मुगु । मुगुको गमगढी-नाक्चेलाग्ना सडकअन्तर्गत मुगुम कार्मारोङ गाउँपालिकाको माग्री भीरमा रहेको करिब ३०० मिटर लामो कडा चट्टान छिचोलिएको छ । नेपाली सेनाको सहयोगमा चट्टान काट्ने काम सम्पन्न भएसँगै दुर्गम क्षेत्रका बासिन्दाको सडक पहुँचको वर्षौंदेखिको सपना साकार हुने आशा बढेको छ ।
कडा र चुनौतीपूर्ण चट्टानका कारण सडक निर्माणमा कठिनाइ हुँदै आएको माग्री भीर छिचोलिएपछि अब माथिल्लो क्षेत्रमा सडक खन्न सहज हुने भएको छ । यसले चीनसँग सीमा जोडिएको नाक्चेलाग्नासम्म सडक पुर्याउने अभियानमा महत्त्वपूर्ण प्रगति भएको छ ।
सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराकाअनुसार नेपाली सेनाको सहयोगमा माग्री भीरको कडा चट्टान काट्ने काम सम्पन्न भएको हो । चट्टान काट्ने काम सकिएसँगै त्यसको माथिल्लो क्षेत्रमा सडक निर्माण गर्न सहज हुने उहाँले बताउनुभयो ।
चालु आर्थिक वर्षभित्रै पुलुसम्म सडक खन्ने लक्ष्यका साथ काम भइरहेको महताराले जानकारी दिनुभयो । उक्त सडक निर्माणका लागि १५ करोड रुपैयाँको ठेक्का लगाएर काम अघि बढाइएको छ ।
गमगढी-नाक्चेलाग्ना सडक मुगुको उत्तरी क्षेत्रका बासिन्दाको आवागमन सहज बनाउने, स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउने तथा सीमावर्ती क्षेत्रसँगको सम्पर्क विस्तार गर्ने महत्त्वपूर्ण सडक आयोजना हो । माग्री भिरको चट्टान छिचोलिएसँगै सडक निर्माणले गति लिने र मुगुवासीको चीनसँग व्यापार गर्ने सपना पूरा हुने अपेक्षा गरिएको छ ।
२१ वर्षमा १८ किलोमिटर मात्रै सडक
नेपाल-चीन जोड्ने गमगढी-नाक्चेलाग्ना सडक निर्माण सुरु भएको २१ वर्ष बितिसक्दा पनि अहिलेसम्म १८ किलोमिटर मात्रै सडकको ट्र्याक खोलिएको छ ।
मुगु जिल्लामा पर्ने उक्त सडकको निर्माण नेपाल सरकारले २०६२ सालदेखि औपचारिक रूपमा सुरु गरेको थियो । जिल्ला सदरमुकाम गमगढी बजारदेखि चीनको सीमास्थित नाक्चेलाग्नासम्म करिब ९६ किलोमिटर दूरी रहे पनि दुई दशकभन्दा बढी समय बित्दा सडक निर्माणले अपेक्षित गति लिन सकेको छैन ।
नेपाल र चीन जोड्ने १४ वटा परम्परागत नाकामध्ये जिल्ला सदरमुकामदेखि चीनको सीमासम्मको दूरीका हिसाबले नाक्चेलाग्ना नाका छोटो मानिन्छ । तर, भौगोलिक विकटता र कडा चट्टानका कारण सडक निर्माणमा लामो समयदेखि चुनौती रहँदै आएको छ ।
माग्री भिरको चट्टान छिचोलिएसँगै अब सडक निर्माणले गति लिने र चालु आर्थिक वर्षभित्र पुलुसम्म सडक पुर्याउने लक्ष्य पूरा हुने अपेक्षा गरिएको छ । सडक निर्माण सम्पन्न भएमा मुगुको उत्तरी क्षेत्रका बासिन्दालाई आवागमनमा सहजता हुनुका साथै सीमापार व्यापार र स्थानीय आर्थिक गतिविधिमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।






संसद् छलेर अध्यादेशको बाटोमा सरकार
दशैँका दिव्य पक्ष
गोरखामा बुढीगण्डकीको बाढीले सल्लेरी बजार
नवरात्रको पहिलो दिन आज घटस्थापना,
देशका हिमाली र पहाडी भूभागमा
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर