काठमाडौं । विश्व क्रिकेटका चर्चित खेलाडीहरूको उपस्थितिले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) थप आकर्षक बनेको छ । आन्द्रे रसेल, एन्जेलो म्याथ्युज, मोइन अली, जिमी निशम, शेरफेन रदरफोर्डजस्ता अन्तर्राष्ट्रिय स्टार खेलाडी मैदानमा उत्रिँदा यसपटकको एनपिएलमा विदेशी खेलाडीको प्रदर्शनलाई लिएर पनि उत्तिकै चासो थियो । अझै डिभिड वार्नर र डेभिड मिलर आउनै बाँकी छ । तर, प्रतियोगिताका सुरुवाती खेलहरूले एउटा फरक दृश्य देखाएका छन् । मैदानमा स्टार विदेशी खेलाडी भए पनि खेलको नतिजा बदल्ने भूमिकामा भने नेपाली खेलाडीहरू हाबी देखिएका छन् ।
प्रतियोगिताका सुरुवाती ६ खेल सकिँदा सबै खेलको ‘प्लेअर अफ दि म्याच’ नेपाली खेलाडी बनेका छन् । विदेशी खेलाडीहरूको चमकभन्दा नेपाली खेलाडीको प्रदर्शन बढी निर्णायक बनेको छ । राष्ट्रिय टोलीका कप्तानदेखि राष्ट्रिय टोलीमा स्थान बनाउने प्रयासमा रहेका किशोर खेलाडीसम्मले आफ्नो क्षमता प्रमाणित गरिरहेका छन् ।
यसअघिका संस्करणमा सुरुवाती खेलहरूमा विदेशी खेलाडीको प्रभाव बढी देखिने गरेको थियो । दोस्रो संस्करणमा सुरुवाती आठ खेलमा एकजना नेपाली खेलाडीले मात्रै ‘प्लेअर अफ दि म्याच’ अवार्ड जितेका थिए । तर, तेस्रो संस्करणको सुरुवातमै त्यो प्रवृत्ति उल्टिएको छ । लगातार ६ खेलमा नेपाली खेलाडी नै उत्कृष्ट घोषित भएका छन् ।
सुरुवाती तीन खेलमा त बलरहरूले नै विदेशी ब्याटरलाई निरीह बनाइदिए । ९ कात्तिकमा भएको उद्घाटन खेलमा लुम्बिनी लायन्सका स्पिनर शेर मल्लले सुदूरपश्चिम रोयल्सविरुद्ध उत्कृष्ट बलिङ गर्नुभयो । चार ओभरमा ११ रन मात्रै खर्चेर तीन विकेट लिनुभएका उहाँले चर्चित विदेशी खेलाडी शेरफेन रदरफोर्ड र स्कट कुग्लेइनलाई समेत पवेलियन फर्काउनुभयो । लुम्बिनीले सात विकेटको जित निकाल्दा शेरको प्रदर्शन निर्णायक बन्यो । यद्यपि, सोही खेलमा किशोर महतोले चार विकेट लिनुभएको थियो । तर, शेर नै खेलको उत्कृष्ट खेलाडी चुनिनुभयो ।
त्यसको भोलिपल्ट विराटनगर किंग्स र चितवन राइनोजबीचको खेलमा कमलसिंह ऐरीले विदेशी स्टारहरूलाई आफ्नो बलिङको प्रभाव देखाउनुभयो । राष्ट्रिय टोलीबाट खेलिसक्नु भएका कमलले चार ओभरमा २६ रन खर्चेर चार विकेट लिनुभयो । उहाँको सिकार बनेका खेलाडीको सूचीमा वेस्ट इन्डिजका आक्रामक ब्याटर आन्द्रे रसेल र श्रीलंकाका पूर्वकप्तान एन्जेलो म्याथ्युजसमेत थिए । कमलको यही प्रदर्शनमा चितवनले आठ रनको रोमाञ्चक जित निकाल्यो ।
सोही दिन भएको अर्को खेलमा कर्णाली याक्सका युवा स्पिनर युनिश विक्रम ठकुरी चम्किनुभयो । पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सविरुद्ध चार ओभरमा २२ रन खर्चेर तीन विकेट लिनुभएका उहाँले जिमी निशम, कप्तान हर्मित सिंह र आदित्य महताको विकेट लिनुभयो । कर्णालीले १९ रनको जित निकाल्दा युनिश खेलका नायक बन्नुभयो ।
प्रतियोगिताका पहिलो तीन खेलमै नेपाली बलरहरूले विदेशी खेलाडीको प्रभावलाई रोक्दै आफ्नो क्षमता देखाए । अन्तर्राष्ट्रिय अनुभव र ख्याति भएका ब्याटरहरूविरुद्ध नेपाली बलरहरूले देखाएको आत्मविश्वासले प्रतियोगिताको सुरुवाती समीकरण नै बदलिदिएको छ ।
