काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बल र ब्याटबीचको प्रतिस्पर्धा चलिरहँदा दर्शकको ध्यान तान्ने अर्को आकर्षण पनि छ- विभिन्न जनावर र पौराणिक पात्रको स्वरूपमा मैदानमा देखिने मस्कट । खेलाडीले ब्याटिङ र बलिङमार्फत् दर्शकलाई रोमाञ्चित बनाइरहँदा यी मस्कटले नाचगान, हाउभाउ र रमाइला गतिविधिमार्फत् क्रिकेटको माहोललाई थप मनोरञ्जनपूर्ण बनाइरहेका छन् ।
नेपाल प्रिमियर लिग (एनपिएल) को मैदानमा अहिले खेलाडीको प्रदर्शन, चौका-छक्का र समर्थकको हुटिङसँगै मस्कटको उपस्थितिले पनि छुट्टै रौनक थपेको छ । खेलको तनावपूर्ण क्षण होस् वा दर्शकदीर्घामा उत्साह छाउने समय, मस्कटहरू कहिले गीतको तालमा नाचिरहेका हुन्छन् त कहिले समर्थकसँग हात मिलाउँदै र रमाइलो गर्दै दर्शकको ध्यान खिचिरहेका हुन्छन् ।
एनपिएलमा सहभागी आठवटै फ्रेन्चाइज टोलीले आफ्नो क्षेत्रको भौगोलिक, सांस्कृतिक, भाषिक तथा प्राकृतिक पहिचान झल्किने प्रतीक पात्र छनोट गरेका छन् । त्यसैले यी मस्कट केवल टोलीको प्रचारात्मक पात्रमात्र होइनन्, आ-आफ्नो क्षेत्रको पहिचानलाई क्रिकेटसँग जोड्ने माध्यमसमेत बनेका छन् ।
कुनै टोलीले हिमाली क्षेत्रमा पाइने याकलाई आफ्नो प्रतीक बनाएको छ भने कुनैले चितवनको एकसिंगे गैँडा र सुदूरपश्चिमको बाघलाई रोजेको छ । पूर्वी नेपालको प्राकृतिक सम्पदाको प्रतिनिधित्व गर्ने अर्नादेखि हिमाली लोककथाको यती र हिन्दू पौराणिक परम्पराको गरुडसम्म एनपिएलको मैदानमा विभिन्न पहिचान एकै ठाउँमा देख्न सकिन्छ ।
विशेषगरी बालबालिका तथा परिवारसहित खेल हेर्न आउने दर्शकका लागि मस्कट अर्को आकर्षण बनेका छन् । खेलाडीलाई समर्थन गर्न मैदान पुगेका दर्शक मस्कटसँग तस्वीर खिच्न, उनीहरूसँग रमाइलो गर्न र नृत्यमा सहभागी हुन पनि उत्साहित देखिन्छन् । यसले क्रिकेटलाई केवल प्रतिस्पर्धात्मक खेलमा सीमित नराखी मनोरञ्जन र सांस्कृतिक प्रस्तुतिको साझा उत्सवसमेत बनाएको छ ।
आठ टोली, आठ प्रतीक : कसको मस्कट कस्तो ?
