काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले न्यायालय क्षेत्रमा देखिएका विकृति, विसंगति र विवाद समाधानका लागि संसद्बाटै आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले न्यायालय क्षेत्रमा देखिएका विकृति, विसंगति र विवाद समाधानका लागि संसद्बाटै आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।
सचिवालयको बैठकका निर्णयहरूबारे जानकारी दिँदै पार्टी प्रवक्ता जगदीश खरेलले न्याय क्षेत्रको समग्र पुनःसंरचनाका लागि संसदीय दललाई आवश्यक निर्देशन दिइसकिएको जानकारी दिनुभएको छ । प्रवक्ता खरेलले भन्नुभयो, ‘शक्ति पृथकीकरणको सिद्धान्तअनुसार अदालत र सरकारबाट मात्र नभई संवैधानिक बाटो संसद् भएकाले संसद्बाटै न्याय निरूपण र पुनःसंरचनाको विषय उठाइन्छ । प्रक्रिया संसदीय दलमार्फत संसद्मा प्रवेश गरेपछि मात्रै महाअभियोगबारे टुंगो लाग्छ ।’
यसअघि पार्टी सभापति रवि लामिछानेले विवादमा आएका न्यायाधीशहरूमाथि कारबाही प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयमा पार्टीका केही सांसदहरूसँग छलफल गर्नुभएको हो । सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामा रहेका इनम सापकोटासँग सम्पर्क गरेको भनेर विवादमा तानिएका न्यायाधीशहरूलाई कसरी कारबाही गर्ने भन्ने विषयमा रविले शुक्रबार बूढानीलकण्ठस्थित आफ्नै निवासमा बोलाएर छलफल गर्नुभएको थियो । सभापति लामिछानेले महाभियोग लगाउन सकिने आधारबारे छलफलमा सहभागी सांसदहरूलाई सोधेको जानकारी दिँदै सहभागी एक सांसदले भन्नुभयो, ‘महाअभियोग लगाउन पर्याप्त आधार र प्रमाण छ कि छैन ? कति बलियो छ ? छ भने जाऔँ, होइन भने पूर्वाग्रहको ढंगबाट कसैविरुद्ध जान आवश्यक छैन ।’ सो क्रममा सांसदहरू राजीव खत्री, सुलभ खरेल, यज्ञमणि न्यौपाने, मधु चौलागाईं लगायतले न्यायाधीशहरूमाथि महाभियोग लगाउनुपर्ने राय दिएका छन् । सांसदहरूसँगको छलफलमा सहभागी एक सांसदले सर्वोच्च अदालतका विवादित न्यायाधीशमाथि महाभियोगसम्म लगाउने विषयमा नै छलफल केन्द्रित रहेको बताएका छन् । पछिल्लो संवादको निष्कर्षअनुसार सभापति लामिछानेले शनिबार सचिवालयको बैठक आह्वान गर्नुभएको हो ।
न्यायाधीशमाथि महाभियोग लगाउन चर्को दबाब
रास्वपाका सांसद मधुकुमार चौलागाईंले बिचौलियासँग उठबस गर्ने न्यायाधीशउपर महाभियोग लगाउन चर्को दबाब रहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै सांसद चौलागार्इँले भन्नुभयो, ‘अहिले जुन विवाद आएको छ । यो बिचौलियाको विषयमा माननीय न्यायाधीशहरूको उठबसको कुरा । यो उठबसको कुरामा हामीलाई अहिले चर्को दबाब के छ भने तत्काल संसदीय समिति गठन गर्नुपर्छ ।
महाभियोग सिफारिस समिति गठन गर्नुपर्छ भन्ने दबाब छ ।’ विवादास्पद बिचौलिया इनम सापकोटासँग सर्वोच्च अदालतका न्यायाधीशहरूको सम्बन्ध र म्यासेज आदानप्रदान भएको विषय बाहिरिएपछि सार्वजनिक रूपमै प्रश्न उठेको छ । इनमको मोबाइल तथा विद्युतीय उपकरणबाट प्रधानन्यायाधीश, न्यायाधीशहरू तथा प्रहरीका उच्च अधिकारीहरूसँगको संवाद र कारोबारका विवरणहरू पनि सार्वजनिक भएका छन् ।
