काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले हालै सार्वजनिक भएको विवादास्पद अडियो प्रकरणमा आफ्नो नाम जोडिएको विषयमा अनभिज्ञता प्रकट गर्दै आफू कुनै पनि गलत तथा अनैतिक काममा संलग्न नरहेको स्पष्ट पार्नुभएको छ।
भिडियो सन्देश जारी गर्दै उहाँले आफ्नो नैतिकतामाथि प्रश्न उठाउने आधार नरहेको दाबी गर्नुभयो।
‘ढुक्क हुनुहोस्, म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको छोरा, तपाईंको साथी, तपाईंको सभापति– कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन। मेरा हातहरू सफा छन्,’ उहाँले भन्नुभयो, ‘मेरा पक्षमा ढुक्कले बोल्नुहोस्।’
प्रहरी हिरासतमा रहेका ‘फिक्सर’ भनिएका इनम सापकोटाको भनिएको अडियोमा आफ्नो नाम जोडिएको विषयमा आफूलाई कुनै जानकारी नभएको थापाको दाबी छ।
उहाँले पार्टीको आधिकारिकता तथा आन्तरिक रूपान्तरणका लागि भएको संघर्ष कार्यकर्ताहरूको विद्रोह भएको उल्लेख गर्दै त्यसमा कुनै आर्थिक लेनदेन नभएको बताउनुभयो।
‘विद्रोह गर्नेले परिणामको चिन्ता गर्छ ? करोडको कुरा गर्छन् ! पार्टीको आधिकारिकताको राजनीतिक–कानुनी लडाइँमा रुपैयाँ होइन, एक सुकाको पनि कुनै आर्थिक लेनदेन र अनुचित काम भएको छैन,’ उहाँले भन्नुभयो।
यस विषयमा अर्का महामन्त्री विश्वप्रकाश शर्माले पार्टी कार्यालयबाटै स्पष्ट पारिसकेको उल्लेख गर्दै थापाले कांग्रेस सबै प्रकारका निष्पक्ष छानबिनका लागि तयार रहेको दोहोर्याउनुभयो।
‘अडियो कहाँ, कसले, कहिले र किन बोल्यो वा बोलाइयो, त्यो अनुसन्धानको विषय हो। अनुसन्धान निष्पक्ष हुनुपर्छ, दूधको दूध पानीको पानी छुटिन्छ,’ उहाँले भन्नुभयो।
अडियो सार्वजनिक भएपछि डराएर विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई भेटेको भन्ने चर्चाको पनि उहाँले खण्डन गर्नुभयो।
‘म तर्सिने जिनिस नै होइन, तर्सिने बानी नै छैन,’ थापाले भन्नुभयो।







कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता
कांग्रेस उपसभापतिमा भण्डारी र आचार्य,
हराउन थाले दसैँका परम्परागत पिङ
अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न
नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप
श्रीमान् गुमाएपछि छ सन्तानको भविष्यको