लोकतन्त्रको वास्तविक परीक्षा निर्वाचनबाट सरकार गठन भएपछि होइन, सत्तामा पुगेका व्यक्तिहरूले आलोचना सुन्ने क्षमता कति राख्छन् भन्नेबाट सुरु हुन्छ । सरकारको प्रशंसा गर्ने आवाजमात्र सुरक्षित हुने र प्रश्न उठाउने स्वरमाथि राज्यशक्तिको प्रयोग हुनथाल्ने हो भने त्यस्तो लोकतन्त्रको आवरणभित्र निरंकुशताको चरित्र विकसित हुन धेरै समय लाग्दैन । किनकि लोकतन्त्रमा सरकार जनताप्रति उत्तरदायी हुन्छ, जनता सरकारप्रति होइनन् । यही उत्तरदायित्व स्थापित गर्ने महत्त्वपूर्ण माध्यम स्वतन्त्र प्रेस हो । प्रेसले सरकारको प्रशंसा गर्नैपर्छ भन्ने छैन, तर उसले उठाएका प्रश्नको जवाफ दिनु सरकारको दायित्व हो ।
नेपालमा पछिल्लो समय सञ्चारमाध्यम र पत्रकारमाथि भएका प्रहरी हस्तक्षेपका घटनाले यही आधारभूत लोकतान्त्रिक मान्यतामाथि गम्भीर प्रश्न खडा गरेका छन् । राज्यका जिम्मेवार निकाय, न्यायालय, प्रहरी संगठन तथा उच्च राजनीतिक तहमा बिचौलियाको प्रभाव, पहुँच र सम्भावित आर्थिक लेनदेनका विषयमा सञ्चारमाध्यमहरूले समाचार सार्वजनिक गरेपछि त्यसको जवाफ तथ्य र प्रमाणबाट दिनेभन्दा समाचार कक्षमै प्रहरी पुर्याउने प्रवृत्ति देखिनु चिन्ताजनक छ । समाचारमा उठाइएका विषय सही हुन् वा गलत, त्यसको परीक्षण गर्ने विधि र कानुनी प्रक्रिया हुँदाहुँदै पत्रकारलाई नियन्त्रणमा लिने तथा सञ्चारगृहमा हस्तक्षेप गर्ने शैलीले सरकारको नियतमाथि नै प्रश्न उठाएको छ ।
पत्रकारले प्राप्त गरेको सूचनाको स्रोतको सुरक्षा पत्रकारिताको आधारभूत मान्यता हो । कुनै व्यक्तिले राज्यको गलत काम, अनियमितता वा भ्रष्टाचारबारे सूचना दिन चाहन्छ भने उसले आफ्नो पहिचान सार्वजनिक नहुने विश्वास गर्नुपर्छ । स्रोतको गोपनीयता सुरक्षित नहुने हो भने भोलि गलत कामबारे सूचना दिन चाहने नागरिक पनि पछि हट्न सक्छन् । त्यसपछि सञ्चारमाध्यमसँग समाचार त हुन्छ, तर समाचारको आधार बन्ने सूचनासम्म पुग्ने बाटो बन्द हुनसक्छ । यस्तो अवस्था अन्ततः सरकारका लागि सहज देखिए पनि नागरिकका लागि घातक हुन्छ । सूचना लुकाउने राज्य बलियो हुँदैन, बरू नागरिकको विश्वास गुमाउँदै जान्छ ।
समाचार प्रकाशित भएपछि त्यसको प्रभाव स्वाभाविक रूपमा सम्बन्धित व्यक्ति र संस्थामा पर्छ । कसैको प्रतिष्ठामा प्रश्न उठ्न सक्छ, कुनै निकायको कार्यशैलीमाथि आलोचना हुनसक्छ र सरकारलाई असहज परिस्थिति सिर्जना हुनसक्छ । तर, सार्वजनिक पदमा बसेका व्यक्तिले आलोचनाबाट उन्मुक्ति खोज्न मिल्दैन । उनीहरूको निर्णय, व्यवहार र सार्वजनिक जीवन नागरिकको चासोको विषय हो । विशेषगरी न्यायालय र प्रहरीजस्ता संस्थामाथि जनताको विश्वास कायम रहनु राज्य व्यवस्थाका लागि अपरिहार्य हुन्छ । यस्ता संस्थाभित्र कुनै किसिमको अनुचित प्रभाव, सेटिङ वा आर्थिक चलखेल भएको आशंका सार्वजनिक हुन्छ भने त्यसलाई दबाउने होइन, निष्पक्ष अनुसन्धानमार्फत सत्य स्थापित गर्ने जिम्मेवारी सरकारकै हो ।
