काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले नेपालमा पत्रकार तथा सञ्चारमाध्यममाथि दबाब र असुरक्षाको अवस्था बढ्दै गएको भन्दै सञ्चारकर्मीको प्रेस स्वतन्त्रता र सुरक्षामाथि प्रश्न उठाउनुभएको छ ।
नेपाली कांग्रेसले आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्ला राजनीतिक घटनाक्रमबारे धारणा राख्दै उहाँले पत्रकारहरूले आफ्ना विमति र असन्तुष्टि निर्भयतापूर्वक व्यक्त गर्न सक्ने वातावरण हुनुपर्ने बताउनुभयो ।
उहाँले पत्रकारहरूलाई प्रश्न गर्दै भन्नुभयो, ‘पत्रकार साथीहरू नै असुरक्षित भइरहेको यो बेला प्रतिपक्षका अगाडि होस् वा सिंहदरबार र बालुवाटारमा प्रधानमन्त्रीज्यूका सामुन्ने उभिँदा होस्, आफ्नो विमति खरो ढंगले राख्न सक्ने वातावरण हुनुपर्छ । मैले तपाईंहरूमध्ये कसैको हातमा कालोपट्टी देखिनँ । त्यसैले सबैभन्दा पहिले तपाईंहरू सुरक्षित हुनुहुन्छ ?’
शर्माले सञ्चारमाध्यममाथि भएका घटनाबारे पत्रकार तथा मिडिया हाउसले निरन्तर प्रश्न उठाउनुपर्ने भए पनि पछिल्लो समय त्यसबारे पर्याप्त फलोअप नभएको टिप्पणी गर्नुभयो ।
मिडिया हाउसमाथि गाडी राखिएको घटनालाई स्मरण गर्दै उहाँले त्यसबारे छानबिनको अवस्था र तथ्य सार्वजनिक नभएको भन्दै प्रश्न उठाउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले सोध्यौँ, मिडिया हाउसमाथि अगाडि गाडी किन राखियो ? तपाईंहरूले फलोअप समाचार लेख्न छोड्नुभयो । त्यो गाडी ल्याएर राख्ने विषयमा सत्तारूढ पार्टीले पनि सरकारलाई छानबिन गर, तथ्य ल्याऊ भनेर निर्देशन दिएको थियो । खै त तथ्य आयो ? छानबिनको फाइल कहाँ छ ? त्यो निर्देशन दिने रास्वपा कहाँ छ ? समाचार छाप्ने मिडियाका साथीहरू कहाँ हुनुहुन्छ ?’
सञ्चारमाध्यममाथि दबाब र हस्तक्षेप हुँदा त्यसको प्रभाव समग्र लोकतान्त्रिक व्यवस्थामा पर्ने उहाँले बताउनुभयो । प्रतिपक्षी दलले उठाएका विषयसमेत आम नागरिकसम्म पुर्याउने माध्यम सञ्चारमाध्यम नै भएकाले प्रेस स्वतन्त्रता कमजोर हुँदा लोकतन्त्रसमेत प्रभावित हुने उहाँको भनाइ थियो ।
‘हाम्रो स्वर तपाईंहरूमार्फत नै पुग्ने हो । तर तपाईंहरूकै स्वर प्रस्तुत गर्ने माध्यम कमजोर भयो भने, लोकतन्त्रमा मिडियालाई कमजोर बनाइयो र निरन्तर ह्यारेस गरियो भने त्यो साँचो अर्थमा लोकतन्त्र रहँदैन,’ उहाँले भन्नुभयो ।
शर्माले कुनै पनि देशमा लोकतन्त्रको अवस्था मापन गर्ने प्रमुख आधार स्वतन्त्र र निर्भय प्रेस रहेको बताउनुभयो । निर्वाचन हुनु मात्रै लोकतन्त्रको पर्याप्त आधार नभएको उल्लेख गर्दै उहाँले पत्रकारले निर्भयतापूर्वक लेख्न र बोल्न पाउने वातावरण आवश्यक रहेकोमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘संसारको कुनै पनि देशमा लोकतन्त्र छ कि छैन भन्ने आधार त्यहाँ हुने निर्वाचन मात्रै होइन । सबैभन्दा बलियो आधार र मानक भनेको त्यो देशको प्रेसले निर्भयतापूर्वक लेख्न पाउँछन् कि पाउँदैनन्, बोल्न पाउँछन् कि पाउँदैनन् भन्ने हो ।’
पत्रकारहरूले प्रतिपक्षी दलका अगाडि मात्रै नभई सरकार र सत्तासामुन्ने पनि आफ्ना असन्तुष्टि तथा विमति स्पष्ट रूपमा राख्न सक्नुपर्ने उहाँको भनाइ थियो । नेपाली सञ्चारमाध्यम कमजोर हुने अवस्था नआओस् भन्ने कामना गर्दै उहाँले पत्रकारहरूलाई व्यावसायिक धर्म र प्रेस स्वतन्त्रताको पक्षमा निर्भयतापूर्वक उभिन आग्रह गर्नुभयो ।
शर्माले नेपालको संविधान, शान्ति प्रक्रिया तथा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने संघर्षमा सञ्चारमाध्यमको महत्वपूर्ण योगदान रहेको पनि स्मरण गराउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपालमा संविधान निर्माण, शान्ति प्रक्रिया र संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्था स्थापित गर्न राजनीतिक दलहरू मात्रै होइन, सबैभन्दा अग्रपंक्तिमा लड्ने मिडिया पनि हो । मिडियालाई उच्च सम्मान गर्दै नेपाली कांग्रेसका तर्फबाट त्यो सम्मान व्यक्त गरेर यो प्रश्न मैले तपाईंहरूलाई राखेको हुँ ।’






न्यायाधीश बम हत्याका दोषी बाबु
बाढी प्रभावित बालबालिकाको संरक्षणका लागि
आजको राशिफल : कुन राशिलाई
बडादशैँको छैटौं दिन आज कात्यायनी
मूल्य वृद्धिले ग्राहकको बजेटमा दबाब
बजारमा रौनक, व्यापारमा मन्दी