म्याग्दी । बाढीपहिरोले खानेपानी आपूर्ति प्रणालीमा क्षति पुर्याएपछि म्याग्दीको बेनी अस्पतालमा पानीको अभाव चर्किएको छ । पानीको अभावले अस्पतालका नियमित स्वास्थ्य सेवा प्रभावित भइरहेका छन् भने नियमित डायलाइसिस गराउनुपर्ने मिर्गौलाका बिरामी थप समस्यामा परेका छन् ।
डायलाइसिस सेवा सञ्चालनका लागि ठूलो मात्रामा शुद्ध पानी आवश्यक पर्ने भए पनि अस्पतालमा पर्याप्त पानी उपलब्ध नहुँदा उपचार व्यवस्थापनमा चुनौती थपिएको हो । अस्पतालले वैकल्पिक स्रोतबाट पानी ल्याउने प्रयास गरे पनि त्यसमा क्याल्सियमको मात्रा बढी र कठोरता उच्च देखिएपछि डायलाइसिसका लागि प्रयोग गर्न कठिन भएको छ ।
डायलाइसिसका क्रममा बिरामीको रगतमा रहेका युरिया, क्रिएटिनिनलगायतका विषाक्त पदार्थ तथा अतिरिक्त नुन र खनिज हटाउन विशेष प्रविधिबाट प्रशोधित शुद्ध पानी आवश्यक पर्छ । सामान्य पिउने पानीलाई प्रशोधन नगरी डायलाइसिसमा प्रयोग गर्न नमिल्ने चिकित्सकहरू बताउँछन् । पानीको गुणस्तरमा सामान्य त्रुटि हुँदा पनि बिरामीको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने उनीहरूको भनाइ छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बाँस्तोलाका अनुसार अस्पतालमा नियमित उपचार, पिउने पानी तथा सरसफाइका लागि दैनिक २० देखि २५ हजार लिटर पानी आवश्यक पर्छ । तर पर्याप्त आपूर्ति नहुँदा सेवा सञ्चालनमा समस्या भइरहेको छ । डायलाइसिस सेवाका लागि मात्रै दैनिक करिब १० हजार लिटर शुद्ध पानी आवश्यक पर्ने उहाँले बताउनुभयो ।
अस्पतालमा दैनिक ४० जनाभन्दा बढी बिरामीले डायलाइसिस सेवा लिँदै आएका छन् । एकपटकको डायलाइसिस प्रक्रियामा बिरामीको रगतबाट विषाक्त पदार्थ हटाउन प्रयोग गरिने विशेष घोल तयार पार्न मात्रै करिब १२० देखि १५० लिटर पानी आवश्यक पर्ने चिकित्सकहरू बताउँछन् ।
डा. बाँस्तोलाका अनुसार वैकल्पिक स्रोतबाट ल्याइएको पानी हाल सरसफाइका लागि मात्र उपयुक्त देखिएको छ । डायलाइसिसका लागि आवश्यक गुणस्तरको पानी उपलब्ध हुन नसके बिरामीको उपचारमै जोखिम उत्पन्न हुन सक्ने उहाँले बताउनुभयो ।
डायलाइसिस गराइरहेका बिरामीका आफन्त मंगला गाउँपालिका–५, ताराखोलाकी मंगला क्षेत्रीले खानेपानीको अभावले अस्पतालको सेवा प्रभावित भएको बताउनुभयो । अस्पतालको डायलाइसिस सेवा बिरामीमैत्री भए पनि पानीको अभावले उपचारमा समस्या थपिएको उहाँको भनाइ छ ।
अस्पतालमा पानी आपूर्तिको समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालयमार्फत सम्बन्धित निकायमा पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले जानकारी दिनुभयो । बिरामीको उपचारलाई पहिलो प्राथमिकतामा राखेर वैकल्पिक पानी आपूर्तिको व्यवस्था खोजिरहेको उहाँले बताउनुभयो । आवश्यक परे पर्याप्त पानी उपलब्ध गराउन नयाँ योजना थप्ने विषयमा समेत पहल गरिने उहाँको भनाइ छ ।
गत असोजमा आएको बाढीपहिरोले बेनी बजारमा खानेपानी आपूर्ति गर्ने मुहान र पाइपलाइनमा क्षति पुर्याएपछि समस्या सुरु भएको हो । बजारवासीले समेत एक महिनादेखि खानेपानीको अभाव झेल्दै आएका छन् ।
बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले अन्नपूर्ण गाउँपालिका–८ स्थित रिठाखर्क र डाँडाखर्कका मुहानबाट अस्थायी पाइपलाइनमार्फत पानी ल्याउने प्रयास गरिरहेको छ । तर बेनी बजारमा प्रतिसेकेन्ड २० लिटरभन्दा बढी पानी आवश्यक पर्ने भए पनि अहिले प्रतिसेकेन्ड आठ लिटर मात्रै आपूर्ति भइरहेको छ ।
संस्थामार्फत बेनी नगरपालिका वडा नम्बर २, ७ र ८ का करिब एक हजार २०० घरधुरीका २५ हजार जनसंख्यालाई खानेपानी वितरण हुँदै आएको छ ।
बाढीपहिरोले क्षति पुर्याएका खानेपानी संरचनाको पुनःस्थापना हुन नसक्दा बेनी बजारको जनजीवन प्रभावित भएको छ । खानेपानी अभावको असर अब सामान्य जनजीवनमा मात्र सीमित नभई अस्पतालको संवेदनशील स्वास्थ्य सेवासम्म पुगेको छ ।







तीस अर्ब रूपैयाँ निक्षेप तान्दै
राष्ट्रपति पौडेलसमक्ष थारू आयोग र
कोरिया पठाइदिने भन्दै ठगी गरेको
हावाहुरी र वर्षाका कारण प्रभावित
ऊर्जामन्त्री श्रेष्ठले भने : ‘देश
कांग्रेसमा प्रत्यक्ष सभापति निर्वाचित गर्ने