भोजपुर । आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठान, काठमाडौंले यस वर्षको षडानन्द राष्ट्रिय पुरस्कार नेपाली संस्कृतिविद् तथा समाजशास्त्री प्रा.डा. प्रेमकुमार खत्रीलाई प्रदान गर्ने निर्णय गरेको छ ।
प्रतिष्ठानको १३२ औँ बैठकले यस वर्षको षडानन्द राष्ट्रिय समाज सेवा पुरस्कार विश्रान्ती मन्दिर आश्रम, मूलघाट, धनकुटा र षडानन्द क्षेत्रीय पुरस्कार कवि जसराज किरातीलाई प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका सचिव प्रा.डा. बद्री विशाल भट्टराईले जानकारी दिए । प्रतिष्ठानले तीनवटै पुरस्कार आबाल ब्रह्मचारी षडानन्दको १९२ औँ जन्मजयन्ती तथा प्रतिष्ठानको वार्षिकोत्सवका अवसरमा आगामी मङ्सिर २८ गते विवाह पञ्चमीका दिन विशेष कार्यक्रमसहित प्रदान गर्नेछ ।
भोजपुरको पूर्वी प्याउलीको नौलपुरमा जन्मिएका प्रा.डा. खत्रीले त्रिभुवन विश्वविद्यालयमा विसं २०३० देखि २०६६ सम्म प्राध्यापककारूपमा सेवा गरि सकेका छन । उनले विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र अध्ययन संस्थानमा डिन, नेपाल तथा एसियाली अध्ययन केन्द्रका कार्यकारी निर्देशक तथा केन्द्रीय क्याम्पस कीर्तिपुरमा संस्कृति विभागका अध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।
प्रतिष्ठानका सचिव प्रा.डा. भट्टराईकाअनुसार संयुक्त राज्य अमेरिकाबाट मानवशास्त्रमा स्नातकोत्तर तथा विद्यावारिधी उपाधि प्राप्त गरेका खत्रीका समाजशास्त्र, मानवशास्त्र तथा नेपाली संस्कृतिसम्बन्धी नेपाली भाषामा १० र अंग्रेजी भाषामा चार पुस्तक प्रकाशित भएका छन् ।
एक लाख रुपैयाँ राशीको षडानन्द राष्ट्रिय पुरस्कार शिक्षा, संस्कृति, अध्यात्म, समाज सुधार तथा पर्यावरण संरक्षणमध्ये कुनै एक क्षेत्रमा योगदान पुर्याउने व्यक्ति वा संस्थालाई प्रतिष्ठानले प्रदान प्रदान गर्दै आईरहेको छ ।
यसैगरी, हरेक दुई वर्षमा प्रदान गरिने ५१ हजार रुपैयाँ राशीको षडानन्द राष्ट्रिय समाज सेवा पुरस्कार यस वर्ष विश्रान्ती मन्दिर आश्रमलाई प्रदान गरिने भएको छ । विसं २०४० मा स्थापित आश्रमले धार्मिक तथा सांस्कृतिक कार्यसँगै विपन्न परिवारलाई निःशुल्क दाहसंस्कार तथा क्रियाकर्मका सामग्री उपलब्ध गराउने, वृद्धाश्रम, गुरुकुलीय संस्कृत शिक्षा तथा स्वास्थ्य सेवा सञ्चालन गर्दै आएको छ ।
यस वर्षको षडानन्द क्षेत्रीय पुरस्कार भने खोटाङको बुइपामा जन्मभएका कवि जसराज किरातीलाई प्रदान गरिने सचिव प्रा.डा. भट्टराईले जानकारी दिए । किरातीले नेपाली कवितामा मौलिक धार निर्माण गर्दै साहित्यिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका छन् । ‘उज्यालो खोज्ने आँखाहरू’, ‘जसराज किरातीका कविताहरू’ तथा ‘जसराज किरातीका प्रतिनिधि कविता’ लगायतका कविता सङ्ग्रह किरातीका प्रकाशित छन् । उनी साहित्यिक पत्रिकाको सम्पादन तथा समाज सेवामा समेत सक्रिय छन् ।
षडानन्द क्षेत्रीय पुरस्कार पूर्वाञ्चलमा शिक्षा, संस्कृति तथा साहित्यका क्षेत्रमा योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई २०७१ सालदेखि प्रदान गरिँदै आएको छ ।







कांग्रेसको १५औँ महाधिवेशनमा मतदान जारी
दुई महिनाका लागि ७० अर्ब
दशैँमा घर फर्किने यात्रुको गोंगबु
चौध वर्षीया बालिकालाई जबरजस्ती करणी
दुर्गमदेखि विपन्न समुदायसम्म सहुलियतपूर्ण ऊर्जा
पोखरा स्कुल बस दुर्घटना :