काठमाडौं । कात्तिक १३ गते शुक्रबारको दिन अनामनगरस्थित मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई समाचार कक्षबाटै सादा पोसाकका प्रहरीले नियन्त्रणमा लिए । त्यसैगरी, नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई पनि कार्यकक्षबाटै उठाइयो भने अन्य केही सञ्चारकर्मी र सम्पादकहरूमाथि पनि नजर राखियो । समाचार कक्षमै प्रहरी प्रवेश गरेर पत्रकारलाई पक्राउ गर्ने र स्रोत खुलाउन दबाब दिने यो घटनाले नेपाली प्रेस जगत्मा गम्भीर त्रास र तरंग पैदा गरेको छ । लोकतान्त्रिक व्यवस्थामा सञ्चार माध्यममाथि भएको यो हस्तक्षेपले राज्यको आचरण र प्रेस स्वतन्त्रतामाथि ठूलो प्रश्नचिह्न खडा गरेको छ ।
शुक्रबारको घटनालगत्तै सरकारको भूमिका विरोधाभासपूर्ण देखिएको छ । प्रधानमन्त्रीको सचिवालयले विज्ञप्ति जारी गर्दै यस घटनामा प्रधानमन्त्री कार्यालयको कुनै संलग्नता र पूर्वजानकारी नरहेको दाबी गरेको थियो । तर, यसको ठीकविपरीत, नेपाल प्रहरीले मध्यराति जारी गरेको विज्ञप्तिमा भने प्रधानमन्त्री कार्यालयबाट भएको चासोका आधारमा केही सञ्चारकर्मीलाई सामान्य जानकारीका लागि बोलाइएको उल्लेख गर्यो । प्रहरीले यसलाई आफ्नो नियमित कार्यसम्पादनको हिस्सा बताएको छ भने प्रधानमन्त्रीको सचिवालय यसबाट पन्छिन खोजेको छ । यी दुई निकायका परस्परविरोधी अभिव्यक्तिले घटनामा सरकारी नियत र भूमिकालाई थप शंकास्पद बनाएको छ ।
पछिल्लो समय चर्चामा रहेको इनम सापकोटा प्रकरणसँग जोडिएका समाचारहरू बाहिर आएपछि यो धरपकड भएको हो । विभिन्न सञ्चार माध्यमले इनम सापकोटाको देशका प्रभावशाली राजनीतिक नेता, कर्मचारी, व्यापारी तथा न्यायिक क्षेत्रका व्यक्तिहरूसँगको सम्बन्धबारे समाचार प्रकाशित गरेका थिए । उनीमाथि विभिन्न शक्ति केन्द्रहरूसँगको पहुँचले राज्यका निर्णय वा आर्थिक कारोबारमा प्रभाव पारेको आरोप लागेको छ । सार्वजनिक पदमा रहेका व्यक्तिहरूसँगको उनको सम्बन्धबारे सञ्चार माध्यमले खोजविन गरिरहेका थिए । तर, ती प्रश्नहरूको तथ्यगत जवाफ दिनुको सट्टा समाचार प्रकाशन गर्ने पत्रकारमाथि नै धरपकड हुनुले सरकार साँच्चै प्रश्नसँग डराएको हो भन्ने आशंकालाई बल पुर्याएको छ ।
समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिइएको र धरपकड गरिएको घटनाप्रति नेपालका मिडिया क्षेत्रका छाता संस्था, सञ्चारकर्मी तथा प्रमुख राजनीतिक दलहरूले गम्भीर आपत्ति प्रकट गरेका छन् । सञ्चारगृहभित्रै प्रवेश गरेर पत्रकारलाई त्रसित बनाउने र प्रेस स्वतन्त्रता संकुचित गर्ने कार्यले लोकतन्त्र र कानुनको शासनमाथि नै गम्भीर प्रश्न उठाएको उनीहरूको भनाइ छ ।
मिडिया अलायन्सको आपत्ति र छानविनको माग
