काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी कानून आकर्षित हुने कसुरमा मेलमिलापको व्यवस्था लागू नहुने स्पष्ट पार्नुभएको छ ।
मंगलबार कानून, न्याय तथा मानव अधिकार समितिमा मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथिको छलफलमा उहाँले फौजदारी कसुर, घरेलु हिंसा तथा लैङ्गिक हिंसासम्बन्धी मुद्दा मेलमिलापबाट समाधान गर्न नसकिने बताउनुभयो ।
समाजमा दीर्घकालीन असर नपार्ने निश्चित प्रकृतिका व्यक्तिगत तथा वाणिज्यसम्बन्धी विवाद भने मेलमिलापमार्फत समाधान गर्न सकिने उहाँको भनाइ छ ।
मन्त्री गौतमका अनुसार अदालतमा पुगेका विवादलाई कम खर्चिलो, सहज र छिटो प्रक्रियाबाट समाधान गर्ने उद्देश्यले मेलमिलापसम्बन्धी ऐन, २०६८ संशोधन गर्न लागिएको हो । अदालतको लामो प्रक्रिया, समय र खर्चका कारण न्याय प्राप्तिमा हुने ढिलाइ कम गर्दै विवादका दुवै पक्षलाई चित्तबुझ्दो समाधान उपलब्ध गराउने लक्ष्य विधेयकले राखेको उहाँले बताउनुभयो ।
विधेयकमा पाँचभन्दा बढी न्यायाधीश कार्यरत रहेका अदालतमा प्रधानन्यायाधीशले तोकेको न्यायाधीशबाट मेलमिलापसम्बन्धी प्रक्रिया अघि बढाउने प्रस्ताव गरिएको छ । यद्यपि, न्यायाधीश स्वयंले मेलमिलाप गराउने व्यवस्थाको उपयुक्तताबारे समितिका सदस्यहरूले प्रश्न उठाएका थिए ।
जवाफमा मन्त्री गौतमले विवादका पक्षहरू न्यायाधीशसमक्ष पुग्दा न्याय निरूपणप्रति विश्वास र ढुक्क हुने वातावरण बन्न सक्ने भएकाले यस्तो व्यवस्था प्रस्ताव गरिएको बताउनुभयो ।
उहाँले मेलमिलापकर्ताको शैक्षिक योग्यतासम्बन्धी व्यवस्थामा पनि लचकता अपनाइएको जानकारी दिनुभयो । सामान्य अवस्थामा मेलमिलापकर्ता बन्न स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने प्रस्ताव गरिएको छ । तर, दुर्गम क्षेत्रमा त्यस्तो योग्यता भएको व्यक्ति उपलब्ध नभएमा माध्यमिक तह उत्तीर्ण वा सोसरहको शैक्षिक योग्यता भएको व्यक्तिले पनि मेलमिलापकर्ताका रूपमा काम गर्न सक्ने व्यवस्था विधेयकमा राखिएको उहाँले बताउनुभयो ।
मन्त्री गौतमले समितिमा सांसदहरूले विधेयकमाथि प्रस्तुत गरेका संशोधन प्रस्तावलाई दफावार छलफलका क्रममा सम्बोधन गर्न सरकार तयार रहेको पनि जानकारी दिनुभयो ।







अण्डाको उत्पादन र खपत बढाउन
पुरानो बस नचलाउन भनेका थियौँ
कति छ आज विदेशी मुद्राको
आश्विन कृष्ण औँसी : सोह्र
भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल
भोटेकोशी बाढी : एक हजार