१. जनकपुर बोल्ट्स : ‘बौवा’, मधेसको आत्मीयता बोकेको सेतो हात्ती
जनकपुर बोल्ट्सले आफ्नो मस्कटका रूपमा सेतो हात्तीलाई छनोट गरेको छ । ‘बौवा’ नाम दिइएको यस पात्रले मधेसको भाषा र सांस्कृतिक आत्मीयतालाई प्रतिनिधित्व गर्छ । मैथिली भाषामा ‘बौवा’ शब्द छोरालाई मायाले सम्बोधन गर्दा प्रयोग गरिन्छ । नाममै स्थानीय भाषाको मिठास बोकेको यो मस्कटले जनकपुर बोल्ट्सलाई क्षेत्रीय पहिचानसँग जोडेको छ ।
२. काठमाडौं गोर्खाज : ‘दादा’, हिमाली रहस्यको प्रतीक यती
काठमाडौं गोर्खाजको मस्कट हिमाली लोककथामा वर्णन गरिने रहस्यमय पात्र यती हो । ‘दादा’ नाम दिइएको यस मस्कटले संरक्षक र मार्गदर्शकको भाव बोकेको छ । दाजुलाई सम्बोधन गर्ने अर्थ दिने ‘दादा’ नामले आत्मीयता र अभिभावकीय उपस्थितिलाई संकेत गर्छ । हिमाली जनजीवन र लोकविश्वाससँग जोडिएको यतीले काठमाडौं गोर्खाजलाई विशिष्ट पहिचान दिएको छ ।
३. चितवन राइनोज : ‘मिस्टर गैँडा’, चितवनको प्राकृतिक पहिचान
चितवन राइनोजले आफ्नो मस्कटका रूपमा एकसिंगे गैँडालाई अघि सारेको छ । ‘मिस्टर गैँडा’ नाम दिइएको यो पात्र चितवनको वन्यजन्तु र प्राकृतिक सम्पदाको प्रतिनिधि हो । चितवन राष्ट्रिय निकुञ्ज तथा त्यस क्षेत्रको जैविक विविधतासँग गैँडाको गहिरो सम्बन्ध रहेकाले यो मस्कट टोलीको नाम र क्षेत्रीय पहिचान दुवैसँग मेल खान्छ ।
४. सुदूरपश्चिम रोयल्स : ‘बड्डौ’, बाघको गर्जनमा क्षेत्रीय गौरव
सुदूरपश्चिम रोयल्सको मस्कट बाघ हो । ‘बड्डौ’ नाम दिइएको यस पात्रले सुदूरपश्चिमको प्राकृतिक सम्पदा, शक्ति र क्षेत्रीय गौरवलाई झल्काउँछ । डोटेली भाषासँग सम्बन्धित नामले यसलाई स्थानीय भाषिक पहिचानसँग पनि जोडेको छ । बाघको आक्रामकता, साहस र शक्तिलाई टोलीको प्रतिस्पर्धात्मक भावनासँग जोडेर प्रस्तुत गरिएको छ ।
५. विराटनगर किंग्स : ‘पूर्वेली राजा’, अर्नामा पूर्वको सामर्थ्य
विराटनगर किंग्सले आफ्नो मस्कटका रूपमा अर्ना अर्थात् जंगली भैंसीलाई छनोट गरेको छ । ‘पूर्वेली राजा’ नाम दिइएको यस पात्रले पूर्वी नेपालको पहिचान र कोशी क्षेत्रको प्राकृतिक सम्पदालाई प्रतिनिधित्व गर्छ । बलियो शरीर, शक्ति र सहनशीलताका लागि परिचित अर्नालाई टोलीले आफ्नो सामर्थ्य र आत्मविश्वासको प्रतीकका रूपमा प्रस्तुत गरेको छ ।
६. कर्णाली याक्स : ‘मिस्टर याक’, कठिन भूगोलको बलियो प्रतीक
कर्णाली याक्सको मस्कट हिमाली क्षेत्रमा पाइने याक हो । ‘मिस्टर याक’ नाम दिइएको यस पात्रले कर्णाली र हिमाली भूगोलको जीवनशैली तथा प्राकृतिक परिवेशलाई सम्झाउँछ । कठिन भौगोलिक अवस्था र प्रतिकूल मौसममा पनि सहजै अनुकूलन गर्न सक्ने याकलाई शक्ति, धैर्य र सहनशीलताको प्रतीक मानिएको छ । कर्णालीको पहिचानसँग मेल खाने यो मस्कटले टोलीको नामलाई थप अर्थपूर्ण बनाएको छ ।
७. पोखरा एभेन्जर्स : ‘गरुड’, पौराणिक शक्तिको उडान