मिडिया सञ्चालकहरूको संस्था ‘मिडिया अलाइन्सले विज्ञप्ति जारी गर्दै समाचार कक्षमा प्रहरी परिचालन गरी पत्रकारहरूमाथि गरिएको धरपकडप्रति कडा आपत्ति व्यक्त गरेको छ । प्रधानमन्त्री कार्यालयको चासोका आधारमा साइबर ब्युरोले पत्रकारलाई बोलाएको प्रहरी प्रवक्ताको स्पष्टीकरण र घटनामा आफ्नो कुनै संलग्नता नरहेको प्रधानमन्त्री कार्यालयको दाबीबीच देखिएको विरोधाभासले सरकारको जवाफदेहितामाथि प्रश्न उठाएको मिडिया अलायन्सको ठहर छ । ‘सरकार आलोचनाबाट भाग्ने होइन, आलोचनालाई सुन्ने र प्रश्नको जवाफ दिने जिम्मेवारीबाट निर्देशित हुनुपर्छ’, अलायन्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘घटनाको निष्पक्ष छानविन गरी दोषीमाथि कारबाही गर्न र आगामी दिनमा यस्ता हस्तक्षेप नदोहोरिने सुनिश्चितता गर्न हामी सरकारसँग माग गर्दछौँ ।’
पत्रकारहरूमाथि धरपकड नगर्न सरकारलाई रास्वपाको निर्देशन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारहरूमाथि धरपकड नगर्न सरकारलाई निर्देशन दिएको छ । पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा शनिबार बसेको सचिवालय बैठकले समाचार लेखेकै आधारमा पत्रकार, सञ्चारकर्मी, प्रकाशक तथा प्रसारकमा धरपकड नगर्न निर्देशन दिएको हो । ‘राष्ट्रिय स्वतन्त्र पार्टी संविधानले दिएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अभिव्यक्ति स्वतन्त्रता र विधिको शासनको सम्मान गर्दछ, मानव अधिकारको शासनको सम्मान गर्दछ’, बैठकपछि पार्टीका प्रवक्ता जगदीश खरेलले भन्नुभयो, ‘प्रेस स्वतन्त्रताका सवालमा रास्वपा कसैसँग पनि सम्झौता गर्दैन ।’ यस्तै, पत्रकार धरपडकको घटनाबारे छानविन गरेर दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको उहाँले बताउनुभयो । बैठकपछि रास्वपा सभापति रवि लामिछानेले संविधान र लोकतन्त्रभन्दा माथि आच आउने क्रियाकलाप गर्नेलाई कारबाही हुने बताउनुभयो । ‘संविधानभन्दा माथि र डेमोक्रेसीभन्दा ठूलो केही छैन, कोही छैन, रास्वपा यसमा स्पष्ट छ, यसमा द्विविधा गर्नुपर्दैन’, उहाँले भन्नुभयो, ‘यसमा आच आउने कुनै पनि क्रियाकलाप जो कोहीले पनि गरेको छ भने, त्यो सजायको भागीदार हुनुपर्छ, त्यसले जिम्मेवारी लिनुपर्छ ।’ शनिबार बसेको सचिवालय बैठकमा अधिकांश सदस्यहरूले पनि सञ्चार क्षेत्रमा भएको प्रहरी हस्तक्षेपप्रति आपत्ति जनाएका थिए । प्रधानमन्त्री कार्यालय र गृहमन्त्रीबाट आएका अभिव्यक्तिहरू विरोधाभासपूर्ण रहेको भन्दै रास्वपाका नेताहरूले घटनाको सत्यतथ्य छानविन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन् । सो बैठकमा गृहमन्त्री सुधन गुरुङलाई बोलाएर घटनाबारे ब्रिफिङ लिनुपर्ने मागसमेत उठेको बताइएको छ ।
शाही कालको निरंकुशताको झल्को : कांग्रेस
