काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले नेकपा (एमाले) भित्र असन्तुष्ट भएर बसेका नेता तथा कार्यकर्तालाई विद्रोह गरेर आफ्नो पार्टीमा आउन आह्वान गर्नुभएको छ ।
मंगलबार काठमाडौंमा आयोजित नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीचको एकता घोषणा कार्यक्रममा बोल्दै उहाँले एमाले व्यक्ति विशेषको कब्जामा परेको टिप्पणी गर्नुभयो । पार्टीभित्र उकुसमुकुस भएर बसेका नेता तथा कार्यकर्तालाई विद्रोह गरी एकता प्रक्रियामा सहभागी हुन उहाँले आग्रह गर्नुभयो ।
नेपालले मुलुकका विद्यमान समस्या समाधान गर्न कम्युनिस्ट शक्तिहरू एकताबद्ध हुनुपर्ने बताउनुभयो । उहाँले मोहनविक्रम सिंह, मोहन वैद्य र नेत्रविक्रम चन्द नेतृत्वका कम्युनिस्ट घटकलाई समेत समाजवाद निर्माणको उद्देश्यसहित एकतामा आउन आह्वान गर्नुभयो ।
विगतमा नेत्रविक्रम चन्दसहितका नेताहरूसँग मिलेर समाजवादी मोर्चा निर्माण गरेको स्मरण गर्दै उहाँले उक्त मोर्चामार्फत देशव्यापी अभियान सञ्चालन गर्दा हजारौँ कार्यकर्ता आन्दोलनमा जोडिएको बताउनुभयो ।
नेपालले उपेन्द्र यादव नेतृत्वको समूहलाई पनि सहकार्यका लागि आह्वान गर्नुभयो । राष्ट्रियताको रक्षा, संविधान र गणतन्त्रको संरक्षण, समावेशिताको नीति तथा जनअधिकारको रक्षाका लागि विभिन्न राजनीतिक शक्तिबीच एकता र सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो ।
उहाँले विश्वव्यापी रूपमा कम्युनिस्ट आन्दोलनप्रति देखिएको निराशा र विभिन्न देशमाथि भइरहेको अमेरिकी हस्तक्षेपप्रति चिन्ता व्यक्त गर्नुभयो । नेपाललाई समेत अमेरिकी रणनीतिक स्वार्थ पूरा गर्ने स्थलका रूपमा हेरिएको भन्दै उहाँले राष्ट्रिय स्वार्थको संरक्षणका लागि कम्युनिस्ट शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
कम्युनिस्ट आन्दोलनप्रति देखिएको निराशा अब हट्दै गएको उल्लेख गर्दै नेपालले आफ्नो पार्टीप्रति देशभित्र र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका नेताहरूले आशा र अपेक्षा राखेको दाबी गर्नुभयो ।
राष्ट्रिय स्वार्थको संरक्षण र राजनीतिक उपलब्धिको रक्षाका लागि कम्युनिस्ट मात्रै नभई अन्य राजनीतिक शक्तिसँग पनि एकता र सहकार्य गरेर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।







दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका
दुर्गा पूजाकाे भागदौडमा परी मृत्यु
बडादशैँको रौनक गाउँघरतर्फ सोझिएसँगै काठमाडौं