काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सर्वोच्च अदालतका विवादित न्यायाधीशमाथि महाभियोग लगाउने विषयमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विपक्षी दलहरूसँग संवाद र परामर्श गर्नुपर्ने बताउनुभएको छ ।
मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस विषयमा रास्वपाले अहिलेसम्म विपक्षी दलहरूसँग औपचारिक संवाद अघि बढाएको जानकारी आफूलाई नभएको बताउनुभयो ।
महाभियोगको विषयमा सबैभन्दा पहिले सत्तापक्षले आफ्नो धारणा स्पष्ट पार्नुपर्ने उहाँको भनाइ छ । सत्तापक्षले विषयलाई स्पष्ट रूपमा अघि बढाएपछि राजनीतिक दलहरूबीच संवाद र सहमतिका आधारमा निकास खोज्न सकिने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यसको प्रयास सबैभन्दा पहिला सत्तापक्षले नै गर्नुपर्छ । यस विषयमा उहाँहरूले संवाद अघि बढाउनुभएको छैन । सत्तापक्षले आफूलाई कसरी प्रस्तुत गर्छ र विषयवस्तुलाई कसरी अघि बढाउँछ भन्ने कुराले पनि निकास निर्धारण गर्छ । उहाँहरूले विषय अघि बढाएपछि पार्टीहरू बस्नैपर्छ । सबैभन्दा पहिले उहाँहरू स्पष्ट भएर विषयवस्तु बाहिर ल्याउनुपर्छ, त्यसपछि दलहरूको धारणा स्वतः बन्छ ।’
यसैबीच, नेकपा एमालेकी उपनेता पद्मा अर्यालले सर्वोच्च अदालतका न्यायाधीश तथा न्यायालयसँग जोडिएका समाचार सार्वजनिक हुँदैमा कसैलाई दोषी ठहर गर्न नमिल्ने बताउनुभएको छ ।
सार्वजनिक भएका विषयले न्यायालयप्रति जनताको विश्वासमा असर पार्न सक्ने भएकाले निष्पक्ष र गहिरो छानबिन आवश्यक रहेको उहाँको भनाइ छ । त्यसका लागि न्याय परिषद्, सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) वा संसद्को समितिमार्फत छानबिन गर्न सकिने उहाँले बताउनुभयो ।
महाभियोग प्रस्ताव संसद्मा दर्ता भएको अवस्थामा सभामुखले कार्यव्यवस्था परामर्श समितिसँगको परामर्शमा ११ सदस्यीय छानबिन समिति गठन गर्न सक्ने व्यवस्था नियमावलीमा रहेको पनि उहाँले जानकारी दिनुभयो ।
अर्यालले भन्नुभयो, ‘प्रधानन्यायाधीश र न्यायाधीशहरूसँग जोडिएर जुन खालका विषय सार्वजनिक भएका छन्, ती गम्भीर चिन्ताका विषय हुन् । न्यायालयमा किनबेच भयो भने त्योभन्दा डरलाग्दो कुरा केही हुँदैन । त्यसैले सार्वजनिक भएका विषयको निष्पक्ष र गहिरो अध्ययन तथा छानबिन हुनुपर्छ । समाचार आउँदैमा सबै दोषी हुन् भन्ने निष्कर्षमा पुग्न सकिँदैन । आएका सबै समाचार सत्य हुन्छन् भन्ने पनि हुँदैन । कुनै तथ्यले पुष्टि गरेमा भने त्यो गम्भीर विषय बन्छ ।’
पक्राउ परेका बिचौलिया इनम सापकोटाको प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरूसँग सम्पर्क रहेको पाइएको विषय सार्वजनिक भएपछि न्यायाधीशमाथि महाभियोगको चर्चा सुरु भएको हो । तर, यस विषयमा बहुमतको सरकार सञ्चालन गरिरहेको रास्वपाले हालसम्म आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।







विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको
झलारीमा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता
चौध लाखभन्दा बढीका सामान र
परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल
सुर्खेतका जंगलबाट एकै दिन १८
सानेपामा कांग्रेसको मतगणना, विश्वप्रकाश पार्टी