धार्मिक भ्रमणबाट फर्केपछि निरन्तर आन्तरिक संवादमा
दुईतिहाइ बहुमत प्राप्त बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएदेखि नै एकपछि अर्को विवादमा पर्दै आएको छ । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनबाट झण्डै दुईतिहाइ बहुमत पाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बालेन्द्र शाह नेतृत्वमा गत चैत १३ गते सरकार गठन गरेको थियो । एकपछि अर्को विवादमा पर्दै आएको शाह नेतृत्वको सरकार पछिल्लो पटक पत्रकार धरपकडको घटनाले आलोचित हुन पुगेको छ ।
न्यायाधीश र बिचौलिया इनम सापकोटाको सम्बन्ध, प्रहरी प्रमुखको राजीनामाबारे सार्वजनिक चर्चा र पार्टीका सांसद खगेन्द्र सुनारको विवादित अडियो प्रकरणले मुलुकको राजनीति तरंगित अवस्थामा छ । मुलुकको पछिल्लो विकसित राजनीतिक घटनाक्रमबीच सत्तारूढ रास्वपाका सभापति लामिछानेले भारतको धार्मिक भ्रमणबाट फर्किएलगत्तै आन्तरिक राजनीतिक सम्वादलाई तीव्रता दिनुभएको छ ।
भारतबाट फर्किएलगत्तै लामिछानेले गत बुधबार बिहान प्रधानमन्त्री बालेन्द्र शाहसँग झण्डै पाँच घण्टा संवाद गर्नुभएको थियो । सभापति लामिछानेलाई भेट्न प्रधानमन्त्री शाह उहाँकै निवास बूढानीलकण्ठ पुग्नुभएको थियो । दुई नेताबीच समसायिक विषयमा छलफल भएको भनिए पनि आधिकारिक विषय औपचारिक रूपमा दुवै पक्षले सार्वजनिक गरेका छैनन् ।
रास्वपाका नेताहरूका अनुसार सभापति लामिछाने र प्रधानमन्त्री शाहबीच न्यायालयमा विकसित घटनाक्रम, संसद्मा दर्ता भएको निजामती विधेयक फिर्ता लिएर अध्यादेश ल्याउने तयारी लगायतमा संवाद भएको थियो । प्रधानमन्त्री शाहलाई भेटेकै दिन सभापति लामिछानेले पार्टी उपसभापति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग संवाद गर्नुभएको थियो । लामिछाने र वाग्लेबीच झण्डै दुई घण्टा समसामयिक विषयमा संवाद भएको अर्थमन्त्रीको सचिवालले बताएको छ । सभापति लामिछानेले बिहीबार बिहान उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग झण्डै साढे तीन घण्टा कुराकानी गर्नुभएको बताइएको छ । कानुनमन्त्री गौतमसँगको भेटमा सरकारले केही अध्यादेश ल्याउन तयारी गरेको र त्यसको प्रभावका साथै कानुनी पक्षबारे समेत छलफल भएको बताइएको छ । बिहीबार नै सभापति लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग पनि संवाद गर्नुभएको थियो । विवादित व्यक्ति इनम सापकोटासँग न्यायाधीशको संवादले राजनीतिक घटनाक्रम तरंगित भइरहेको बेलामा सभापति लामिछानेले शुक्रबार कानुनी पृष्ठभूमिका आफ्नै पार्टीका सांसदहरूसँग पनि छलफल गर्नुभएको हो ।
संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठूलो कोही छैन : सभापति लामिछाने
रास्वपा सभापति रवि लामिछानेले संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठूलो कोही नभएको स्पष्ट पार्नुभएको छ । शनिबार बसेको सचिवालय बैठकपछि सभापति लामिछानेले संविधान र लोकतन्त्रभन्दा बाहिरको बाटो नजानका लागि सरकारलाई पार्टीले निर्देशन दिएको जानकारी दिँदै भन्नुभयो, ‘अहिले बैठक बसेर स्पष्टसँग भनेका छौँ, एउटा कुरा के स्पष्ट पार्छु भने संविधानभन्दा माथि र डेमोक्रेसीभन्दा ठूलो केही छैन, कोही छैन । रास्वपा यसमा स्पष्ट छ, रवि लामिछाने यो कुरामा स्पष्ट छ । यसमा कहिल्यै पनि द्विविधा गरिरहनु पर्दैन । संविधानभन्दा माथि कोही पनि छैन, यसमा आँच आउने कुनै पनि क्रियाकलाप जो–कोहीले पनि गरेको छ भने सजायको भागीदार हुनुपर्ने छ, त्यसले जिम्मेवारी लिनुपर्ने छ ।’
