सोमबार जारी प्रेस विज्ञप्तिमार्फत सर्वोच्च अदालतले संविधान र कानुनको सर्वोच्चता तथा कानुनी शासनप्रति गम्भीर हुन सबैलाई आग्रह गरेको हो। सार्वजनिक रूपमा प्रकाशित तथा प्रसारित विषयमा पूर्वाग्रहरहित ढंगले छानबिन गरी सत्यतथ्यसहितको निष्कर्ष सार्वजनिक गर्न सम्बन्धित निकायलाई पनि अदालतले आग्रह गरेको छ।
यस विषयमा नेपाल न्यूज बैंकसँग कुरा गर्दै सर्वोच्च अदालतका सहरजिस्ट्रार तथा प्रवक्ता डा. अशोककुमार क्षेत्रीले पूर्ण बैठकको निर्णय आफूले व्याख्या गर्न नमिल्ने बताउनुभयो।
‘निर्णयको व्याख्या गर्ने अधिकार प्रवक्तालाई हुँदैन। भएको बेहोरा मैले पूर्ण बैठकको निर्णयमा जस्ताको तस्तै राखेको छु,’ उहाँले भन्नुभयो, ‘पूर्ण बैठकले गरेका निर्णयलाई सकारात्मक रूपमा व्याख्या गर्नुपर्छ भन्ने मलाई लाग्छ।’
विज्ञप्तिमा सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारको छानबिन र अनुसन्धान संविधान तथा कानुनबमोजिम हुनुपर्ने उल्लेख छ। त्यसका लागि सम्बन्धित निकायले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने अदालतको भनाइ छ।
न्यायपालिका जनताको आस्था र विश्वासमा अडिएको संस्था भएकाले यससँग सम्बन्धित समाचार प्रकाशन तथा प्रसारण गर्दा आमनागरिक र सेवाग्राहीमा भ्रम तथा नकारात्मक असर नपर्ने विषयमा ध्यान दिन पनि अदालतले आग्रह गरेको छ। तथ्यमा आधारित निष्कर्ष प्राप्त नभएसम्म कसैलाई लाञ्छित गर्ने वा न्याय सम्पादनको कार्यमा अवरोध पुग्ने गरी समाचार सम्प्रेषण नगर्न विज्ञप्तिमा भनिएको छ।
प्रेस स्वतन्त्रता र न्यायपालिकाको गरिमाबीच सन्तुलन कायम गर्ने विषयमा अदालतको धारणा सोध्दा प्रवक्ता क्षेत्रीले विज्ञप्तिमा उल्लेखित विषय नै आधिकारिक धारणा भएको बताउनुभयो। उहाँले पूर्ण बैठकको निर्णयको आशयबारे थप व्याख्या नगर्ने स्पष्ट पार्नुभयो।
अदालतले प्रकाशित तथा प्रसारित समाचारबाट विचलित नभई न्यायिक कार्यमा क्रियाशील रहन देशभरका अदालतमा कार्यरत सम्पूर्ण न्यायाधीशहरूलाई पनि आग्रह गरेको छ।
सर्वोच्च अदालतले २०८३ कात्तिक १६ गते बसेको पूर्ण बैठकको निर्णय सार्वजनिक गर्दै विज्ञप्ति जारी गरेको हो।







बधाई गगन ! चुनौतीका चाङसहितको
दुर्गा पक्षको दोस्रो दिन :
कति छ आज विदेशी मुद्राको
प्राचार्य कुटपिटमा सङ्लग्न पक्राउ
आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती
सहरको स्वादका लागि छुट्छ हिमालको