म्याग्दी । कुनै समय म्याग्दीका गाउँघरमा पाक्ने भातको आफ्नै स्वाद थियो । खेतबारीमा पुस्तौँदेखि लगाइँदै आएका गौरिया, गुडुरा, फाँटैभरी, आँगा, ताकमारे र जौधानजस्ता रैथाने धानका जात किसानका रोजाइमा पर्थे । तर उन्नत जातका धानको विस्तारसँगै यी पुराना बीउ खेतबाट हराउँदै गए । अहिले भने स्वाद, पोषण र स्थानीय पहिचानको महत्त्व बुझ्न थालेपछि केही किसान फेरि रैथाने धानखेतीतर्फ आकर्षित हुन थालेका छन् ।
म्याग्दीको बेनी नगरपालिका अन्तर्गत ज्यामरुककोट, रत्नेचौर, पुलाचौर र सिंगाका साथै मंगला गाउँपालिकाको छिसबाङ, रणबाङ र बाबियाचौर तथा धौलागिरि गाउँपालिकाको ताकम र धारापानीलगायतका गाउँमा यस वर्ष गौरिया र गुडुरा धान झुलेका छन् । स्थानीय जातका धानले खेतबारीमा पुरानो कृषि परम्पराको झल्को दिन थालेका छन् ।
उत्पादन कम हुने र रोगकीराको जोखिम बढी हुने समस्याका कारण विगतमा किसान उन्नत जातका बीउतर्फ आकर्षित भएका थिए । तर स्थानीय बीउ हराउँदै जान थालेपछि अहिले पुराना जातको संरक्षणमा चासो बढ्न थालेको छ ।
मंगला गाउँपालिका–५ छिसबाङकी किसान मंगली पुनका अनुसार स्थानीय तहले रैथाने बालीको संरक्षण र प्रवर्द्धनमा चासो देखाउन थालेपछि किसानमा पनि पुराना जातका धानप्रति आकर्षण बढेको छ ।
रैथाने धानखेतीमा श्रम र लागत बढी लाग्ने, उत्पादन कम हुने तथा रोगकीराको प्रकोप देखिने समस्याले विगतमा किसान निरुत्साहित भएका थिए । बजारमा उन्नत जातका बीउ सहजै पाइन थालेपछि स्थानीय बीउको प्रयोग क्रमशः घट्दै गएको थियो ।
बेनी नगरपालिका–२ का किसान चन्द्रबहादुर कार्कीले स्थानीय जातका बीउ हराउँदै जान थालेपछि यसको संरक्षणको आवश्यकता महसुस गरेर खेती सुरु गरेको बताउनुभयो । उहाँले आफ्नो खेतमा गौरिया र जेठोबुढो धान लगाउनुभएको छ ।
कार्कीका अनुसार उन्नत जातको तुलनामा रैथाने धानको उत्पादन कम भए पनि स्वादिलो र पोषणयुक्त हुने भएकाले बजारमा राम्रो मूल्य पाउने गरेको छ । यही कारण उहाँले पछिल्ला तीन वर्षदेखि स्थानीय जातकै बीउ प्रयोग गर्दै आउनुभएको छ ।
उन्नत जातको धान कम जमिनमा पनि बढी उत्पादन लिन सकिने भएकाले धेरै किसान त्यसतर्फ आकर्षित भएका हुन् । कार्कीको अनुभवमा पाँचदेखि सात मुरी धान फल्ने खेतमा उन्नत जात लगाउँदा ३० देखि ३५ मुरीसम्म उत्पादन हुन्छ । उत्पादनको यही अन्तरले पनि स्थानीय जातका धान विस्थापित हुँदै गएको उहाँको भनाइ छ ।
यद्यपि रैथाने धानका आफ्नै विशेषता छन् । स्थानीय किसानका अनुसार यस्ता धानमा प्रोटिन, कार्बोहाइड्रेट, आइरन र क्याल्सियम पाइन्छ । खेतीमा गाईभैँसीको मल प्रयोग हुने र रासायनिक मलमाथिको निर्भरता कम हुने गरेको पनि किसान बताउँछन् ।
कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार नयाँनयाँ उन्नत जातका धानका बीउ भित्रिने क्रम बढेसँगै जिल्लामा स्थानीय जातका धानखेती घट्दै गएको छ । उन्नत बीउको विस्तारले उत्पादन बढाउन सहयोग पुगे पनि स्थानीय जातको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । नयाँ जातका धानमा समेत विभिन्न रोगको प्रकोप देखिन थालेको किसानको अनुभव छ ।
मंगला गाउँपालिका–२ रणबाङका किसान हरिकृष्ण पौडेलले बजारमा उन्नत जातका बीउ सहजै पाइन थालेपछि किसानले विस्तारै रैथाने बीउ लगाउन छाडेको बताउनुभयो । स्थानीय जातका धान संरक्षण गर्नुपर्ने माग किसानले सम्बन्धित निकायसमक्ष पनि राख्दै आएका छन् ।
किसानको रोजाइमा उत्पादन मात्र नभई बजार मूल्य र खेतीको सहजताले पनि प्रभाव पार्ने गरेको छ । जग्गाको क्षेत्रफल घट्दै जानु, जनसङ्ख्या बढ्नु र खाद्यान्नको आवश्यकता पूरा गर्नुपर्ने दबाबले किसान बढी उत्पादन दिने जातको खोजीमा लागेका छन् । तर यस क्रममा पुस्तौँदेखि जोगाइएका स्थानीय बीउ र तिनसँग जोडिएको कृषि ज्ञानसमेत हराउने जोखिम बढेको छ ।
रैथाने धान मात्र नभई म्याग्दीका अन्य स्थानीय बाली तथा बीउबिजन पनि संकटमा छन् । करिब एक दशकअघिसम्म गाउँघरमा उत्पादन हुने खाद्यान्न, हिउँदे बाली, दलहन, तेलहन, फलफूल तथा जनेलो, सिलाम, आँगा, मर्सी, गुडुरा, गौरिया, जौधान, घैया र उवालगायतका बालीका बीउ हराउँदै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
आयातित बीउबिजनको प्रयोग बढेसँगै किसानले घरका भित्तामा फर्सी, काँक्रा र घिरौँलाजस्ता बालीका बीउ सुकाएर राख्ने परम्परासमेत छाड्दै गएका छन् । धान, गहुँ र मकैका लागि आवश्यक बीउ आफैँले जोगाएर राख्ने चलन पनि घटेको छ ।
मंगला गाउँपालिका–५ की भूमिसरा बुढाथोकीका अनुसार धानबालीसँगै गाउँघरमा पाइने स्थानीय प्राकृतिक स्रोत, तिनको उपयोग गर्ने परम्परागत सीप तथा उच्च पहाडी र हिमाली क्षेत्रमा पाइने विशेष वनस्पति एवं जैविक स्रोतसमेत लोप हुने अवस्थामा पुगेका छन् । स्थानीय पहिचान बोकेका यस्ता स्रोतको संरक्षणमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।
म्याग्दीमा करिब दुई हजार २५० हेक्टर क्षेत्रफलमा कोदो र तीन हजार ८९० हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । जिल्लामा गौरिया, गुडुरा, जेठोबुढो, जर्नेली, पहेँले, मर्सी, ताकमारे, भट्टे, छमरुङ, माछापुच्छ्रे, अन्नपूर्ण–३, खुमल–४, खुमल–१० र लुम्ले–२ लगायतका धानका जात खेती हुँदै आएका छन् ।







दुई महिनाका लागि ७० अर्ब
दशैँमा घर फर्किने यात्रुको गोंगबु
चौध वर्षीया बालिकालाई जबरजस्ती करणी
दुर्गमदेखि विपन्न समुदायसम्म सहुलियतपूर्ण ऊर्जा
पोखरा स्कुल बस दुर्घटना :
लागूऔषधसहित देशका विभिन्न स्थानबाट २१