काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पूर्वाधार सम्मेलनअघि कानुनी सुधारका काम सम्पन्न गर्न सरकारमाथि कामको दबाब बढेको बताउनुभएको छ । उहाँले निर्धारित लक्ष्य पूरा गर्न चाडपर्व र सार्वजनिक बिदासमेत नभनी काम गर्नुपर्ने अवस्था रहेको बताउनुभएको हो ।
बिहीबार काठमाडौंमा आयोजित इन्फ्रास्ट्रक्चर समिट, २०२६ सम्बन्धी पत्रकार सम्मेलन तथा प्रोजेक्ट शोकेसलाई सम्बोधन गर्दै मन्त्री गौतमले सरकारले हालसम्म गरेको कामभन्दा दोब्बर गतिमा काम गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।
उहाँका अनुसार सरकारले एकैपटक ५९ वटा कानूनका ४९४ वटा दफा संशोधन गर्ने तयारी गरेको छ । संशोधनका लागि तयार पारिएका मस्यौदा कानून मन्त्रालयमा पुगिसकेकाले अब तिनलाई अन्तिम रूप दिने काम मात्रै बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।
मन्त्री गौतमले कानुनी सुधारलाई सरकारको राजनीतिक प्रतिष्ठाको विषयभन्दा पनि मुलुकको आर्थिक रूपान्तरणसँग जोडिएको साझा राष्ट्रिय एजेण्डाका रूपमा लिएको स्पष्ट पार्नुभयो । लगानीमैत्री वातावरण निर्माण र पूर्वाधार विकासका लागि कानुनी सुधार, नीतिगत स्पष्टता तथा निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको उहाँको भनाइ थियो ।
उहाँले लगानी र पूर्वाधार विकाससम्बन्धी कानुनी सुधारका विषयमा राजनीतिक दलहरूबीच मतभेद हुनुपर्ने कुनै कारण नरहेको उल्लेख गर्दै संसद्का दुवै सदनबाट सकारात्मक सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
संसद्को अधिवेशन नभएको अवस्थामा सरकारले अध्यादेशमार्फत कानून ल्याउन सक्ने भए पनि त्यसलाई पछि संसद्का दुवै सदनबाट प्रतिस्थापन विधेयकका रूपमा पारित गराउनुपर्ने संवैधानिक व्यवस्था रहेको उहाँले स्पष्ट पार्नुभयो ।
मन्त्री गौतमले भन्नुभयो, ‘पूर्वाधार सम्मेलनको तयारीस्वरूप सरकारले ५९ वटा कानूनका ४९४ वटा दफा संशोधन गर्ने प्रक्रिया अघि बढाएको छ । यसअघि नै ५४ भन्दा बढी विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेका छन् । यो उपलब्धि सरकार, विभिन्न मन्त्रालय, कर्मचारीतन्त्र र निजी क्षेत्रबीचको सहकार्यको परिणाम हो । हाम्रो साझा उद्देश्य देशलाई आर्थिक समृद्धि र पूर्वाधार विकासको नयाँ दिशामा अघि बढाउनु हो ।’
उहाँले निर्धारित समयभित्र कानुनी सुधारका काम सम्पन्न गर्न सबै पक्षलाई सक्रिय सहयोग र समन्वयका लागि आग्रह गर्नुभयो ।
मन्त्री गौतमले सरकारले साउन १ गतेदेखि हालसम्म ५४ भन्दा बढी विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत गराइसकेको जानकारी दिनुभयो । कानून निर्माण तथा संशोधन प्रक्रियामा कर्मचारीतन्त्रले देखाएको सक्रियताको प्रशंसा गर्दै उहाँले कर्मचारी प्रशासनप्रति विगतमा बनाइएको नकारात्मक भाष्य अहिलेको कार्यसम्पादनले गलत साबित गरिरहेको बताउनुभयो ।
सरकारको मुख्य उद्देश्य यथास्थितिमा रहेको समाजलाई रूपान्तरणकारी समाजमा बदल्नु रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि सबै पक्षको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।







श्रीमान् गुमाएपछि छ सन्तानको भविष्यको
चलचित्र कलाकार संघको बडादशैं शुभकामना
प्रस्तावित राजदुतविरुद्ध उजुरी दिएका उजुरीकर्ता
जापानका लागि प्रस्तावित राजदूत थापाविरुद्ध
तोलामा २ हजार १ सय
प्रहरी निरीक्षकहरूलाई दबाब र प्रभावमुक्त