बिहीबार कानून, न्याय तथा मानव अधिकार समितिमा मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले न्यायाधीशको रोहबरमा हुने मेलमिलापले विवाद समाधानप्रति पक्षहरूको विश्वास बढाउने बताउनुभयो ।
न्यायाधीशलाई मेलमिलाप प्रक्रियामा संलग्न गराउँदा सामाजिक तथा संस्थागत विश्वसनीयता थप बलियो हुने उहाँको भनाइ छ । यद्यपि, उक्त प्रस्तावमा सबै सरोकारवालाको असहमति रहे विकल्पबारे छलफल गर्न सरकार तयार रहेको उहाँले स्पष्ट पार्नुभयो ।
समितिको छलफलमा सरोकारवाला पक्ष, सांसद तथा नेपाल बार एसोसिएसनले न्यायाधीशलाई मेलमिलापकर्ता बनाउने प्रस्तावको विरोध गरेका थिए ।
मन्त्री गौतमले मेलमिलापकर्ताको भूमिका पनि न्यायिक प्रक्रियासँग सम्बन्धित रहेको उल्लेख गर्दै न्यायाधीशलाई मेलमिलापमा संलग्न गराउन सकिने तर्क गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले यो प्रस्ताव किन गरेका हौँ भने दुई वा दुईभन्दा बढी पक्षबीच स्थानीयस्तरमा विवाद हुँदा मेलमिलापकर्ताले समाधान गराउनुहुन्छ । तर, पाँचभन्दा बढी न्यायाधीश रहेको ठाउँमा कम्तीमा एक जना तोकिएको न्यायाधीशले मेलमिलाप गराइदिनुभयो भने विवादमा रहेका पक्षहरूलाई न्यायाधीशको रोहबरमा निर्णय भएको भन्ने विश्वास हुन्छ । न्यायालयप्रतिको विश्वास र त्यसको गरिमा पनि बलियो हुन्छ भन्ने उद्देश्यले यो प्रस्ताव गरेका हौँ ।’
उहाँले कानुन निर्माण गर्दा स्थापित कानुनी सिद्धान्त र नजिरसँगै नेपाली समाजको व्यावहारिक अवस्था तथा सामाजिक जटिलतालाई पनि ध्यान दिनुपर्ने बताउनुभयो ।
‘न्यायाधीश नै राख्नुपर्छ भन्ने हाम्रो अडान होइन । प्रस्तावमा सबैको असहमति भए त्यसको विकल्पबारे छलफल गर्न सरकार तयार छ,’ उहाँले स्पष्ट पार्नुभयो ।
मेलमिलापमार्फत विवाद समाधान हुँदा दुवै पक्षको सहमतिमा न्यायोचित निकास निकाल्न सकिने मन्त्री गौतमको भनाइ छ । विशेषगरी परिवारका सदस्य, दाजुभाइ तथा दिदीबहिनीबीचका विवाद अदालतसम्म पुग्दा लामो समयसम्म सम्बन्ध बिग्रिने र सामाजिक सम्बन्धमा समेत असर पर्ने भएकाले मेलमिलापलाई प्राथमिकता दिनुपर्ने उहाँले बताउनुभयो ।
मेलमिलापको माध्यमबाट विवाद समाधान गर्न सके सर्वसाधारणलाई सहज हुने र अदालतमा मुद्दाको चापसमेत कम गर्न सहयोग पुग्ने सरकारको अपेक्षा रहेको छ ।







कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक
‘लमजुङ दरबार’सँगै बाँचेको माया
बाढीले पुलमा क्षति पुर्याएपछि यातायात
कति छ आज विदेशी मुद्राको
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि
पोखरामा स्कुल बस दुर्घटना, १८