मुगु । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले संघीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहबीच देखिएका कानुनी जटिलता हटाउनुपर्ने बताउनुभएको छ ।
मुगुको प्रमुख पर्यटकीय स्थल रारामा बिहीबार सातै प्रदेशका मुख्य न्यायाधिवक्ताहरूको आठौँ राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले तीनै तहका सरकारबीच सहअस्तित्व, समन्वय र सहकार्यका आधारमा काम भइरहेको भए पनि कतिपय ऐन तथा कानुन संघीयताको मर्म र भावनाअनुसार कार्यान्वयनमा बाधक बनेको बताउनुभयो ।
उहाँले यस्ता कानुनी जटिलता हटाउन संघीय सरकारले आवश्यक पहल गर्नुपर्नेमा जोड दिनुभयो । संघ, प्रदेश र स्थानीय तहबीच अधिकार तथा कार्यक्षेत्रसँग सम्बन्धित कानुनी अस्पष्टता हटाउन आवश्यक संशोधन र कानुनमा एकरूपता कायम गर्नुपर्ने उहाँको भनाइ छ ।
संघीय शासन प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउन तीनै तहका सरकारबीच आपसी समझदारी, समन्वय र सहकार्य आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले तीनै तहका सरकारबीच समन्वय र सहकार्य बढाउँदै कार्यसम्पादनलाई सहज बनाउने खालका नीति निर्माण गर्नुपर्ने बताउनुभयो । संघीयताको प्रभावकारी कार्यान्वयनका लागि सरकारका विभिन्न तहबीच कानुनी तथा संस्थागत समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो ।
‘सक्षम मुख्य न्यायाधिवक्ता, सुदृढ प्रदेश सरकार र प्रभावकारी संघीयता’ भन्ने मूल नाराका साथ कर्णाली प्रदेश सरकारको आयोजनामा सम्मेलन सुरु भएको हो । सम्मेलनमा सातै प्रदेशका मुख्य न्यायाधिवक्ता तथा महान्यायाधिवक्ताको सहभागिता रहेको छ ।
उद्घाटन सत्रको अध्यक्षता गर्नुभएका कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता सर्वराज जोशीले दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा प्रदेश सरकारका कानुनी अधिकार, संघीयता कार्यान्वयनका क्रममा देखिएका समस्या तथा कानुनी सुधारका विषयमा छलफल हुने जानकारी दिनुभयो ।
मुख्य न्यायाधिवक्ता जोशीका अनुसार सम्मेलनको पहिलो दिन सातै प्रदेशका मुख्य न्यायाधिवक्ताबाट राय तथा सुझाव संकलन गरिनेछ । दोस्रो दिन विगतका सम्मेलनबाट जारी घोषणापत्रको कार्यान्वयन अवस्थाबारे समीक्षा गरी रारा घोषणापत्र जारी गरिनेछ ।
सम्मेलनले प्रदेश सरकारका कानुनी तथा संवैधानिक अधिकार थप स्पष्ट बनाउनुका साथै संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध प्रभावकारी बनाउन साझा धारणा निर्माण गर्ने अपेक्षा गरिएको छ ।
दुई दिनसम्म सञ्चालन हुने सम्मेलन कात्तिक २० गते रारा तालको किनारमा घोषणापत्र जारी गर्दै सम्पन्न हुनेछ । सम्मेलनले रारा तथा मुगुको पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने आयोजकको विश्वास छ ।







पश्चिमी र मनसुनी वायुको प्रभाव
नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित
अण्डाको उत्पादन र खपत बढाउन
पुरानो बस नचलाउन भनेका थियौँ
कति छ आज विदेशी मुद्राको
आश्विन कृष्ण औँसी : सोह्र