काठमाडौं । दशैँ नेपाली फिल्मका लागि आकर्षक प्रदर्शन अवधि मानिन्छ । लामो बिदा, पारिवारिक जमघट र फुर्सदको समय भएकाले यस अवसरमा फिल्म प्रदर्शन गर्न निर्माता तथा निर्देशकबीच प्रतिस्पर्धा नै हुने गर्छ । तर, यस वर्षको दशैँमा प्रदर्शन भएका अधिकांश नेपाली फिल्मले अपेक्षाअनुसार व्यापार गर्न सकेनन् ।
दशैँलाई लक्षित गर्दै यसपटक टीकाअघि ‘आ बाट आमा २’, ‘छ माया छपक्कै २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा आए । टीकापछि भने ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ हलमा लाग्यो ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको कात्तिक १५ गते आइतबारसम्मको बक्सअफिस तथ्यांकअनुसार ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ले १० करोड ७६ लाख ७३ हजार ७१५ रुपैयाँ ग्रस कलेक्सन गरेको छ । फिल्मलाई अहिलेसम्म तीन लाख ४६ हजार ४२७ दर्शकले हेरेका छन् ।
त्यस्तै, ‘आ बाट आमा २’ ले ६ करोड २४ लाख ७० हजार १३० रुपैयाँ कमाउँदै दुई लाख १३ हजार १९४ टिकट बिक्री गरेको छ । ‘छ माया छपक्कै २’ ले तीन करोड ३४ लाख ८४ हजार ४३५ रुपैयाँ र ‘१२ गाउँ २’ ले दुई करोड २९ लाख ५७ हजार ९८६ रुपैयाँको व्यापार गरेका छन् ।
यी सबै फिल्मको कमाइ प्रदर्शनमा आएको मितिदेखि कात्तिक १५ गतेसम्मको हो । तथ्यांकले दशैँअघि प्रदर्शन भएका फिल्मभन्दा टीकाको भोलिपल्ट हलमा लागेको ‘कबड्डी ५’ मा दर्शकको आकर्षण बढी देखिएको छ ।
सिक्वेल आए, तर अपेक्षित दर्शक आएनन्
यसपटक दशैँमा प्रदर्शन भएका चारवटै फिल्म अघिल्ला भागका सिक्वेल वा स्थापित सिरिजका हिस्सा हुन् । अघिल्ला फिल्मको व्यावसायिक सफलताले गर्दा यी फिल्मबाट पनि राम्रो कमाइको अपेक्षा गरिएको थियो । तर, सार्वजनिक बक्सअफिस तथ्यांकले ती अपेक्षा पूरा नभएको देखाएको छ ।
अघिल्ला भागको सफलता, दशैँको लामो बिदा र सिक्वेलप्रतिको दर्शकको चासोका कारण तीनवटै फिल्मबाट राम्रो व्यापार हुने अनुमान गरिएको थियो । तर, ‘आ बाट आमा २’, ‘छ माया छपक्कै २’ र ‘१२ गाउँ २’ को कमाइ अघिल्ला भागको तुलनामा निकै कम देखिएको छ ।
‘कबड्डी ५’ मा दर्शकको आकर्षण
कात्तिक ६ गतेदेखि प्रदर्शनमा आएको ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ ले मिश्रित प्रतिक्रिया पाए पनि सुरुआती दिनदेखि नै राम्रो व्यापार गरेको छ । हालसम्मको कमाइका आधारमा यो यसपटक दशैँमा प्रदर्शन भएका फिल्ममध्ये सबैभन्दा अगाडि छ ।
रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको फिल्ममा दयाहाङ राई, विजय बराल, विपिन कार्की, बुद्धि तामाङ र पुष्कर गुरुङलगायत कलाकारको अभिनय छ ।
अभिनेता दयाहाङ राईका अनुसार काजी पात्रसँग दर्शकको लामो समयदेखिको भावनात्मक सम्बन्धले पनि फिल्मप्रतिको आकर्षण बढाएको हुन सक्छ ।
‘काजी पात्रलाई दर्शकले पर्दामा देख्न थाल्नुभएको १२ वर्ष पुगिसक्यो । हामीजस्तै दर्शकलाई पनि पात्रको माया लाग्छ होला, त्यसैले पर्दाभित्रको सुखदुःख पर्दाबाहिरसम्म आइपुग्छ,’ उहाँले भन्नुभयो ।
उहाँले ‘कबड्डी ६’ निर्माण हुने भए पनि त्यसका लागि केही समय लाग्ने बताउनुभयो । काजी पात्रको उमेर र मनोविज्ञानमा आएको परिवर्तनलाई आगामी शृङ्खलामा प्रस्तुत गर्ने सोच रहेको उहाँको भनाइ छ ।
‘आ बाट आमा २’ को व्यापार अघिल्लो भागभन्दा आधा कम
चन्द्र पन्तको निर्देशनमा बनेको ‘आ बाट आमा २’ ले ६ करोड २४ लाख ७० हजार १३० रुपैयाँ कमाएको छ । यसको पहिलो भाग ‘आ बाट आमा’ ले १३ करोड २० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो ।
पहिलो भागको तुलनामा सिक्वेलको व्यापार आधाभन्दा कम देखिएको छ । यद्यपि निर्देशक पन्तले यसपटक दशैँमा धेरै फिल्म एकै समयमा प्रदर्शन भएकाले अघिल्लो भागको व्यापार दोहोरिने अपेक्षा नगरेको बताउनुभयो ।
‘फिल्मको भिडभाडले गर्दा म मात्र नभई अरूले पनि अघिल्लो भागभन्दा बढी व्यापार हुन्छ भन्ने सोच राखेको मलाई लाग्दैन । हाम्रो फिल्म राम्रो चल्छ भन्ने अपेक्षा थियो, चलिरहेको पनि छ । किनकि एकल प्रदर्शन हुँदा हुने कमाइ अन्य फिल्मसँग प्रतिस्पर्धा गर्दा कम हुन्छ,’ उहाँले भन्नुभयो ।
फिल्म चलाउन आफूहरूले टिकट खरिद गरेको भन्ने चर्चाबारे पनि उहाँले स्पष्ट पार्नुभयो । सञ्चारकर्मी, शुभेच्छुक र आफन्तका लागि बढीमा डेढ लाख रुपैयाँको टिकट खरिद गरिएको भए पनि त्यसबाहेक टिकट किनेर व्यापार बढाउने काम नगरिएको उहाँको दाबी छ ।
फिल्ममा पल शाह, विपना थापा, मलिका महत र आकाश श्रेष्ठलगायत कलाकारको अभिनय छ ।
‘छ माया छपक्कै २’ को व्यापार कमजोर
घरेलु दर्शकमाझ लोकप्रिय अभिनेता दीपकराज गिरीको फिल्म ‘छ माया छपक्कै २’ ले पनि अपेक्षित व्यापार गर्न सकेन । चलचित्र विकास बोर्डको तथ्यांकअनुसार फिल्मले अहिलेसम्म तीन करोड ३४ लाख ८४ हजार ४३५ रुपैयाँ मात्र कमाएको छ ।
जबकि यसको पहिलो भाग ‘छ माया छपक्कै’ ले नौ करोड ९२ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो । अघिल्लो फिल्मको सफलताका कारण सिक्वेलप्रति दर्शकको चासो भए पनि त्यसअनुसार हलमा उपस्थिति देखिएन ।
दीपेन्द्र लामाको निर्देशनमा बनेको फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, सनिशा भट्टराई, दीपाश्री निरौला, कर्मा शाक्य र रिहान गिरीलगायत कलाकारको अभिनय छ ।
अभिनेता गिरीले पनि फिल्मको व्यावसायिक प्रदर्शन कमजोर भएको स्वीकार गर्नुभएको छ ।
‘हाम्रो फिल्मले गर्ने व्यापार वा कमाइको तुलनामा सबैभन्दा कमजोर छ माया छपक्कै २ देखिएको छ । यो सत्य हामीले स्वीकार्नै पर्छ । तर, दर्शकबाट समीक्षा भने निकै राम्रो पाएका छौँ,’ उहाँले भन्नुभयो ।
