काठमाडौं । काठमाडौं महानगरपालिकाले आयोजना गरेको ‘काठमाडौं फिल्म फेस्टिभल’ सहभागी कलाकारहरूले आफूले सहभागिता जनाएका अन्य फेस्टिभलभन्दा मौलिक र नौलो भएको प्रतिक्रिया दिएका छन् । शुक्रबार वसन्तपुरमा सम्पदा पदयात्रा तथा खुला सांस्कृतिक प्रस्तुतिसहित सुरु भएको फेस्टिभलमा डबली, चोक र मन्दिरका सिँढीमा परम्परागत नृत्य, गायन तथा वादन प्रस्तुत गरिएको थियो । स्वदेशी तथा विदेशी कलाकार, कूटनीतिक नियोगका प्रमुख र स्थानीय तहका जनप्रतिनिधिहरूले सांस्कृतिक प्रस्तुतिको अवलोकन गर्नुका साथै नाचगानमा समेत सहभागिता जनाएका थिए ।
फेस्टिभलको उद्घाटनका अवसरमा सहभागी कलाकारहरूले काठमाडौंको मौलिक कला, संस्कृति र सम्पदालाई चलचित्रसँग जोड्ने प्रयास प्रशंसनीय रहेको बताए । भारतीय चलचित्र उद्योगमा पाँच दशकदेखि आबद्ध विशिष्ट प्राध्यापक मार्को मुलरले आफू सहभागी भएका फेस्टिभलमध्ये काठमाडौं फिल्म फेस्टिभल मौलिक र सांस्कृतिक स्वादले भरिपूर्ण रहेको प्रतिक्रिया दिनुभयो ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले चलचित्र मनोरञ्जनको माध्यममात्र नभई समाजको सोच र दृष्टिकोण निर्माण गर्ने शक्तिशाली माध्यम भएको बताउनुभयो । चलचित्र क्षेत्रमार्फत काठमाडौंका टोल, गल्ली र बस्तीलाई अन्तर्राष्ट्रिय जगत्सँग जोड्ने महानगरको लक्ष्य रहेको उहाँको भनाइ थियो । उहाँले अग्ला भवन र चिल्ला सडकले मात्र समृद्धि नआउने उल्लेख गर्दै स्थानीय भाषा, कला, साहित्य र सिर्जनाको संरक्षण तथा पुस्तान्तरणलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले फेस्टिभलले काठमाडौंलाई सांस्कृतिक शहरका रूपमा स्थापित गर्दै समृद्ध महानगर निर्माण गर्ने अभियानमा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
उद्घाटनका क्रममा वसन्तपुर, कुमारी घर, नारायण मन्दिर, माजु देगः लगायतका सम्पदा क्षेत्रमा गणेश चर्या, अष्टमातृका नृत्य, परम्परागत नृत्य तथा सांस्कृतिक अर्केष्ट्रा प्रस्तुत गरिएको थियो । कार्यक्रममा विभिन्न सांस्कृतिक समूहसँगै कुटुम्ब, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले पनि प्रस्तुति दिएका थिए ।
कार्यक्रमको अन्त्यमा मुनासा नेपालले सांस्कृतिक प्रस्तुति तथा आर्मय नकर्मीको निर्देशनमा ‘हसाना (सन्देश)’ नाटक प्रदर्शन गरिएको थियो । आयोजकले चलचित्रलाई रचनात्मक उद्योगका रूपमा विकास गर्दै काठमाडौंको कला, संस्कृति र सम्पदालाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले फेस्टिभल आयोजना गरेको जनाएको छ ।
विभिन्न देशका फिल्मकर्मी, निर्देशक, निर्माता, कलाकार तथा फिल्म क्षेत्रका सरोकारवालाहरूको सहभागितामा फेस्टिभल आयोजना भइरहेको छ । शनिबार फेस्टिभलमा नेपाली पानोरामा, अन्तर्राष्ट्रिय पानोरामा तथा सर्ट फिल्म भिडियो च्यालेञ्जमार्फत प्राप्त चलचित्रहरू प्रदर्शन गरिएका छन् । फिल्म प्रदर्शनसँगै प्यानल डिस्कसन, मास्टर क्लास, रेड कार्पेटलगायत कार्यक्रम फेस्टिभलका आकर्षण छन् ।







आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका
दुर्गा पूजाकाे भागदौडमा परी मृत्यु
बडादशैँको रौनक गाउँघरतर्फ सोझिएसँगै काठमाडौं
शहरले खोस्न नसकेको खुशी :