बिचौलियाको प्रभावले राज्यका महत्त्वपूर्ण निकायको निर्णय प्रक्रियालाई प्रभावित पारिरहेको छ भन्ने विषय सामान्य आरोपमात्र होइन । यसले राज्यको संस्थागत विश्वसनीयता र विधिको शासनमाथि प्रत्यक्ष असर पार्न सक्छ । त्यसैले सञ्चारमाध्यमले यस्ता विषयमा खोजमूलक समाचार प्रकाशित गर्नु लोकतान्त्रिक समाजको आवश्यकता हो । राज्यका गोप्य वा संवेदनशील विषयको आडमा सार्वजनिक पदाधिकारीका अनुचित गतिविधि लुकाउने छुट कसैलाई हुँदैन । राष्ट्रिय सुरक्षा, सार्वभौमसत्ता र राज्यको संवेदनशीलताका विषयमा पत्रकारिता जिम्मेवार हुनुपर्छ भन्नेमा दुईमत छैन । तर, राष्ट्रिय स्वार्थको परिभाषा सत्तामा रहेका व्यक्तिको स्वार्थसँग जोड्न मिल्दैन । सरकारको आलोचना गर्नु राष्ट्रविरोधी गतिविधि होइन र राज्यका निकायमाथि प्रश्न उठाउनु संस्थाविरोधी काम पनि होइन ।
यसै सन्दर्भमा नेपाल प्रेस डटकमका पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्यूजका सम्पादक शोभराज बराल र डीएनए खबरका प्रधानसम्पादक धीरज बस्नेत पक्राउ परेको घटनाले प्रेस स्वतन्त्रताको अवस्थाबारे थप बहस सिर्जना गरेको छ । नयाँ पत्रिका दैनिकका पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन कार्यालयमै प्रहरी पुगेको घटना तथा अनामनगरस्थित दियोपोष्ट डटकमको कार्यालयमा प्रहरी पुगेको विषयले सञ्चार क्षेत्रलाई थप सशंकित बनाएको छ । समाचारको स्रोत खोज्ने नाममा सञ्चारगृहको समाचार कक्षमै प्रहरी पुग्नु सामान्य प्रशासनिक गतिविधि होइन । समाचार कक्ष पत्रकारको व्यावसायिक कार्यस्थल हो, जहाँ सूचनाको संकलन, सम्पादन र प्रकाशन हुन्छ । त्यहाँको वातावरण नै भय र दबाबबाट प्रभावित हुने अवस्था सिर्जना भएमा त्यसको असर एउटा पत्रकारमा मात्र सीमित रहँदैन, समग्र सूचना प्रवाहमा पर्छ ।
पत्रकारले प्राप्त गरेको सूचनाको स्रोतको सुरक्षा पत्रकारिताको आधारभूत मान्यता हो । कुनै व्यक्तिले राज्यको गलत काम, अनियमितता वा भ्रष्टाचारबारे सूचना दिन चाहन्छ भने उसले आफ्नो पहिचान सार्वजनिक नहुने विश्वास गर्नुपर्छ । स्रोतको गोपनीयता सुरक्षित नहुने हो भने भोलि गलत कामबारे सूचना दिन चाहने नागरिक पनि पछि हट्न सक्छन् । त्यसपछि सञ्चारमाध्यमसँग समाचार त हुन्छ, तर समाचारको आधार बन्ने सूचनासम्म पुग्ने बाटो बन्द हुनसक्छ । यस्तो अवस्था अन्ततः सरकारका लागि सहज देखिए पनि नागरिकका लागि घातक हुन्छ । सूचना लुकाउने राज्य बलियो हुँदैन, बरू नागरिकको विश्वास गुमाउँदै जान्छ ।
अर्कोतर्फ, प्रेस स्वतन्त्रताको अर्थ सञ्चारमाध्यमलाई जे लेखे पनि हुने असीमित अधिकार प्राप्त हुनु भने होइन । पत्रकारिताको शक्ति नै उसको विश्वसनीयता हो । अपुष्ट सूचना, व्यक्तिगत प्रतिशोध, पूर्वाग्रह र कसैको स्वार्थपूर्तिका लागि समाचार सामग्री प्रयोग हुनथालेमा प्रेसले आफ्नो नैतिक आधार गुमाउँछ । समाचारको नाममा चरित्र हत्या गर्ने, तथ्यलाई तोडमरोड गर्ने वा बिचौलियाकै स्वार्थानुसार