काठमाडौं । नेपाली कांग्रेसले पत्रकारमाथि भएको धरपकडलगायत पछिल्ला सरकारी गतिविधिको निष्पक्ष छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न माग गरेको छ ।
सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, संवैधानिक संस्थाहरूको स्वायत्तता र विधिको शासनमाथि सरकारले गम्भीर प्रश्न उठाएको निष्कर्ष निकालेको हो ।
बैठकका निर्णय सार्वजनिक गर्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पत्रकारमाथि भएको धरपकडलगायतका घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।
उहाँले पक्राउको स्पष्ट आधार, पुर्जी र अदालतको अनुमति सार्वजनिक नगरी समाचार कक्षमै प्रहरी परिचालन गर्नु स्वतन्त्र पत्रकारितामाथिको अनुचित दबाब र विधिको शासनविपरीतको कार्य भएको बताउनुभयो । यसबारे सरकारले जवाफ दिनुपर्ने उहाँको भनाइ थियो ।
‘पछिल्ला सरकारी गतिविधिले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, संवैधानिक संस्थाहरूको स्वायत्तता र विधिको शासनमाथि गम्भीर प्रश्न खडा गरेको छ । पत्रकार धरपकडलगायतका अन्य घटनाप्रति नेपाली कांग्रेस संसदीय दल आपत्ति प्रकट गर्दछ,’ उहाँले भन्नुभयो ।
नेता आङ्देम्बेले वर्तमान सरकारले गर्ने सही काम, जनसरोकारका विषय र सुशासनका प्रयासमा कांग्रेसको समर्थन रहने स्पष्ट पार्नुभयो । तर लोकतन्त्र, विधिको शासन, प्रेस स्वतन्त्रता र शक्ति पृथकीकरणका मूल्य मान्यताविपरीतका गतिविधि भएमा पार्टीले विरोध गर्ने उहाँले बताउनुभयो ।
त्यस्तै, उहाँले न्यायपालिकाको स्वतन्त्रता अक्षुण्ण राख्नुपर्नेमा जोड दिँदै सरकारका सबै काम कानुनी प्रक्रिया र विधिअनुसार हुनुपर्ने धारणा राख्नुभयो । सरकारका गतिविधिमा जवाफदेहिताको अभाव देखिएको उहाँको भनाइ थियो ।
‘न्यायपालिकाको स्वतन्त्रतालाई अक्षुण्ण राख्नुपर्दछ । सरकारको काम कानुनी प्रक्रियाको उचित पालना (ड्यु प्रोसेस अफ ल) अनुसार हुनुपर्दछ । तर सरकारको गतिविधि जे गरे पनि हुन्छ, जवाफ दिनुपर्दैन भन्ने मानसिकता र प्रवृत्तिका उपजजस्तो भएर सार्वजनिक भइरहेको छ,’ उहाँले भन्नुभयो ।
कांग्रेस संसदीय दलले यी घटनालाई मुलुकको संवैधानिक संरचना कमजोर बनाउँदै आफूअनुकूलको शासन स्थापित गर्ने सुनियोजित प्रयत्नको शृङ्खलाका रूपमा लिएको पनि उहाँले बताउनुभयो ।
कांग्रेसले पत्रकार धरपकडलगायत त्यससँग जोडिएका सबै विवादित सरकारी गतिविधिको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गरी दोषी देखिएकालाई कानुनबमोजिम कारबाही गर्न माग गरेको छ ।
‘नेपाली कांग्रेस पत्रकार धरपकडलगायत यससँग जोडिएका सबै विवादित सरकारी गतिविधिको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन हुनुपर्दछ भन्ने पक्षमा छ । दोषीलाई कानुनबमोजिम कारबाही गरिनुपर्दछ । यसका लागि संसदीय विशेष समिति गठन गर्नुपर्दछ भन्ने हाम्रो स्पष्ट अडान छ,’ आङ्देम्बेले भन्नुभयो ।
कांग्रेसले पछिल्ला घटनामा सरकारलाई जवाफदेही बनाउन र घटनाको सत्यतथ्य सार्वजनिक गर्न संसदीय विशेष समिति गठन आवश्यक रहेको दोहोर्याएको छ ।







दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका
दुर्गा पूजाकाे भागदौडमा परी मृत्यु
बडादशैँको रौनक गाउँघरतर्फ सोझिएसँगै काठमाडौं