काठमाडौं । सारथि इक्विटी फण्ड लिमिटेडको काठमाडौंमा सम्पन्न दोस्रो वार्षिक साधारणसभाले शेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ । साथै सभाले स्वतन्त्र सञ्चालकमा भवानी घिमिरे (थापा) को नियुक्ति अनुमोदन गरेको छ भने आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने निर्णयसमेत गरेको छ । कम्पनीका अध्यक्ष कृष्णप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न सभामा कम्पनीको वित्तीय अवस्था, लगानी व्यवस्थापन र आगामी व्यावसायिक रणनीतिबारे विस्तृत छलफल भएको थियो ।
कार्यक्रममा शेयरधनीले उठाएका विभिन्न जिज्ञासाको जवाफ कम्पनीका प्रबन्ध सञ्चालक कोषराज सुवेदीले दिनुभएको थियो भने सभाको सञ्चालन कम्पनी सचिव अस्मिता गौतमले गर्नुभएको थियो । सारथी इक्विटी फण्डले आगामी दिनमा लगानीका नयाँ अवसर पहिचान गरी सम्भावनायुक्त परियोजनामा पुँजी परिचालन गर्ने लक्ष्य लिएको छ । प्रभावकारी जोखिम व्यवस्थापन, पोर्टफोलियो विविधीकरण र दीर्घकालीन मूल्य अभिवृद्धिलाई प्राथमिकता दिँदै शेयरधनीलाई उच्च प्रतिफल दिलाउनेतर्फ कम्पनी केन्द्रित रहेको जनाएको छ ।
त्यसैगरी, कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटलसम्बन्धी इजाजतपत्र लिई लगानीको दायरा विस्तार गर्ने योजना अघि सारेको छ । नवीन प्रविधिमा आधारित व्यवसाय, नवप्रवर्तनशील उद्यम र दिगो विकासका सम्भावना भएका क्षेत्रमा लगानी गरी मुलुकको लगानी बजारमा नयाँ अवसर सिर्जना गर्ने कम्पनीको रणनीति छ ।







दुर्गा पक्षको दोस्रो दिन :
कति छ आज विदेशी मुद्राको
प्राचार्य कुटपिटमा सङ्लग्न पक्राउ
आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती
सहरको स्वादका लागि छुट्छ हिमालको
कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता