काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५औँ महाधिवेशनअन्तर्गत आगामी २२ कात्तिकसम्म सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ।
उक्त समूहका नेता दीपकप्रसाद कुइँकेलका अनुसार आइतबारसम्म २५ जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ भने सोमबार थप २५ जिल्लामा अधिवेशन भइरहेको छ।
‘हामी धमाधम जिल्ला अधिवेशन गरिरहेका छौँ। कात्तिक १५ सम्म जिल्ला अधिवेशन सक्ने कार्यतालिका रहे पनि प्रतिकूल मौसमका कारण प्रभावित भएकाले २२ गतेसम्म सबै जिल्ला अधिवेशन सक्ने तयारीमा छौँ,’ उहाँले भन्नुभयो।
सबै जिल्लाको अधिवेशन सम्पन्न भएपछि मंसिर ४ गते सातै प्रदेशको अधिवेशन गर्ने तयारी रहेको पनि कुइँकेलले जानकारी दिनुभयो।
इतर समूहले महाधिवेशन काठमाडौंको खुलामञ्चमा गर्ने निश्चित गरेको छ। कुइँकेलका अनुसार महाधिवेशनको उद्घाटन र बन्दसत्र खुलामञ्चमा हुनेछ भने भोजनको व्यवस्था भृकुटीमण्डपमा मिलाइनेछ। मतदानका लागि भने राष्ट्रियसभा गृह प्रयोग गरिने भएको छ।
आगामी मंसिर २१ देखि २३ गतेसम्मका लागि तय गरिएको महाधिवेशनमा करिब आठ हजार प्रतिनिधि सहभागी हुने उहाँले बताउनुभयो।
यसैबीच, गगनकुमार थापा नेतृत्वको संस्थापन पक्षले १५औँ महाधिवेशन सम्पन्न गरिसकेको छ। इतर समूह पनि छुट्टै महाधिवेशनको तयारीमा जुटेको हो।
गत पुसमा सम्पन्न विशेष महाधिवेशनपछि दुई समूहमा विभाजित भएको कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद अझै सर्वोच्च अदालतमा विचाराधीन छ। विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिको वैधतामाथि परीक्षण हुने भन्दै सर्वोच्च अदालतको पूर्ण इजलासले आधिकारिकता विवादमा पुनः सुनुवाइका लागि निस्सा दिएपछि इतर समूह नियमित महाधिवेशनको तयारीमा जुटेको हो।
केन्द्रीय निर्वाचन समिति संयोजक तोकेर महाधिवेशनको तयारी गरिरहेको उक्त समूहले चाँडै विभिन्न समिति गठन गर्ने जनाएको छ। निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले भने चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गरी समानान्तर गतिविधि गरिरहेको छ।
नेता कुइँकेलले कांग्रेसका दुई समूहबीच तत्काल एकता हुने सम्भावना न्यून रहेको बताउनुभयो।
‘अब दुई समूहबीच संवाद वा एकता हुने सम्भावना छैन। वडा अधिवेशनअगावै संयुक्त कार्यतालिका बनाऔँ भन्ने हाम्रो प्रस्ताव थियो, त्यसमा उहाँहरूले चासो दिनुभएन। अब एकता सम्भव देखिँदैन,’ उहाँले भन्नुभयो।
पार्टी विभाजन आफ्नो चाहना नभए पनि परिस्थिति बाध्यकारी बनेको उहाँको भनाइ छ।
‘हामी पार्टी विभाजन होस् भन्ने मनस्थितिमा थिएनौँ, तर बाध्यकारी बन्यो। कानुनीभन्दा पनि राजनीतिक रूपमा नै समस्याको टुङ्गो लगाऔँ भन्नेमा थियौँ, तर परिस्थिति त्यस्तो बनेन,’ उहाँले भन्नुभयो।







भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल
भोटेकोशी बाढी : एक हजार
बिपी राजमार्ग अवरुद्ध
कांग्रेसको मतगणना दिउँसो १ बजेपछि
१३ वर्षअघिको रक्तचन्दन तस्करी मुद्दामा
सडक भासिएपछि कलंकीमा मालवाहक सवारीसाधन