पोखरा एभेन्जर्सले आफ्नो मस्कटका रूपमा पौराणिक पात्र गरुडलाई रोजेको छ । हिन्दू धर्मशास्त्रमा भगवान् विष्णुको वाहनका रूपमा वर्णन गरिने गरुड शक्ति, साहस, गति र पराक्रमको प्रतीक मानिन्छ । अन्य टोलीका मस्कटभन्दा फरक पौराणिक पात्रलाई आफ्नो पहिचान बनाएको पोखरा एभेन्जर्सले यसमार्फत् सांस्कृतिक र धार्मिक परम्परासँग पनि सम्बन्ध जोडेको छ ।
८. लुम्बिनी लायन्स : ‘सिंह राजा’, साहस र नेतृत्वको प्रतीक
लुम्बिनी लायन्सको मस्कट सिंह हो । ‘सिंह राजा’ नाम दिइएको यस पात्रले साहस, शक्ति, आत्मविश्वास र नेतृत्वको प्रतिनिधित्व गर्छ । टोलीको नाममै सिंहको पहिचान समेटिएकाले मस्कट र फ्रेन्चाइजको नामबीच प्रत्यक्ष सम्बन्ध देखिन्छ । सिंहको राजसी स्वरूपले टोलीको प्रतिस्पर्धात्मक छवि र गौरवलाई समेत अभिव्यक्त गर्छ ।
आठ टोलीभन्दा माथि एनपिएलको साझा पहिचान ‘जित’
आठवटा फ्रेन्चाइजका आ-आफ्नै मस्कट भए पनि एनपिएलले प्रतियोगिताको साझा पहिचानका रूपमा छुट्टै मस्कट अघि सारेको छ । हिउँ चितुवाको स्वरूपमा तयार गरिएको यस मस्कटको नाम ‘जित’ राखिएको छ ।
नेपाली भाषामा विजयको अर्थ दिने ‘जित’ नामले प्रतियोगिताको मूल भावना र सफलताको लक्ष्यलाई प्रतिनिधित्व गर्छ । आठवटै टोली आ-आफ्नो पहिचानसहित उपाधिका लागि प्रतिस्पर्धा गरिरहँदा ‘जित’ भने समग्र एनपिएलको साझा प्रतीकका रूपमा प्रस्तुत भएको छ ।
एनपिएलका मस्कटहरूलाई नजिकबाट नियाल्दा यो प्रतियोगिता क्रिकेटको प्रतिस्पर्धामा मात्र सीमित नरहेको देखिन्छ । याक, गैँडा, बाघ, अर्ना, हात्ती र सिंहजस्ता जनावरसँगै यती र गरुडजस्ता पौराणिक पात्रको उपस्थितिले नेपालको भौगोलिक तथा सांस्कृतिक विविधतालाई एउटै मैदानमा प्रस्तुत गरेको छ ।
यी मस्कटले आफ्नो टोलीको समर्थनमा दर्शकलाई उत्साहित बनाउनेमात्र होइन, नयाँ पुस्तालाई नेपालको वन्यजन्तु, स्थानीय भाषा, लोककथा र सांस्कृतिक पहिचानसँग परिचित गराउने अवसरसमेत दिएका छन् । क्रिकेट मैदानमा खेलाडीले रन, विकेट र उपाधिका लागि प्रतिस्पर्धा गरिरहँदा मस्कटहरूले दर्शकको अनुहारमा मुस्कान थपिरहेका छन् । खेलको नतिजा जे भए पनि दर्शकको सम्झनामा रहने रमाइला क्षण सिर्जना गर्नु नै उनीहरूको अर्को विशेषता बनेको छ ।
यसरी एनपिएलको मैदानमा आठ टोलीका आठ मस्कट र प्रतियोगिताको साझा मस्कट ‘जित’ ले क्रिकेटलाई मनोरञ्जन, संस्कृति र क्षेत्रीय पहिचानसँग जोड्ने काम गरेका छन् । ब्याट र बलको प्रतिस्पर्धाबीच मस्कटहरूको यो उपस्थितिले नेपाली क्रिकेटको उत्सवलाई थप रंगीन र जीवन्त बनाएको छ ।







नयाँ बसपार्कमा अग्रिम टिकट लिन
विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा
डोको बुन्दै, सीप सिकाउँदै
कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक
‘लमजुङ दरबार’सँगै बाँचेको माया
बाढीले पुलमा क्षति पुर्याएपछि यातायात