नेपाली कांग्रेसले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्ला राजनीतिक घटनाक्रमबारे धारणा राख्दै उहाँले पार्टीको विशेष महाधिवेशनलाई लिएर फैलाइएका आर्थिक अनियमिततासम्बन्धी चर्चा निराधार र नियोजित भएको दाबी गर्नुभयो ।
कांग्रेसको विधानअनुसार नै विशेष महाधिवेशन सम्पन्न भएको र निर्वाचन आयोगले समेत पार्टीको विवरण अद्यावधिक गरिसकेको अवस्थामा अनावश्यक प्रश्न उठाउनु महाधिवेशन प्रतिनिधि, निर्वाचन आयोग र सर्वोच्च अदालतकै अपमान भएको उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, ‘दलसम्बन्धी ऐन, २०७३ ले नेपाली कांग्रेसको विधानलाई चिन्छ । राजनीतिक दलहरूको विधान र संविधानलाई चिन्छ । सोहीअनुसार नेपाली कांग्रेसको विधानको दफा १७ को उपदफा २ बमोजिम विशेष महाधिवेशन भएको हो । विशेष महाधिवेशनपछि अहिले हामी १५औँ महाधिवेशनमा आइपुगेका छौँ ।’
विशेष महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै प्रचार गर्नु नियोजित भएको शर्माले बताउनुभयो । सरकारको निश्चित निकायबाटै यस्तो विषयलाई प्रायोजन गरेर सार्वजनिक गरिएको हुन सक्ने उहाँले आशंका व्यक्त गर्नुभयो ।
‘नियोजित ढंगले सरकारको निश्चित गृहबाट त्यसलाई प्रायोजन गर्ने गरी बजारमा लगिनु भनेको नेपाली कांग्रेस पार्टीका महाधिवेशन प्रतिनिधिहरूको अपमान हो,’ उहाँले भन्नुभयो ।
विशेष महाधिवेशनपछि निर्वाचन आयोगले पार्टीको विवरण अद्यावधिक गरेको र त्यसविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले समेत आयोगको निर्णयलाई सही ठहर गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सम्मानित न्यायालयमा मुद्दा पर्यो । लामो समय बहस चल्यो । बहसपश्चात् २०८३ वैशाख ४ गते अदालतले फैसला गर्यो र आफ्नो आदेशमा निर्वाचन आयोगले गरेको अद्यावधिक सही छ भन्यो । अहिले यस प्रकारका कथा बुन्नु र प्रायोजित ढंगले करोडौँको कथा हाल्नु महाधिवेशन प्रतिनिधिको अपमान, निर्वाचन आयोगको अनादर र सर्वोच्च अदालतको अवहेलना हो ।’
पत्रकार सम्मेलनमा शर्माले सरकारको प्राथमिकतामाथि पनि प्रश्न उठाउनुभयो । जलवायु परिवर्तन, विपद् व्यवस्थापन र प्रभावित नागरिकको पुनःस्थापनाजस्ता विषयमा सरकारले गम्भीरतापूर्वक काम गर्नुपर्ने उहाँको भनाइ थियो ।
कोप–३१ सम्मेलनमा सहभागी हुन टर्की जानुअघि सरकारले राष्ट्रियस्तरमा जलवायु परिवर्तन र विपद्का विषयमा छलफल गर्नुपर्ने भए पनि त्यसतर्फ पर्याप्त ध्यान नदिएको उहाँले आरोप लगाउनुभयो ।
‘पाँच दिनपछि टर्कीमा कोप–३१ सम्मेलन हुन लागेको छ । त्यसअघि राष्ट्रिय रूपमा बहस र छलफल होस् भनेर हामीले भनेका छौँ । हामी सरकारको साथमा छौँ,’ उहाँले भन्नुभयो, ‘तर सरकारले कोप–३१ मा जानुअघि राष्ट्रिय रूपमा छलफल गराइरहेको तपाईंहरूले सुन्नुभएको छ ?’