प्रधानमन्त्री शाहको जोड विषयान्तरमै
मुलुकको न्यायपालिका, राजनीतिक, संसद् र सञ्चार क्षेत्र तरंगित भइरहेको बेला प्रधानमन्त्री बालेन्द्र शाहले भने विषयान्तरमै जोड दिनुभएको छ । हुन त यसअघिका सुकुम्बासी बस्ती, सञ्चार माध्यमका मुख्य गेटमा गाडी पार्किङ, गृहमन्त्री सुधन गुरुङलगायत प्रकरणको बहस उत्कर्षमा पुगेको बेला प्रधानमन्त्री शाह विषयलाई अन्तै मोड्न सफल हुनुभएको थियो । अहिले पनि सांसद खगेन्द्र सुनार, न्यायपालिका प्रकरण र सञ्चारगृहमा धरपकडको विषयले सिंगो मुलुक तरंगित भइरहेको बेला प्रधानमन्त्री शाहले यसअघि जस्तै पुनः विषयान्तरको अस्त्र फाल्नुभएको छ ।
प्रधानमन्त्री शाहले वर्तमान जल्दाबल्दा विषयलाई बेवास्ता गरेर नेपालमा गेम डेभलपमेन्ट तथा सूचना प्रविधि (आइटी) उद्योगलाई प्रोत्साहन गर्दै नेपाली कम्पनीलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न र ग्लोबल युनिकर्न कम्पनीका रूपमा विकास गर्न सहज वातावरण निर्माण गरिने भन्दै विषयान्तरको अस्त्र फाल्नुभएको हो । शनिबार सामाजिक सञ्जालमार्फत उहाँले यसका लागि आवश्यक नियम, वातावरण सबै पुनरावलोकन गरिने उल्लेख गर्नुभएको छ । शाहले नेपालमा गेमिङ एप बनाएर संसारभर नाम कमाएका कम्पनीहरू पनि भएको उल्लेख गर्दै संसारकै सबैभन्दा चर्चित लुडो (करिब २०० मिलियन डाउनलोड) र कलब्रेक गेम (१५० मिलियनभन्दा बढी पटक डाउनलोड) नेपालीले नै बनाएको दाबी गर्नुभएको छ । साथै सयौँ युवाहरू गेम एप बनाउन तल्लीन रहेको पनि उहाँको भनाइ छ ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘हामीले उहाँहरूलाई बोलाएर समस्याहरू पनि बुझ्यौँ र यो गेम डेभलपमेन्ट क्षेत्रलाई सजिलो बनाउन र उद्योगका रूपमा अघि बढाउने विषयमा पनि छलफल गर्यौँ र अब उहाँहरूको समस्या समाधान गर्ने गृहकार्य अघि बढाइएको छ ।’ आइटीसम्बन्धी ‘प्रडक्ट’ र निर्यात पनि अहिले निकै सकारात्मक अवस्थामा रहेको र हाम्रो दक्षता, कम्पनीहरूले सहजै कमाउने, पुनःलगानी गर्ने विषयलाई ध्यानमा राख्दै करमा सहजता र नीतिगत सुधार, अन्तर्राष्ट्रिय आम्दानीसम्बन्धी नियमहरू अझै सहज बनाउने उहाँको भनाइ छ । यसका साथै गेम जाम, स्टार्टअप इभेन्ट, सूचना प्रविधि क्षेत्र, राष्ट्र बैंक, अर्थ मन्त्रालयसँग नियमित अन्तरक्रिया, ह्याकाथोन र समग्र आइटी प्रडक्ट र गेमिङ उद्योगलाई फाइदा पुग्ने गरी इकोसिस्टममा लगानी गरिने प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ ।







अनुगमन र भुक्तानीमा कर्मचारीको चासो
एआई, युवा उद्यमशीलता र रोजगारीमा
कांग्रेसको १५औँ महाधिवेशनमा मतदान जारी
दुई महिनाका लागि ७० अर्ब
दशैँमा घर फर्किने यात्रुको गोंगबु
चौध वर्षीया बालिकालाई जबरजस्ती करणी