सार्वजनिक धारणा निर्माण गर्ने कामलाई पत्रकारिताको स्वतन्त्रता भनेर बचाउन सकिँदैन । स्वतन्त्र प्रेस जति आवश्यक छ, त्यति नै आवश्यक जिम्मेवार प्रेस पनि हो । समाचार प्रकाशित गर्नुअघि तथ्यको पुष्टि, सम्बन्धित पक्षको धारणा र प्रमाणको विश्वसनीयता परीक्षण गर्नु पत्रकारको व्यावसायिक धर्म हो । तर, पत्रकारितामा कमजोरी देखियो भन्दैमा त्यसको उपचार प्रहरीको धरपकड हुनसक्दैन ।
समाचार गलत छ भने त्यसलाई चुनौती दिने, खण्डन गर्ने, प्रेस काउन्सिल नेपालमा उजुरी गर्ने र प्रचलित कानुन अनुसार न्यायिक उपचार खोज्ने बाटो खुला छ । पत्रकारिताका आचारसंहिता उल्लंघन भए त्यसको मूल्यांकन गर्ने संस्थागत व्यवस्था छ । कसैको मानहानि भएको छ भने त्यसको कानुनी उपचार खोज्न सकिन्छ । तर, यी सबै प्रक्रिया छाडेर समाचारको विषयलाई आधार बनाई प्रहरी परिचालन गर्नुले विधिको शासन स्थापित गर्दैन । बरू कानुन कार्यान्वयन गर्ने निकायमाथि नै प्रश्न उठ्ने अवस्था सिर्जना गर्छ ।
अझ विडम्बना के छ भने लोकतन्त्र र सुशासनको नारा दिएर जनताको ठूलो विश्वास प्राप्त गरेको राजनीतिक शक्तिबाट सञ्चालित सरकारले प्रेस स्वतन्त्रताप्रति थप संवेदनशीलता देखाउनुपर्ने हो । विगतका सरकारहरूको कार्यशैलीबाट असन्तुष्ट नागरिकले नयाँ राजनीतिक शक्तिलाई विकल्पका रूपमा स्वीकार गरेका हुन् । त्यसको अर्थ नयाँ सरकारलाई प्रश्नभन्दा माथि राखिएको होइन । नयाँ नेतृत्वबाट नागरिकले पुरानै प्रवृत्तिको पुनरावृत्ति होइन, राज्य सञ्चालनमा नयाँ संस्कारको अपेक्षा गरेका हुन् । सत्ता परिवर्तन हुनुमात्र राजनीतिक परिवर्तन होइन । राज्यका संस्थाले नागरिक र प्रेसप्रति गर्ने व्यवहार परिवर्तन हुनु वास्तविक परिवर्तन हो ।
सत्ता परिवर्तनपछि नागरिकले खोजेको सुशासन, पारदर्शिता र जवाफदेहिताको पहिलो संकेत सरकार आलोचनाप्रति कति उदार छ भन्नेबाट देखिन्छ । आलोचना सहन नसक्ने सत्ता जतिसुकै लोकप्रिय भए पनि लोकतान्त्रिक संस्कारमा कमजोर हुन्छ । प्रेस स्वतन्त्रता सरकारलाई कमजोर बनाउने माध्यम होइन, सरकारलाई गलत बाटोमा जानबाट रोक्ने लोकतान्त्रिक पहरेदार हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सञ्चार माध्यममाथि प्रहरीको धरपकडलाई विधि र पद्धतिविपरीत भनेका छन् । उनको यो धारणा प्रेस स्वतन्त्रताको पक्षमा सकारात्मक छ । तर, प्रेस स्वतन्त्रताको पक्षमा व्यक्त गरिने राजनीतिक अभिव्यक्ति र सरकारका व्यवहारबीच समानता हुनुपर्छ । विपक्षमा हुँदा प्रेस स्वतन्त्रताको पक्षमा उभिने तर सत्तामा पुगेपछि आलोचनात्मक समाचारलाई असहज ठान्ने प्रवृत्ति कुनै पनि राजनीतिक दलका लागि शोभनीय हुँदैन । सरकारको लोकतान्त्रिक चरित्र उसले आफ्ना समर्थक सञ्चारमाध्यमलाई कति संरक्षण गर्छ भन्नेबाट होइन, आलोचना गर्ने र असहमत हुने सञ्चारमाध्यमलाई कति स्वतन्त्रता दिन्छ भन्नेबाट मापन हुन्छ ।
