कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा सांसदहरूले सरकारले गर्नुपर्ने काम नगरी अन्य विषयमा बढी ध्यान केन्द्रित गरेको टिप्पणी गरेका हुन् । चाडपर्वका बेला महँगी नियन्त्रण, बजार अनुगमन, विपद् प्रभावित नागरिकलाई राहत वितरण र पुनःस्थापनाजस्ता विषयमा सरकार गम्भीर हुनुपर्ने उनीहरूको माग छ ।
नेपाली कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले विपद् प्रभावितका लागि राहत कोषमा १८ अर्ब रुपैयाँ रहेको भनिए पनि पीडितले घरभाडाबापत पाउनुपर्ने १५ हजार रुपैयाँसमेत नपाएको बताउनुभयो । उहाँले बाढीपीडित तथा विस्थापित सुकुम्बासीलाई राखिएका होल्डिङ सेन्टरको अवस्था तत्काल सार्वजनिक गर्न सरकारसँग माग गर्नुभयो ।
होल्डिङ सेन्टरमा रहेका नागरिकको अवस्था र उनीहरूको पुनःस्थापनाको समयसीमाबारे समितिलाई जानकारी गराउनुपर्ने उहाँको भनाइ थियो । होल्डिङ सेन्टरको स्थलगत अनुगमनका लागि समितिले पटक–पटक गरेको प्रस्तावसमेत कार्यान्वयन नभएको उहाँले बताउनुभयो ।
बाढी प्रभावित क्षेत्रमा बालबालिकाको विद्यालय पहुँच, सुत्केरी महिला तथा ज्येष्ठ नागरिकको अवस्था र घरभाडा नपाउँदा पीडितले भोग्नुपरेका समस्याप्रति सरकार गम्भीर हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘विपद्बाट पीडितहरू होल्डिङ सेन्टरमा के अवस्थामा छन् ? राहत कोषमा १८ अर्ब रुपैयाँ छ भनिएको छ । तर, घरभाडाबापत १५ हजार रुपैयाँ दिने भनिए पनि पीडितले अहिलेसम्म पाएका छैनन् । दसैँ आयो, फेरि तिहार आयो । अब जाडो पनि सुरु भयो । बाढीपीडित बालबालिका विद्यालय गएका छन् कि छैनन् ? त्यहाँ रहेका सुत्केरी महिला र ज्येष्ठ नागरिकको अवस्था कस्तो छ ? होल्डिङ सेन्टरमा अहिले कति जना बाँकी छन् र सरकारले कहिलेसम्म पुनःस्थापना गर्छ ? समितिलाई जानकारी गराउनुपर्छ ।’
यसैगरी, नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले धार्मिक तथा साम्प्रदायिक विषयलाई राजनीतिक स्वार्थका लागि प्रयोग नगर्न आग्रह गर्नुभयो । हिन्दू, मुस्लिम, सिख र इसाईका नाममा भइरहेको राजनीतिले सामाजिक सद्भावमा असर पार्न सक्ने भन्दै उहाँले राष्ट्रिय एकता र मानव अधिकारको संरक्षणलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
उहाँले सरकार कानुनलाई आफ्नो नियन्त्रणमा राखेर आफूअनुकूल प्रयोग गर्न खोजिरहेको आरोपसमेत लगाउनुभयो । आफू निकट रहेकालाई संरक्षण गर्ने र अरूमाथि मात्र कारबाही गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने उहाँको भनाइ थियो ।
सत्ता पक्ष वा प्रतिपक्षसँग निकट रहे पनि विचौलिया तथा भ्रष्टाचारमा संलग्न व्यक्तिमाथि कानुनअनुसार कारबाही हुनुपर्ने उहाँले बताउनुभयो । सरकारी निर्णय प्रक्रियामा संलग्न पदाधिकारी तथा सल्लाहकारको जिम्मेवारी र अधिकारसमेत स्पष्ट पार्नुपर्ने उहाँको माग छ ।
