबियाका बलर रुबेन ट्रम्पलम्यान अहिले आयरल्याण्डसँगको एकदिवसीय सिरिज खेलिरहनु भएको छ । उक्त सिरिजको अन्तिम खेल आइतबार हुँदै छ । त्यसपछि उहाँ एनपिएल खेल्न नेपाल आउने सम्भावना छ । चितवनमा आबद्ध सिकन्दर राजा भने अफगानिस्तानसँगको टी-२० अन्तर्राष्ट्रिय सिरिज खेलिरहनु भएको छ ।







दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका
दुर्गा पूजाकाे भागदौडमा परी मृत्यु
बडादशैँको रौनक गाउँघरतर्फ सोझिएसँगै काठमाडौं