काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको वर्तमान परिस्थितिमा सबै कम्युनिस्ट शक्तिहरू एकताबद्ध हुनुपर्ने बताउनुभएको छ ।
मंगलबार नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच आयोजित पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै उहाँले नेकपा एमालेदेखि विभिन्न धारामा विभाजित माओवादी समूहसम्मलाई एकताबद्ध गर्ने जिम्मेवारी सबैको काँधमा रहेको बताउनुभयो ।
प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली, मोहनविक्रम सिंह, मोहन वैद्य ‘किरण’ र नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतका कम्युनिस्ट नेताहरूलाई एकता प्रक्रियामा सहभागी हुन अपिल गर्नुभयो ।
देश असाधारण संकटमा रहेको उल्लेख गर्दै उहाँले व्यक्तिगत आग्रह–पूर्वाग्रह र संकीर्णता त्यागेर राष्ट्रलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “आज देश असाधारण संकटमा छ । यस्तो बेला सबैले आफ्नो सोचाइ, बुझाइ र भावनालाई अझ फराकिलो बनाउनुपर्छ । सबैखाले आग्रह, पूर्वाग्रह र संकीर्णताबाट मुक्त भएर राष्ट्र र देशलाई प्राथमिकतामा राख्दै एकताबद्ध हुनु आजको आवश्यकता हो ।”
प्रचण्डले विगतमा पनि कम्युनिस्ट एकताका लागि आफूले विभिन्न प्रयास गरेको स्मरण गर्नुभयो । शान्ति सम्झौतापछि कम्युनिस्टहरू एक हुनुपर्ने प्रस्ताव आफूले पहिलोपटक अघि सारेको र संविधान जारी भएपछि तत्कालीन नेकपा एमालेसँग एकताका लागि पहल गरेको उहाँको भनाइ थियो ।
तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी एकता र निर्वाचनमा सहकार्यका लागि प्रस्ताव गर्न आफू गएको स्मरण गर्दै उहाँले एकता सम्भव बनाउन प्रधानमन्त्री पदसमेत ओलीलाई नै दिने प्रस्ताव गरेको बताउनुभयो ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकताले देशभरका नेता तथा कार्यकर्तामा उत्साह र समाजवादतर्फ अघि बढ्ने विश्वास पैदा गरेको प्रचण्डले बताउनुभयो । उक्त एकताबाट झन्डै दुईतिहाइ बहुमत प्राप्त गर्ने अवसर मिलेको भए पनि त्यसलाई लामो समय टिकाउन नसकिएको उहाँको भनाइ थियो ।
तीन वर्ष पनि एकता कायम राख्न नसकिएकोप्रति उहाँले दुःख व्यक्त गर्नुभयो ।
यसैबीच, प्रचण्डले नेपाली कम्युनिस्ट पार्टीकी नवनियुक्त महासचिव उमा भुजेलको राजनीतिक योगदानको प्रशंसा गर्नुभयो । उहाँले भुजेललाई तीनवटा महत्त्वपूर्ण राजनीतिक फड्को मार्न सफल नेताका रूपमा चित्रण गर्नुभयो ।
सशस्त्र विद्रोहका क्रममा प्रहरी चौकी कब्जा र गोरखा जेल ब्रेकको नेतृत्व गर्न भुजेलले खेलेको भूमिकाको स्मरण गर्दै प्रचण्डले अहिले विभिन्न क्रान्तिकारी समूहलाई एकताबद्ध गर्न पनि उहाँले भूमिका खेलेको बताउनुभयो ।
भुजेलले प्रहरी चौकी कब्जा र गोरखा जेल ब्रेकको नेतृत्व गरेर आफ्नो साहस र क्षमता प्रमाणित गरेको उल्लेख गर्दै उहाँले पछिल्लो समय विभिन्न क्रान्तिकारी युवा नेताहरूलाई एकताबद्ध गर्दै पार्टी एकतामा योगदान पुर्याएको बताउनुभयो ।
प्रचण्डले एकताको अभियानलाई थप अघि बढाउँदै देशमा कम्युनिस्ट शक्तिहरूको नेतृत्व स्थापित गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी जित्छौँ, हामीले नै जित्नुपर्छ देशमा, अरूले जितेर हुँदैन।”







सरकारले सिफारिसमा राष्ट्रपतिद्वारा अध्यादेश जारी
पचरौता नगरपालिकाका वडाध्यक्षविरुद्धको भ्रष्टाचार मुद्दामा
परराष्ट्र मन्त्रालयले भन्याे : प्रधानमन्त्रीको
दशैँ–तिहार लक्षित बजार अनुगमन तीव्र,
इनम सापकोटा पक्राउविरुद्धको बन्दी प्रत्यक्षीकरण
सेन्चुरी मसलाको नयाँ एयरटाइट जार