ढाका । साफ पुरुष च्याम्पियनसिप खेल्न बंगलादेशको राजधानी ढाका पुगेको भारतीय फुटबल टोलीले सुरुमै असहज परिस्थिति सामना गर्नुपरेको छ । आयोजकले होटल व्यवस्थापनमा लापरबाही गरेको भन्दै भारतीय पक्षले असन्तुष्टि जनाएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार ढाका पुगेको भारतीय टोलीलाई सुरुमा गुल्शन एभेन्युस्थित होटलमा राख्ने व्यवस्था गरिएको थियो । तर, टोली होटल पुग्दा बुकिङ नै नभएको भन्दै खेलाडीलाई कोठा उपलब्ध गराइएन । दिउँसो २ः१५ बजे ढाका अवतरण गरेको टोलीले अपराह्न ५ बजेसम्म पनि होटलको कोठा पाउन सकेन ।
लामो समय होटलमै अलमलिनुपरेपछि अन्ततः भारतीय टोलीलाई अर्को होटलमा स्थानान्तरण गरिएको थियो । प्रतियोगितामा सहभागी हुन पुगेको टोलीले सुरुमै भोग्नुपरेको यो समस्याले आयोजकको व्यवस्थापनमाथि प्रश्न उठाएको छ । मैदानबाहिरको यो असहजताका बीच भारत भने प्रतियोगितामा उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदानमा उत्रँदैछ । भारतले सन् २०२३ मा बेंगलुरुमा सम्पन्न फाइनलमा कुवेतलाई पराजित गर्दै उपाधि जितेको थियो । यसपटक भारतको लक्ष्य दशौँपटक च्याम्पियन बन्ने रहेको छ ।
यद्यपि, भारतले यसपटक प्रतियोगितामा युवा खेलाडीलाई प्राथमिकता दिएको छ । भारतीय फुटबल महासंघले नै टोलीमा समावेश २८ खेलाडी दोस्रो रोजाइका रहेको पुष्टि गरेको छ । टोलीको मुख्य प्रशिक्षकमा यू-२३ टिमका प्रशिक्षक नौशाद मुसा हुनुहुन्छ भने बिबियानो फर्नान्डेज सहायक प्रशिक्षकको भूमिकामा हुनुहुन्छ ।
भारतको सिनियर राष्ट्रिय टोली अहिले न्युजिल्याण्ड भ्रमणमा रहेकाले पनि साफका लागि बलियो टोली उपलब्ध छैन । सिनियर टोलीले नोभेम्बर १२ र १५ मा न्युजिल्याण्डसँग खेल्ने तालिका छ । अर्कोतर्फ, इण्डियन सुपर लिग सञ्चालन भइरहेकाले क्लबहरूले पनि आफ्ना खेलाडी रिलिज गरेका छैनन् । यही कारण भारतले सुरुमा १८ खेलाडीमात्रै ढाका पठाएको हो । बाँकी १० खेलाडीलाई केही दिनपछि बंगलादेश पठाउने तयारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
साफ पुरुष च्याम्पियनसिपको १५औँ संस्करण नोभेम्बर ५ देखि १७ सम्म ढाकामा आयोजना हुँदैछ । यसपटक नियमित सहभागी नेपाल भने प्रतियोगितामा सहभागी छैन । फिफाको प्रतिबन्धका कारण नेपालले सहभागिता जनाउन नपाएको हो । प्रतियोगिताको समूह ‘ए’ मा आयोजक बंगलादेशसँगै भुटान र श्रीलंका छन् । समूह ‘बी’ मा भारत, माल्दिभ्स र पाकिस्तान रहेका छन् । दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । एजेन्सी







जलवायु न्याय माग्ने नेपालको आधार
कञ्चनपुरमा १६ लाख ८७ हजार
वेस्ट बैंकमा यहुदी बस्ती विस्तारकको
पार्टीभित्रको गुटगत असन्तुष्टि र असहमतिलाई
काँग्रेसलाई नयाँ पुस्ताको जोश र
गगन थापाको नेतृत्वमा काँग्रेस रूपान्तरण