काठमाडौं । भोटेकोशी बाढीबाट विस्थापित रसुवाको टिमुरेका बासिन्दाले तिहारपछि आफ्नो थातथलो फर्कने तयारी गर्नुभएकाे छ । सरकारले स्थायी पुनर्स्थापनाका लागि ठोस योजना नल्याएपछि उहाँहरू आफैँ गाउँ फर्कने निष्कर्षमा पुग्नुभएकाे छ ।
गत दुई महिनादेखि काठमाडौंको स्वयम्भुस्थित मुस्ताङ गुम्बामा आश्रय लिइरहेका बाढीपीडितले सरकारले आफ्नो समस्या सम्बोधन नगरेको गुनासो गर्नुभएकाे छ। लामो समयसम्म अस्थायी आश्रयस्थलमा बस्न सम्भव नहुने भन्दै उहाँहरूले गाउँ फर्कने वातावरण बनाइदिन सरकारसँग आग्रह गर्नुभएकाे छ।
रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेका कामी नुर्बु तामाङले आफूहरू सधैँ काठमाडौंमा बसेर जीवन बिताउन नसक्ने बताउनुभयो। सरकारले स्थायी व्यवस्थापनबारे कुनै जानकारी नदिएको उहाँको गुनासो छ।
‘हामी सधैँ यहीँ बसेर हुँदैन। हामी थातथलो फर्कन तयार छौँ। जन्मभूमिमा गएर पुराना परम्परा र रीतिरिवाज जोगाउन चाहन्छौँ। छिटोभन्दा छिटो रसुवागढी नाका पुनः सञ्चालन गर्नुपर्नेछ। हामी त्यसैका लागि फर्कन चाहन्छौँ,’ उहाँले भन्नुभयो।

उहाँका अनुसार टिमुरेमाथिको डाँडामा बस्ती बसाउने योजना छ। त्यसका लागि सरकारले खाद्यान्न र अस्थायी टहराको व्यवस्था गरिदिनुपर्ने उहाँको माग छ। बाढीपछि राहतस्वरूप प्राप्त रकम पुनर्स्थापनामा खर्च गर्न पनि उहाँले सरकारलाई सुझाव दिनुभयो।
काठमाडौंको वातावरण, खानपिन र सामाजिक परिवेश गाउँको भन्दा फरक भएकाले यहाँ बस्न असहज भएको उहाँले बताउनुभयो। बाढीका कारण टिमुरेका २० देखि २५ प्रतिशत स्थानीय मात्रै जीवित रहेको उहाँको भनाइ छ।
‘हाम्रो अभिभावक भनेको सरकार हो। हामी भारत वा चीनबाट आएका शरणार्थी होइनौँ। लिच्छवीकालदेखि नै रसुवागढी नाका सञ्चालनमा आएको हो। हाम्रा पुर्खा नाकाका सुरक्षाकर्मी हुन्,’ उहाँले भन्नुभयो।
बाढीका कारण अभिभावकविहीन बनेका बालबालिकाको भविष्यप्रति पनि उहाँले चिन्ता व्यक्त गर्नुभयो। उनीहरूको शिक्षा, स्वास्थ्य र विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने उहाँको आग्रह छ। सरकारले आफूहरूको समस्या सम्बोधन नगरे सडक आन्दोलनमा उत्रन बाध्य हुने उहाँले चेतावनीसमेत दिनुभयो।
अर्की बाढीपीडित पासाङ तामाङले पनि आफूहरूको मुख्य समस्या बासस्थान नै रहेको बताउनुभयो। सबै टिमुरेबासीलाई गाउँ फर्किएर बस्न सक्ने वातावरण बनाइदिन उहाँले सरकारसँग आग्रह गर्नुभयो।
‘सरकारले र संसारले हाम्रो दुःख देखेको छ। पहिलो समस्या त बासकै हो। हामी आफ्नै गाउँ फर्कन चाहन्छौँ। गाउँ फर्कन बाटो बनाउनुपर्छ। त्यो नबन्दासम्म तत्कालका लागि सबैलाई एकै ठाउँमा बस्ने व्यवस्था मिलाइदिए राम्रो हुन्थ्यो,’ उहाँले भन्नुभयो।
बाढीपीडितहरूका लागि सरकारले अस्थायी बसोबासबापत मासिक १५ हजार रुपैयाँ दिने निर्णय गरेको छ। तर, काठमाडौंमा बस्न उक्त रकम पर्याप्त नभएको उनीहरूको गुनासो छ।
बाढीपीडित पेम्बा जाङ्मु घलेले काठमाडौंमा परिवारसहित बस्न फ्ल्याट भाडामा लिन मात्रै २० देखि २५ हजार रुपैयाँ खर्च हुने बताउनुभयो। सरकारले उपलब्ध गराउने १५ हजार रुपैयाँले घरभाडा, खाद्यान्न र बालबालिकाको पढाइ खर्च धान्न नसकिने उहाँको भनाइ छ।
‘अलिअलि पैसा हुने त गयो। हामीसँग त केही छैन। हामी पीडित हौँ। बच्चा विदेश गएको पनि होइन, भएको बच्चा पढ्दै छ। १५ हजारले घरभाडा तिर्ने कि, रासनको खर्च धान्ने कि, पढाइ खर्च तिर्ने ?’ उहाँले प्रश्न गर्नुभयो।
पैसाभन्दा पनि सरकारले गाउँ फर्कने वातावरण बनाइदिए आफूहरूलाई सहज हुने उहाँले बताउनुभयो। ‘मकै पिसेर, चामल पिसेर खाने गरेर भए पनि हामी गाउँमै जाने हो,’ उहाँले भन्नुभयो।
गत भदौ १० गते टिमुरेमा आएको बाढीपछि विस्थापित भएका स्थानीयले उद्धारको प्रतीक्षामा निकै कठिन समय बिताएका थिए। बाढी आएपछि उनीहरू ज्यान जोगाउन डाँडातर्फ लागेका थिए। दिनभर उद्धारको प्रतीक्षा गरे पनि तत्काल कोही नआएपछि गाउँकै घरमा रात बिताउन बाध्य भएका थिए।
भोलिपल्ट हेलिकप्टर पुगेपछि उनीहरूलाई ८-९ जनाको समूहमा धुन्चे ल्याइएको थियो । त्यसपछि स्थलमार्ग हुँदै काठमाडौं ल्याइएको थियो । सुरुमा १० दिन यल्लो गुम्बामा राखिएका उनीहरूलाई पछि स्वयम्भुस्थित मुस्ताङ गुम्बामा स्थानान्तरण गरिएको थियो ।
हाल मुस्ताङ गुम्बामा २०७ जना पुरुष र २०४ जना महिलासहित कुल ४११ जना आश्रित छन्। उनीहरूमध्ये १७१ जना बालबालिका र ८० जना वृद्धवृद्धा रहनुभएकाे छ ।
दुई महिनादेखि अस्थायी आश्रयमा रहेका टिमुरेबासीको अबको मुख्य चाहना आफ्नै गाउँ फर्केर सुरक्षित रूपमा जीवनयापन गर्नु हो। तर, त्यसका लागि आवश्यक पूर्वाधार, आवास र आधारभूत सुविधाको व्यवस्था कसरी हुन्छ भन्ने विषय अझै अन्योलमै छ।















अनुगमन र भुक्तानीमा कर्मचारीको चासो
एआई, युवा उद्यमशीलता र रोजगारीमा
कांग्रेसको १५औँ महाधिवेशनमा मतदान जारी
दुई महिनाका लागि ७० अर्ब
दशैँमा घर फर्किने यात्रुको गोंगबु
चौध वर्षीया बालिकालाई जबरजस्ती करणी