सरकारका गतिविधिबारे समाचार सार्वजनिक हुनासाथ त्यसको प्रतिवादमा राज्यका विभिन्न निकाय परिचालन गर्ने, सार्वजनिक रूपमा पत्रकारलाई दोषी करार गर्ने वा सञ्चारमाध्यमको विश्वसनीयतामाथि योजनाबद्ध प्रश्न उठाउने प्रवृत्तिले पनि प्रेस स्वतन्त्रतालाई कमजोर बनाउँछ । यसलाई कतिपय अवस्थामा मिडिया ट्रायलका रूपमा समेत बुझ्न सकिन्छ । कुनै समाचारप्रति सरकारको असहमति छ भने सरकारले तथ्य सार्वजनिक गर्नुपर्छ । गलत समाचारलाई प्रमाणसहित खण्डन गर्नुपर्छ । तर, राज्यको शक्ति प्रयोग गरेर समाचार लेख्ने पत्रकारलाई नै दबाबमा राख्ने हो भने त्यसले सत्य स्थापित गर्दैन, बरू शंकालाई थप बलियो बनाउँछ ।
लोकतन्त्रमा सरकार स्थायी हुँदैन, तर राज्यका संस्थाहरूको विश्वसनीयता दीर्घकालीन हुनुपर्छ । आज सरकारमा रहेको दल भोलि प्रतिपक्षमा पुग्नसक्छ । आज प्रहरीको शक्ति प्रयोग गर्ने राजनीतिक नेतृत्व भोलि त्यही शक्तिको दुरुपयोगको सिकार बन्नसक्छ । त्यसैले प्रेस स्वतन्त्रता कुनै एक दल, नेता वा सञ्चारगृहको निजी सरोकार होइन । यो सत्तामा रहने र सत्ताबाहिर रहने सबै राजनीतिक शक्तिका लागि समान रूपमा आवश्यक लोकतान्त्रिक अधिकार हो । प्रेस स्वतन्त्रता कमजोर भएको समाजमा भ्रष्टाचार, अनियमितता र शक्तिको दुरुपयोग लुकाउन सजिलो हुन्छ । नागरिकले सही सूचना प्राप्त गर्न नसक्दा आफ्नो शासन व्यवस्थाबारे निर्णय गर्ने क्षमतासमेत कमजोर हुन्छ ।
अन्ततः सरकार र सञ्चारमाध्यमबीचको सम्बन्ध प्रतिस्पर्धा वा प्रतिशोधको होइन, लोकतान्त्रिक उत्तरदायित्वको हुनुपर्छ । पत्रकारले तथ्य र प्रमाणका आधारमा सरकारलाई प्रश्न गर्नुपर्छ भने सरकारले पनि तथ्य र प्रमाणकै आधारमा जवाफ दिनुपर्छ । सञ्चारमाध्यमले आफ्नो स्वतन्त्रतालाई जिम्मेवारीसँग जोड्नुपर्छ भने सरकारले आफ्नो शक्तिलाई संविधान र कानुनी सीमाभित्र राख्नुपर्छ । समाचारमा कमजोरी भए सुधार र कानुनी उपचारको बाटो अपनाउनुपर्छ, तर समाचार कक्षलाई प्रहरीको दबाबमा राख्ने वातावरण सिर्जना गर्नु हुँदैन ।
सत्ता परिवर्तनपछि नागरिकले खोजेको सुशासन, पारदर्शिता र जवाफदेहिताको पहिलो संकेत सरकार आलोचनाप्रति कति उदार छ भन्नेबाट देखिन्छ । आलोचना सहन नसक्ने सत्ता जतिसुकै लोकप्रिय भए पनि लोकतान्त्रिक संस्कारमा कमजोर हुन्छ । प्रेस स्वतन्त्रता सरकारलाई कमजोर बनाउने माध्यम होइन, सरकारलाई गलत बाटोमा जानबाट रोक्ने लोकतान्त्रिक पहरेदार हो । त्यसैले स्वतन्त्र प्रेसलाई नियन्त्रण गरेर होइन, प्रेसले उठाएका प्रश्नको जवाफ दिएरमात्र सरकारले आफ्नो लोकतान्त्रिक प्रतिबद्धता प्रमाणित गर्नसक्छ । सरकारको शक्ति पत्रकारलाई मौन बनाउने क्षमतामा होइन, पत्रकारले उठाएका असहज प्रश्नको निर्भीकतापूर्वक जवाफ दिने साहसमा देखिनुपर्छ ।







पोखरामा स्कुल बस दुर्घटना अपडेट
उखु किसानलाई एक अर्ब ५०
चाडबाड लक्षित सुरक्षा : पोखराका
अनुगमन र भुक्तानीमा कर्मचारीको चासो
एआई, युवा उद्यमशीलता र रोजगारीमा
कांग्रेसको १५औँ महाधिवेशनमा मतदान जारी