भोटेकोसी क्षेत्रमा आएको विपद् र त्यसबाट प्रभावित नागरिकको पीडालाई सरकारले बिर्सिएको आरोपसमेत उहाँले लगाउनुभयो । हिमताल विस्फोटको जोखिमबारे विभिन्न अध्ययनले देखाएका विषयलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
‘हाम्रो भूखण्डमा ४७ वटा हिमताल जोखिममा छन् । कुनै पनि बेला विस्फोट हुन सक्छन् । त्यसमध्ये २१ वटा नेपालमा, एउटा भारतमा र २४–२५ वटा चीनमा छन्,’ उहाँले भन्नुभयो, ‘तीमध्ये कुनै पनि बेला विस्फोट हुँदा फेरि भोटेकोसीको अर्को घटना दोहोरिने हो ? त्यसपछि मर्माहत देश बनेर शोक मनाएर बस्ने ?’
विपद् प्रभावित नागरिकलाई सरकारले दिने घोषणा गरेको घरभाडा रकमसमेत समयमै उपलब्ध नगराएको शर्माले बताउनुभयो । दसैँ बितिसक्दा र तिहार नजिकिँदै गर्दा पनि प्रभावित नागरिकले राहत तथा पुनःस्थापनाका लागि अपेक्षित सहयोग नपाएको उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, ‘बाँचेकाहरूका लागि अर्बौं रुपैयाँ उठेको छ । सरकारले महिनाको १५ हजार रुपैयाँ घरभाडा दिने भनेको रकमसमेत दुई महिनादेखि निकासा भएको छैन । त्यसैले सरकारको प्राथमिकता त्यहाँ हुनुपर्ने हो । तर सरकार त्यो प्राथमिकताभन्दा बाहिर बसेको छ ।’
यसैगरी, शर्माले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) हटाउने विषयमा पनि सरकारको आलोचना गर्नुभयो । पारदर्शी अनुसन्धान र स्पष्ट आधार सार्वजनिक नगरी प्रहरी नेतृत्व परिवर्तनको विषय अघि बढाइएको भन्दै उहाँले सरकारको प्राथमिकतामाथि प्रश्न उठाउनुभयो ।
सरकारका प्रवक्ता र सत्तारूढ दलका प्रवक्ताको भनाइमा समेत एकरूपता नरहेको भन्दै उहाँले सिंहदरबार र बालुवाटारमा राजनीतिक अन्योल र रमिता भइरहेको टिप्पणी गर्नुभयो ।
‘आज सरकारको प्राथमिकता केमा पर्यो ? प्रहरीको आईजीपी हटाउने कुरामा । अहिलेको राष्ट्रिय आवश्यकता यही हो ? पारदर्शी ढंगले अनुसन्धानका विषय र तथ्य स्पष्ट रूपमा सार्वजनिक नगरी कुन मुद्दा र कुन तथ्यका आधारमा यस्तो निर्णय गरियो भन्ने प्रश्न उठिरहेको छ । सरकारका प्रवक्ता पार्टीको निर्देशनमा हटाइएको भन्नुहुन्छ । तर एक घण्टा नबित्दै पार्टीका प्रवक्ताले हाम्रो निर्देशन गएको छैन भन्नुहुन्छ,’ उहाँले भन्नुभयो ।
उहाँले थप्नुभयो, ‘लेख्नुस्, सिंहदरबारमा रमिता चलिरहेको छ । लेख्नुस्, बालुवाटारमा रमिता चलिरहेको छ । देशका मतदाताले ठूलो आशा र विश्वास गरेर दिएको मतलाई अहिलेको सरकारले सही ढंगले प्रयोग गरिरहेको छैन ।’
शर्माले राजनीतिक विवादमा अल्झिनुभन्दा राष्ट्रिय आवश्यकता, विपद् प्रभावित नागरिकको पुनःस्थापना, जलवायु जोखिम न्यूनीकरण र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्न सरकारलाई आग्रह गर्नुभयो ।






संसद् छलेर अध्यादेशको बाटोमा सरकार
दशैँका दिव्य पक्ष
गोरखामा बुढीगण्डकीको बाढीले सल्लेरी बजार
नवरात्रको पहिलो दिन आज घटस्थापना,
देशका हिमाली र पहाडी भूभागमा
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर