काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले संगठनभित्रका प्रहरी कर्मचारीका गुनासा सुन्न र सम्बोधन गर्न तत्काल संयन्त्र निर्माण गर्ने घोषणा गर्नुभएको छ ।
गृहमन्त्री सुदन गुरुङबाट दज्र्यानी चिह्न प्राप्त गरेपछि उहाँले विशेषगरी प्रहरी जवान र हवल्दार तहका कर्मचारीका समस्या तथा गुनासा सुन्ने संयन्त्रलाई प्राथमिकताका साथ गृह मन्त्रालयमै सञ्चालन गरिने बताउनुभयो ।
नेपाल प्रहरीको नेतृत्व गर्ने जिम्मेवारी दिएकोमा उहाँले नेपाल सरकार, मन्त्रिपरिषद्, प्रधानमन्त्री तथा गृह मन्त्रालयप्रति आभार व्यक्त गर्नुभयो । प्राप्त दज्र्यानी चिह्न कुनै व्यक्तिको पदोन्नति मात्र नभई राज्य, नेपाली जनता र सात दशकभन्दा लामो इतिहास बोकेको नेपाल प्रहरीप्रतिको विश्वासको प्रतीक भएको उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, ‘विशेषगरी आधारभूत तहका प्रहरी जवान र हवल्दारहरूका गुनासा सुन्ने संयन्त्र तत्काल सुरु गर्नेछौँ । गृह मन्त्रालयमै प्राथमिकताका साथ यो संयन्त्र सञ्चालन गर्नेछौँ ।’
निवर्तमान प्रहरी महानिरीक्षकसहित पूर्वप्रहरी नेतृत्वले संगठनमा स्थापित गरेका मूल्य, मान्यता र अभ्यासलाई आफ्नो कार्ययात्राको आधार बनाउने पनि उहाँले बताउनुभयो । राष्ट्र र जनताको सुरक्षाका क्रममा बलिदान दिने अमर प्रहरी शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँले घाइते प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता प्रहरी कर्मचारीको खोजीका लागि कामना गर्नुभयो ।
अहिले अपराधको स्वरूप र समाजको अपेक्षा तीव्र गतिमा परिवर्तन भइरहेको उल्लेख गर्दै आईजीपी केसीले साइबर ठगी, अनलाइन वित्तीय अपराध, क्रिप्टो कारोबार, डीपफेक, भ्रामक सूचना, संगठित तथा अन्तरदेशीय अपराध, लागुऔषध, मानव बेचबिखन र सम्पत्ति शुद्धीकरणलाई प्रमुख चुनौतीका रूपमा औँल्याउनुभयो ।
खुला सीमानाको दुरुपयोग तथा वैदेशिक रोजगारीसँग जोडिएका अपराध नियन्त्रण पनि प्रहरीका लागि चुनौतीपूर्ण रहेको उहाँको भनाइ थियो ।
गत भदौको जेनजी आन्दोलनलगायत पछिल्ला घटनाक्रमले प्रहरी र नागरिकबीचको सम्बन्ध तथा बल प्रयोगको मर्यादाबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्था सिर्जना गरेको उहाँले बताउनुभयो । प्रहरीप्रतिको जनविश्वास पुनर्निर्माण गर्नु अहिलेको महत्वपूर्ण आवश्यकता रहेको उहाँको धारणा थियो ।
त्यसैगरी, संघ, प्रदेश र स्थानीय तहबीच शान्ति सुरक्षाका विषयमा प्रभावकारी समन्वय आवश्यक रहेको उहाँले बताउनुभयो । जलवायु परिवर्तनबाट उत्पन्न जोखिम तथा बाढी, पहिरो, भूकम्प र आगलागीजस्ता विपद्मा खोज, उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन प्रहरीको क्षमता सुदृढ गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
प्रहरी संगठनभित्र स्रोतसाधन तथा भवनको अभाव, लामो कार्यघण्टा, सरुवा–बढुवामा निष्पक्षता र कर्मचारीको मानसिक स्वास्थ्यजस्ता विषयलाई उहाँले संस्थागत चुनौतीका रूपमा प्रस्तुत गर्नुभयो । यी चुनौतीलाई संगठन रूपान्तरणको अवसरका रूपमा लिनुपर्ने उहाँको धारणा थियो ।







एनपिएलको तयारी अन्तिम चरणमा, दर्शकको
ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना
बिदाइ खेलमा मेसीकाे गोल, अर्जेन्टिनाकाे
पाँच पाण्डव’मा द्रौपदीको भूमिकामा इभा
जलवायु न्याय माग्ने नेपालको आधार
कञ्चनपुरमा १६ लाख ८७ हजार