भ्रष्टाचारविरुद्ध सरकारको अभियान स्वागतयोग्य भए पनि त्यसको कार्यान्वयन पारदर्शी र जवाफदेही हुनुपर्ने उहाँले बताउनुभयो । राजनीतिक पहुँचका आधारमा कसैलाई संरक्षण गर्ने र कसैलाई प्रतिशोधपूर्ण व्यवहार गर्ने प्रवृत्ति स्वीकार्य नहुने उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, ‘देश सर्वप्रथम हो र देशमा बस्ने हरेक नागरिकको न्याय सर्वप्रथम हो । विचौलिया सत्ताको नजिक होस् वा सत्ता बाहिर, कानुनको नजरमा सबै बराबर हुनुपर्छ । सरकारले भ्रष्टाचारविरुद्ध अभियान चलाउनु राम्रो हो, तर त्यो अभियान आफैँ पारदर्शी र जवाफदेही हुनुपर्छ । आन्दोलनका क्रममा भएका हिंसा र मृत्युका घटनाको निष्पक्ष छानबिन हुनुपर्छ । कानुन र संविधानविपरीत काम गर्ने जोसुकैलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ ।’
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अफसाना बानुले चाडपर्वका बेला काठमाडौंका असन, इन्द्रचोक, न्युरोड र जनबहाललगायत व्यस्त बजार क्षेत्रमा सवारी आवागमन व्यवस्थापन गर्न सरकारसँग माग गर्नुभयो ।
चाडपर्वका बेला किनमेलका लागि सर्वसाधारणको चाप बढ्ने गरेको उल्लेख गर्दै उहाँले साँघुरा बजार क्षेत्रमा मोटरसाइकल, तीनपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनसमेत सञ्चालन हुँदा पैदलयात्रीले सास्ती भोग्नुपरेको बताउनुभयो ।
बजार क्षेत्रमा एउटा स्थानबाट अर्को स्थानसम्म पैदल पुग्नसमेत आधादेखि पौने एक घण्टासम्म लाग्ने अवस्था रहेको उहाँको भनाइ थियो । सवारीसाधन र पैदलयात्री एउटै क्षेत्रमा आवतजावत गर्दा दुर्घटना तथा झैझगडाको जोखिमसमेत बढेको उहाँले बताउनुभयो ।
चाडपर्वको किनमेल अवधि नसकिँदासम्म असन, इन्द्रचोक र न्युरोडलगायतका मुख्य बजार क्षेत्रमा एम्बुलेन्स र दमकलबाहेक तीनपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधनको आवागमन अस्थायी रूपमा प्रतिबन्ध लगाउन उहाँले माग गर्नुभयो । साथै, ती क्षेत्र नजिकका वैकल्पिक सडकलाई प्रयोगमा ल्याउन पनि उहाँले सरकारलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हरेक वर्ष दसैँ, तिहार, छठ, ईदलगायतका चाडपर्वमा असन, इन्द्रचोक, न्युरोड र जनबहाललगायतका स्थानमा मानिसको चाप हुने गर्छ । अहिले किनमेल गर्नेको चाप बढेसँगै पैदलयात्रीले सबैभन्दा बढी सास्ती भोगिरहेका छन् । त्यसैले चाडपर्व सुरु हुनुअघि नै केही समयका लागि ती बजार क्षेत्रमा एम्बुलेन्स र दमकलबाहेक तीनपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधन बन्द गरौँ । वैकल्पिक सडक प्रयोगमा ल्याएर सहज आवागमनको व्यवस्था गरौँ ।’
समितिको बैठकमा सांसदहरूले विपद् प्रभावितको पुनःस्थापना, मानव अधिकारको संरक्षण, भ्रष्टाचार नियन्त्रण, सरकारी निर्णय प्रक्रियामा पारदर्शिता र सार्वजनिक स्थानको व्यवस्थापनमा सरकारलाई गम्भीर हुन सुझाव दिएका छन् ।







उखु किसानलाई एक अर्ब ५०
चाडबाड लक्षित सुरक्षा : पोखराका
अनुगमन र भुक्तानीमा कर्मचारीको चासो
एआई, युवा उद्यमशीलता र रोजगारीमा
कांग्रेसको १५औँ महाधिवेशनमा मतदान जारी
दुई महिनाका लागि ७० अर्ब