रौतहट । रौतहटमा तीनवटा खुट्टा भएकी नवजात बालिकाको जन्म भएको छ। असामान्य शारीरिक बनावट भएकी बालिकाको जन्म भएपछि स्थानीय क्षेत्रमा चासो बढेको छ।
राजपुर नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र फरहदवामा सोमबार बिहान बालिकाको जन्म भएको हो। गुजरा नगरपालिका–८ कनकपुर निवासी २८ वर्षीया नुसिदा खातुनले बिहान करिब ५ बजे सामान्य प्रसूतिमार्फत बालिकालाई जन्म दिएको स्वास्थ्य केन्द्रले जनाएको छ।
प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख स्वास्थ्यकर्मी रामेश्वर मिश्रका अनुसार नवजात बालिकाको तौल तीन किलोग्राम रहेको छ। जन्मलगत्तै गरिएको प्रारम्भिक स्वास्थ्य परीक्षणमा बालिकाको अवस्था सामान्य पाइएको उनले जानकारी दिए।
बालिकाको शरीरमा दुईवटा सामान्य खुट्टासँगै देब्रे तिघ्राको भागमा अर्को अतिरिक्त खुट्टा जोडिएको छ। अतिरिक्त खुट्टा अन्य दुई खुट्टाको तुलनामा केही पातलो भए पनि त्यसमा नङसमेत स्पष्ट देखिएको स्वास्थ्यकर्मीहरूले बताएका छन्।
बालिकाको असामान्य शारीरिक अवस्थालाई ध्यानमा राख्दै थप परीक्षण तथा उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पताल लैजान चिकित्सकहरूले सुझाव दिएका थिए। स्वास्थ्यकर्मी आजाद हुसैनका अनुसार चिकित्सकको सल्लाहबमोजिम थप उपचारका लागि पठाउने तयारी भए पनि परिवारका सदस्यहरूले आपसी सल्लाहपछि बालिकालाई स्वास्थ्य केन्द्रबाट घर लगेका छन्।
यसैबीच, घटनाबारे जानकारी पाएपछि राजपुर नगरपालिकाका नगरप्रमुख डा. राजीक आलमले जटिल शारीरिक अवस्था भएकी शिशुको जन्मपछि स्वास्थ्यकर्मी तथा प्रसूति सेवामा संलग्न कर्मचारीहरूले देखाएको तत्परता र सेवाभावको प्रशंसा गरेका छन्। उनले बालिकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै स्वास्थ्यकर्मीहरूको जिम्मेवारीप्रति सम्मान व्यक्त गरेका छन्।
बालिकाको शरीरमा अतिरिक्त खुट्टा जोडिनुको कारण, त्यसको प्रकृति तथा शल्यक्रियामार्फत हटाउन सकिने सम्भावनाबारे विशेषज्ञ चिकित्सकको परामर्श र विस्तृत परीक्षणपछि मात्रै यकिन हुने बताइएको छ।







बधाई गगन ! चुनौतीका चाङसहितको
दुर्गा पक्षको दोस्रो दिन :
कति छ आज विदेशी मुद्राको
प्राचार्य कुटपिटमा सङ्लग्न पक्राउ
आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती
सहरको स्वादका लागि छुट्छ हिमालको