बलरहरूको दबदबाबीच ब्याटिङमा भने राष्ट्रिय टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले नेपाली खेलाडीको क्षमता देखाउनुभयो । ११ कात्तिकमा पोखरा एभेन्जर्सविरुद्धको खेलमा १४६ रनको लक्ष्य पछ्याउने क्रममा दीपेन्द्रले अविजित ५१ रन बनाउनुभयो । चौथो नम्बरमा ब्याटिङ गर्न आउनुभएका उहाँले ३६ बलमा चार चौका र दुई छक्का प्रहार गर्नुभयो । इशान पाण्डेसँग चौथो विकेटका लागि ७२ रनको महत्त्वपूर्ण साझेदारी गर्दै उहाँले सुदूरपश्चिम रोयल्सलाई जितको बाटोमा अघि बढाउनुभयो । सो खेलमा तीन विकेट लिएका युवा स्पिनर अनिल खरेलको प्रदर्शन पनि उत्कृष्ट थियो । तर, कप्तानी इनिङ्स खेल्नुभएका दीपेन्द्रले ‘प्लेअर अफ दि म्याच’ अवार्ड जित्नुभयो । जारी संस्करणमा अर्धशतक बनाउने उहाँ पहिलो नेपाली खेलाडीसमेत हो ।
नेपाली खेलाडीको प्रभाव त्यसपछि पनि रोकिएन । ट्यालेन्ट हन्टबाट छनोट भएर जनकपुर बोल्ट्समा आइकोनिक खेलाडीका रूपमा समावेश १७ वर्षीय राहुल यादवले एनपिएलमा आफ्नो सम्भावनाको बलियो संकेत दिनुभयो । डेब्यु खेलमै पहिलो बलमा विकेट लिनुभएका राहुलले दोस्रो खेलमा काठमान्डु गोर्खाजविरुद्ध सनसनीपूर्ण बलिङ गर्नुभयो । चार ओभरमा ३१ रन खर्चेर चार विकेट लिनुभएका उहाँले काठमान्डुको ब्याटिङ लाइनअप ध्वस्त पारिदिनुभयो । राहुलको सिकार हुनेमा ओपनर स्मित पटेल, साम हिजलेट, कप्तान करण केसी र आदिल आलम हुनुहुन्थ्यो ।
चार विकेट लिनुका साथै उत्कृष्ट क्याचसमेत लिनुभएका राहुलले जनकपुरलाई जित दिलाउन महत्त्वपूर्ण भूमिका खेल्नुभयो । उाँको प्रदर्शनले विदेशी स्टारले भरिएको काठमान्डुको टोलीलाई ११५ रनमै समेट्न मद्दत गर्यो । दुई खेलमै ६ विकेट लिनुभएका राहुल सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमा हुनुहुन्छ । अझ इंग्ल्याण्डका चर्चित अलराउण्डर मोइन अलीले राहुललाई नेपालको लसिथ मलिंगा बन्नसक्ने प्रतिक्रिया दिएपछि उहाँको प्रदर्शनले थप चर्चा पाएको छ । १७ वर्षकै उमेरमा ठूलो मञ्चमा आफूलाई प्रमाणित गर्ने राहुलको यात्राले नेपाली क्रिकेटमा नयाँ सम्भावनासमेत देखाएको छ ।
तर, अहिलेसम्मका खेलमध्ये सबैभन्दा अविस्मरणीय प्रदर्शन भने कर्णाली याक्सका कप्तान सोमपाल कामीको रह्यो । विराटनगर किंग्सविरुद्ध सोमपालले बल र ब्याट दुवैबाट उत्कृष्ट प्रदर्शन गर्दै कर्णालीलाई लगातार दोस्रो जित दिलाउनुभयो । बलिङमा चार विकेट लिनुभएका उहाँले ब्याटिङमा अविजित ६२ रन बनाउनुभयो । एनपिएलमा उहाँको यो पहिलो अर्धशतक थियो ।
सुरुवाती ६ खेलको नतिजाले एनपिएलमा विदेशी खेलाडीको आकर्षण र नेपाली खेलाडीको क्षमताबीचको दूरीबारे नयाँ बहस जन्माएको छ । विदेशी खेलाडीको अनुभव, अन्तर्राष्ट्रिय पहिचान र चर्चाले प्रतियोगितालाई उचाइ दिने भए पनि मैदानमा प्रदर्शन गर्ने अवसर पाउँदा नेपाली खेलाडी पनि कुनै अर्थमा कमजोर छैनन् भन्ने सन्देश यी खेलहरूले दिएका छन् ।






न्यायाधीश बम हत्याका दोषी बाबु
बाढी प्रभावित बालबालिकाको संरक्षणका लागि
आजको राशिफल : कुन राशिलाई
बडादशैँको छैटौं दिन आज कात्यायनी
मूल्य वृद्धिले ग्राहकको बजेटमा दबाब
बजारमा रौनक, व्यापारमा मन्दी