प्रहरीले ईशनाथ नगरपालिका–४ महुलियास्थित काली मन्दिर नजिक भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल जाँच गर्ने क्रममा ३० लाख रुपैयाँ नगदसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बुधबार दिउँसो करिब साढे ३ बजे प्रहरी चौकी मठिया महुलियाबाट खटिएको टोलीले म.प्र. ०५–००१ प ०५७८ नम्बरको मोटरसाइकल रोकेर जाँच गरेको थियो । सो क्रममा झोला र मोटरसाइकलको ट्याङ्कीमुनि फल्स बटम बनाई लुकाएर ल्याइएको स्रोत नखुलेको ३० लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
नगदसहित भारतको बिहार राज्यअन्तर्गत पूर्वी चम्पारण जिल्लाको फुलबरिया वडा नम्बर १३ निवासी करिब ३० वर्षीय सनि कुमार जैसवाललाई नियन्त्रणमा लिइएको हो । प्रहरीले उनको साथबाट एक थान स्मार्टफोन र प्रयोग गरिएको मोटरसाइकलसमेत बरामद गरेको छ ।
जैसवालसँग प्रारम्भिक सोधपुछ गर्दा उक्त रकम गौर नगरपालिका–१ स्थित न्यू तराई ट्रेडर्सका सञ्चालक करिब ५१ वर्षीय शेख कमरुललाई दिन ल्याएको खुलेको प्रहरीले जनाएको छ ।
त्यसपछि जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक जीवनकुमार मैनालीको कमाण्डमा खटिएको टोलीले न्यू तराई ट्रेडर्समा खानतलासी गरेको थियो । खानतलासीका क्रममा थप १४ लाख ६४ हजार ६०५ रुपैयाँ बरामद भएपछि प्रहरीले ट्रेडर्सका सञ्चालक शेख कमरुललाई समेत नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार दुवै स्थानबाट गरी कुल ४४ लाख ६४ हजार ६०५ रुपैयाँ नगद बरामद भएको छ । बरामद नगद, एक थान मोबाइल र मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।






विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा
डोको बुन्दै, सीप सिकाउँदै
कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक
‘लमजुङ दरबार’सँगै बाँचेको माया
बाढीले पुलमा क्षति पुर्याएपछि यातायात
कति छ आज विदेशी मुद्राको