यसैगरी, नेपाली कांग्रेसले विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिने र जनदबाबपछि मात्रै छाड्ने शैलीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेसका अनुसार समाचार कक्षमै सुरक्षाकर्मी पठाएर पत्रकार पक्राउ गर्ने प्रवृत्तिले शाही कालको निरंकुशताको झल्को दिएको छ । पत्रकार वा सञ्चार माध्यमबाट कुनै त्रुटि भएको भए त्यसको निरूपणका लागि प्रेस काउन्सिललगायत स्थापित कानुनी तथा संस्थागत निकाय विद्यमान रहेको उल्लेख गर्दै कांग्रेसले ती प्रक्रियालाई बेवास्ता गरेर सोझै प्रहरी परिचालन गर्नु ‘कानुनको शासन’ नभई ‘कानुनद्वारा शासन’ गर्ने मनसाय भएको टिप्पणी गरेको छ । यसैबीच, पत्रकार पक्राउ परेको घटना, पार्टीको आन्तरिक कार्यविभाजन र पूर्वसभापति शेरबहादुर देउवा पक्षले गर्न लागेको भनिएको समानान्तर महाधिवेशनका विषयमा छलफल गर्न कांग्रेसले आइतबारका लागि आकस्मिक केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । पक्राउपछि जनदबाबका कारण रिहा भएका पत्रकारहरूले आफूहरूलाई समाचारको विषयलाई लिएर केरकार गरिएको र त्रसित बनाउन खोजिएको बताएका छन् । विगत १० वर्षदेखि संसदीय र राजनीतिक मामिलामा पत्रकारिता गर्दै आएका जयसिंह महरा लगायतका पत्रकारहरूमाथि भएको यो धरपकडलाई लिएर आमपत्रकार वृत्तमा त्रास र आक्रोश व्याप्त छ ।
सवर्त्र विरोध
समाचारको स्रोत खुलाउन दबाब दिनु संविधानले सुनिश्चित गरेको अधिकार र पत्रकारिताको आधारभूत मान्यताविपरीत रहेको विश्लेषकको टिप्पणी छ । युवा अध्येता नवीन तिवारीले पनि कानुनी प्रक्रियाविना कसैको सनकका भरमा पत्रकार पक्राउ गरिनु लोकतान्त्रिक समाजका लागि अवाञ्छित भएको बताउनुभयो । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पक्राउ परेका पत्रकारहरू रिहा हुँदैमा घटना नटुंगिने बताउँदै यसको निर्देशन कसले दियो र जिम्मेवारी कसले लिने भनी सरकारसँग जवाफ माग गर्नुभएको छ । उहाँले प्रधानमन्त्री कार्यालय स्पष्टीकरण दिएर पन्छिन नमिल्ने प्रष्ट पार्नुभएको छ । त्यस्तै, नेपाल कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले यसलाई लोकतान्त्रिक सरकारद्वारा थोपरिएको भद्दा निरंकुशताको संज्ञा दिनुभयो । नेकपा एमालेका नेता तथा पूर्वसांसद सूर्य थापाले राणा शासन र पञ्चायत कालमा समेत सञ्चार माध्यममाथि यस्तो ज्यादती नभएको बताउँदै प्रधानमन्त्रीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गर्नुभयो । ‘जेन-जी’ अभियन्ता माजिद अन्सारीले पनि सरकारलाई प्रश्न गर्दै पत्रकार पक्राउ गर्ने आदेश कसको थियो ? भनी स्पष्ट पार्न माग गर्नुभयो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले वर्तमान सरकारले आफ्ना गलत कदमहरूको ढकाछोप गर्न सञ्चार जगतमाथि प्रहार गरेको आरोप लगाउनुभएको छ । ‘कानुनी राज्य कसैको सनकले राज्य चल्दैन, बालेनजी सनकी तानाशाह बन्न खोजेको हो ?, त्यसो हो भने यो देशमा संविधान छ, कानुन छ, तपाईंको भारदारी प्रथा चल्दैन’, त्रिपाठीले भन्नुभयो । नेपाल प्रेस युनियनका महासचिव दिलिप पौडेलले वर्तमान सरकारको प्रेस स्वतन्त्रतामाथि सिधासिधा हस्तक्षेपले लोकतन्त्रको घाँटी निमोठ्न खोजेको आरोप लगाउनुभयो । प्रेस सेन्टर नेपालका उप-महासचिव बुद्ध लोप्चनले लोकतन्त्रको मुख्य रक्षक मिडिया जगत्लाई आतंकित बनाउने कार्य भर्त्सनायोग्य रहेको बताउनुभयो । लोप्चनले पत्रकारलाई नियन्त्रणमा लिने कार्यले सरकार कता जाँदै छ र यसले के गर्न खोज्दै छ भन्ने गम्भीर प्रश्न उठेको बताउनुभयो ।
सञ्चार माध्यममाथि भएको यस प्रकारको ज्यादतीको विरोधमा नेपाल पत्रकार महासंघको आह्वानमा माइतीघर मण्डलमा विरोध प्रदर्शनसमेत भएको छ । महासंघका पदाधिकारी तथा वरिष्ठ पत्रकारहरूले सरकारको निरंकुश कार्यशैलीविरुद्ध चर्को नाराबाजी गर्दै प्रेस स्वतन्त्रताको पूर्ण रक्षाको माग गरेका छन् ।
‘डेड क्याट स्ट्राटेजी’को आशंका
यो घटनालाई एक दिनको घटनाका रूपमा मात्र हेर्न मिल्दैन । यसअघि असार ३० गते पनि विभिन्न सञ्चार माध्यमका कार्यालय अगाडि बाटो छेक्ने गरी सवारीसाधन राखिएका थिए । त्यसबेला पनि सरकारको आलोचना दबाउन वा जनमानसको ध्यान अन्यत्र मोड्न त्यस्ता हत्कण्डाहरू अपनाइएको चर्चा चलेको थियो । राजनीतिक सञ्चारमा यसलाई ‘डेड क्याट स्ट्राटेजी’ अर्थात् गम्भीर मुद्दाबाट जनताको ध्यान हटाउन अर्को विवाद सिर्जना गर्ने रणनीतिको रूपमा लिइन्छ । इनम सापकोटा प्रकरणबाट उठेका सार्वजनिक सरोकारका गम्भीर प्रश्नहरूलाई ओझेलमा पार्न नै शुक्रबारको यो धरपकड गरिएको हो कि भन्ने आशंका व्यापक रूपमा गरिएको छ ।
संविधानको धारा १९ ले पूर्ण प्रेस स्वतन्त्रता र सञ्चारको हक सुनिश्चित गरेको छ । समाचारमा कुनै त्रुटि वा असत्यता भए सम्बन्धित पक्षले खण्डन गर्ने, कानुनी उपचार खोज्ने वा प्रेस काउन्सिलमार्फत गुनासो गर्ने स्पष्ट बाटो छ । तर, ती कानुनी मार्गहरू छोडेर सिधै समाचार कक्षमा प्रहरी प्रवेश गराउनु र पत्रकारलाई त्रसित पार्नु कुनै पनि हालतमा क्षम्य हुन सक्दैन । अपराधी वा कानुनी रूपमा आरोपित व्यक्तिलाई कानुनबमोजिम कारबाही गर्ने अधिकार राज्यसँग हुन्छ, तर प्रश्न सोध्ने पत्रकारलाई नै निसाना बनाइनु अधिनायकवादी सोचको उपज हो ।
समाचारमा उठेका प्रश्नहरूको जवाफ दिनु सरकारको दायित्व हो । पत्रकारलाई पक्राउ गरेर वा तर्साएर ती प्रश्नहरूलाई सधैँका लागि दबाउन सकिँदैन । लोकतन्त्रमा आलोचना र प्रश्नहरू नागरिकका साझा अधिकार हुन् । सरकारले प्रेसलाई नियन्त्रण गर्ने होइन, उनीहरूले निर्भिक रूपमा काम गर्नसक्ने सुरक्षित वातावरण बनाउनुपर्छ । अन्यथा, जनताको नजरमा सरकारको लोकतान्त्रिक चरित्र र जवाफदेहितामाथि प्रश्न उठिरहने छ ।







आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका
दुर्गा पूजाकाे भागदौडमा परी मृत्यु
बडादशैँको रौनक गाउँघरतर्फ सोझिएसँगै काठमाडौं
शहरले खोस्न नसकेको खुशी :