भोजपुर । पर्यटकीय पदमार्ग क्षेत्रहरुमा होमस्टे खुल्नेक्रम बढेसँगै कानुनी दायरामा ल्याउने बिषयमा पनि कोशी प्रदेशमा छलफल तथा अन्तरक्रिया सुरु भएको छ ।
कोशी प्रदेशका प्रमुख पर्यटकीय पदमार्ग क्षेत्रहरूमा सञ्चालित तथा नयाँ सञ्चालन गर्न इच्छुक होमस्टेहरूलाई कानुनी दायरामा ल्याउन प्रदेश सरकारले विशेष ‘होमस्टे दर्ता शिविर’ सञ्चालन गर्ने तयारी थालेको हो ।
प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालय पर्यटन महाशाखाको आयोजनामा मंगलवार भोजपुरमा शिविर सञ्चालन पूर्व सरोकारवाला निकायहरूसँग समन्वयात्मक छलफल कार्यक्रम गरिएको छ । पदमार्गहरुमा होमस्टे खुल्नेक्रम बढेसँगै कानुनी प्रक्रियाअनुसार सञ्चालनका विषयमा मन्त्रालयले सरोकारवालाहरुसँग छलफल गरेको डिभिजन वन कार्यालय भोजपुरका प्रमुख खुद्रुस मियाँले जानकारी दिनुभयो ।
भोजपुर र खोटाङ जिल्ला जोड्ने प्रसिद्ध मुन्दुम ट्रेल, तेह्रथुम र संखुवासभा जिल्लाको लालीगुराँस क्षेत्र, पाँचथर र इलाम जिल्लाको फाल्गुनन्द क्षेत्र तथा इलामको चियाबारी क्षेत्रका पदमार्गहरूमा पूर्वाधार निर्माणका कार्यहरू भइरहेका छन् । सोसँगै हामेस्टे तथा गोठस्टेहरु समेत सञ्चालनमा आउन थालेपछि कानुनीरुपमा सञ्चालनका लागि सरोकारवालासँग छलफल गरिएको हो ।
मुन्दुम पदमार्ग क्षेत्रमा बिशेष गरेर बन क्षेत्र पर्ने भएकाले वन सम्वन्धी प्रदेश र संघका कानुनहरु संशोधन गरी सहजरुपमा हामेस्टेहरु सञ्चालनको वातावरण बनाउनु पर्ने टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले त वन कानुनहरु संशोधन गर्न आवश्यक देखिन्छ, सो पश्चात सहजरुपमा दर्ता प्रक्रियामा गएर होमस्टे सञ्चालनको वातावरण बन्छ ।” मुन्दुम पदमार्ग क्षेत्रमा होमस्टे र गोठस्टेहरु सञ्चालनमा छन् ।
यी पदमार्गहरूमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई स्थानीयस्तरमै सुरक्षित आवास, मौलिक परिकार र स्थानीय संस्कृति एवं जीवनशैलीको प्रत्यक्ष अनुभव गराउन होमस्टेको भूमिका निर्णायक रहने सरोकारवालाहरूको भनाइ रहेको छ । तर, हाल दुर्गम तथा ग्रामीण क्षेत्रमा सञ्चालनमा रहेका र सञ्चालन गर्न इच्छुक धेरै होमस्टेहरू कानुनीरूपमा दर्ता हुन सकेका छैनन् ।
त्यसलाई आवश्यक कानुनी मापदण्ड र प्रक्रियाबारे जानकारीको कमी, सम्बन्धित सरकारी निकायहरूबीच पर्याप्त समन्वयको अभाव तथा दर्ता प्रक्रियाका लागि सदरमुकाम वा प्रादेशिक कार्यालयसम्म धाउनुपर्ने बाध्यताका कारण ग्रामीण पर्यटन व्यवसायीहरूले कठिनाइ भोग्दै आएकाले होमस्टे दर्ताको घुम्ति शिविर संचालनको तयारीमा पर्यटन वन तथा वातावरण मन्त्रालय लागेको छ ।
छलफलमा भोजपुरका नगरपालिका, गाउँपालिकाका प्रमुख तथा उपप्रमुख, डिभिजन वन कार्यालय प्रमुख, होमस्टे सञ्चालकलगायतका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।







प्राचार्य कुटपिटमा सङ्लग्न पक्राउ
आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती
सहरको स्वादका लागि छुट्छ हिमालको
कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता
कांग्रेस उपसभापतिमा भण्डारी र आचार्य,
हराउन थाले दसैँका परम्परागत पिङ