काठमाडौं । सरकारले प्रेस काउन्सिल ऐन संशोधनसहित दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रेस काउन्सिल ऐन, २०४८ संशोधनसम्बन्धी अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिनुभएको हो।
बैठकले सडक सुधारका लागि एसियाली विकास बैंक (एडीबी) बाट प्राप्त हुने २८५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण र २० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णयसमेत गरेको छ।
त्यस्तै, नेपाल पुनर्बिमा कम्पनी लिमिटेडमा सरकारको थप हकप्रद सेयर लगानी गर्न सहमति प्रदान गर्ने निर्णय भएको मन्त्री पोखरेलले जानकारी दिनुभयो।
बैठकले नानो फर्टिलाइजर, बायोस्टिमुलेन्ट तथा व्यावसायिक रूपमा उत्पादन र बिक्री वितरण हुने जैविक एवं प्राङ्गारिक मललाई आवश्यक पदार्थको सूचीमा समावेश गर्ने निर्णय गरेको छ। साथै, मल नियन्त्रण आदेश, २०८३ पनि स्वीकृत गरेको छ।
यसैगरी, टर्कीको आन्ताल्यामा आयोजना हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन उच्चस्तरीय प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने निर्णय भएको छ। उक्त सम्मेलन २०८३ कात्तिक २३ देखि मंसिर ४ गतेसम्म सञ्चालन हुनेछ।
मन्त्रिपरिषद् बैठकले मोही लागेको जग्गाको जग्गाधनी र मोहीबीच जग्गा बाँडफाँट प्रक्रिया अघि बढाउने समयसीमासमेत थप गरेको छ।
मन्त्री पोखरेलका अनुसार जग्गा बाँडफाँट गरी लिन निवेदन दिने अवधि २०८५ कात्तिकसम्म र जग्गाधनी तथा मोहीबीच बाँडफाँट प्रक्रिया टुंग्याउने अवधि २०८६ असार मसान्तसम्म थप गर्ने निर्णय भएको छ। यसका लागि नेपाल राजपत्रमा सूचना प्रकाशन गर्न बैठकले स्वीकृति दिएको छ।




जलवायु परिवर्तनले नेपालमा पारेको क्षति
लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना
खाद्य व्यवस्था कम्पनीको सीईओका लागि
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक
रास्वपाका उम्मेदवार बन्न वैवाहिक अवस्था,
नारायणी नदीमा डुबेर आमा-छोरा बेपत्ता