उहाँले फिल्मको व्यापार कमजोर भए पनि दर्शकबाट पाएको प्रतिक्रियाले आफू उत्साहित भएको बताउनुभयो । फिल्म नचल्दा त्यसको जिम्मेवारी आफूले लिनुपर्ने उहाँको भनाइ छ ।
‘फिल्म चल्दा जसरी मैले श्रेय पाउने गरेको छु, नचल्दा पनि यो मेरै जिम्मेवारी हो । यसपटक हास्यरस कम भयो भन्ने प्रतिक्रिया पाएको छु । तर, विषयगत रूपमा हामी अब्बल छौँ भन्ने प्रतिक्रिया पनि आएको छ,’ उहाँले भन्नुभयो ।
गिरीले आगामी दशैँमा ‘छ माया छपक्कै ३’ ल्याउने घोषणा पनि गर्नुभएको छ । उहाँका अनुसार दोस्रो भागको अधुरो कथालाई पूरा गर्न तेस्रो शृङ्खला निर्माण गरिनेछ ।
‘१२ गाउँ २’ सबैभन्दा कमजोर
विराज भट्टको निर्देशनमा बनेको ‘१२ गाउँ २’ ले यसपटक दशैँमा प्रदर्शन भएका फिल्ममध्ये सबैभन्दा कम व्यापार गरेको छ । फिल्मले घरेलु बजारमा दुई करोड २९ लाख ५७ हजार ९८६ रुपैयाँ मात्र कमाएको छ ।
जबकि यसको पहिलो भाग ‘१२ गाउँ’ ले १९ करोड ९२ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो । पहिलो भागको सफलताका कारण दोस्रो भागबाट पनि राम्रो व्यापारको अपेक्षा गरिएको थियो । तर, बक्सअफिस तथ्यांकले त्यसको ठीक विपरीत अवस्था देखाएको छ ।
फिल्ममा विराज भट्ट, समीर भट्ट, अनुपविक्रम शाही, कृशु शाही, वर्षा इटानी र सुनील पोखरेललगायत कलाकारको अभिनय छ ।
दशैँमा फिल्मको व्यापार निरन्तर ओरालो
विगतका वर्षको तुलनामा पनि यसपटक दशैँमा नेपाली फिल्मको व्यापार घटेको देखिन्छ । विसं २०८१ को दशैँमा तीन फिल्मले झन्डै ३९ करोड रुपैयाँको व्यापार गरेका थिए । विसं २०८२ मा भने दशैँमा प्रदर्शन भएका फिल्मको कुल व्यापार करिब १५ करोड रुपैयाँमा सीमित भएको थियो । यस वर्षको दशैँमा पनि व्यापारमा अपेक्षित सुधार देखिएन ।
फिल्मकर्मीहरूका अनुसार कथावस्तुभन्दा सिक्वेल र सिरिजलाई कमाइको माध्यमका रूपमा हेर्ने प्रवृत्ति, बिदालाई लक्षित गरेर प्रदर्शन मिति घोषणा गरेपछि मात्र छायाङ्कनको तयारी गर्ने शैली र जबर्जस्ती कथा अगाडि बढाउने प्रवृत्तिले दर्शकको आकर्षण घटाएको हुन सक्छ ।
दशैँको लामो बिदा र अघिल्ला भागको सफलताकै भरमा फिल्मले राम्रो व्यापार गर्छ भन्ने अपेक्षा अब पर्याप्त नहुने यसपटकको बक्सअफिस नतिजाले देखाएको छ । दर्शकलाई हलसम्म तान्न बलियो कथावस्तु, प्रस्तुति र गुणस्तरमा ध्यान दिनुपर्ने चुनौती नेपाली फिल्म क्षेत्रसामु देखिएको छ ।






रसुवा बाढीः ‘विकास क्षेत्रको पुनरुत्थान
न्यायाधीश बम हत्याका दोषी बाबु
बाढी प्रभावित बालबालिकाको संरक्षणका लागि
आजको राशिफल : कुन राशिलाई
बडादशैँको छैटौं दिन आज कात्यायनी
मूल्य वृद्धिले ग्राहकको बजेटमा दबाब